|

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्। प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पुस १४ गते सरकारले कार्य शैलीमाथि प्रश्नचिन्ह उठाउँदै ७ दिन भित्र स्पष्टिकरण दिन पत्राचार गरेको थियो। 

सोही स्पष्टिकरणको जवाफ ज्ञवालीले बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बुझाएका हुन्। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले १२ पृष्ठ लामो आफ्नो स्पष्टिकरण प्रधानमन्त्री कार्यालयका सचिव सचिव दिनेशकुमार थपलियालाई बुझाएका हुन्।

पत्र बुझाई बाहिरिने क्रममा पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले सरकारले मागे अनुसारको स्पष्टिकरण तोकिएको समय भित्रै दिइएको बताए। 'समयभित्रैमा सरकारको जिज्ञासाको जवाफ दिएको छु', ज्ञवालीले भने।

ज्ञवालीले दिएको स्पष्टिकरणमा सरकारले असहयोग गरेका कारण आफूले समयमा काम गर्न नसकेको उल्लेख गरिएको छ। जनशक्ति माग भएकोमा सामान्य प्रशासन मन्त्रालयले सहयोग नगरेको र बजेट समयमै उपलब्ध गराउन अर्थ मन्त्रालय तयार नहुँदा काममा ढिलाई हुन गएको स्पष्टिकरण पत्रमा उल्लेख छ।

सरकारले पुनर्निर्माणको कामलाई ढिलाई हुनुमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको कार्यशैलीलाई दोष दिँदै स्पष्टिकरण सोधेको थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा पनि कार्य सम्पादनमा ढिलाई हुँदै आएको स्पष्टिकरण दिँदै आएको छ।

ज्ञवालीलाई केपी ओली नेतृत्वको सरकारले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.