|

म्याग्दी : गरे के हुँदैन र? घरको छतमा लटरम्मै डल्ले खुर्सानी फलाएर विदेशमा रहेका आफन्तलाई कोशेली पठाउनुको साथै बजारमा बेचेर पैसा कमाउन भ्याइनभ्याइ छ म्याग्दीको सदरमुकाम बेनी बजारका एक दम्पतीलाई।

बेनी नगरपालिका–७ इन्द्रेणी टोलकी पूर्ण राम्जालीलले पाँचतला माथि डल्ले खुर्सानी फलाएर युरोप,अमेरिकासम्म पुर्‍याएकी छन्। बजारमा डल्ले खुर्सानीको मूल्य आकासिएको अवस्थामा घरमा आउने आफन्त र छिमेकीलाई उनले डल्ले खुर्सानी कोशेली दिएर पठाउँछिन्। छतमा करिव ४१ वटा बोटबाट खुर्सानी टिपेकी राम्जालीले अमेरिका, हङकङ र यूकेमा रहेका परिवारका सदस्यलाई पठाउन बट्टामा समेत प्याक गरेकी छन्।

 विगत डेढदशकदेखि नियमित कौसीखेती गदैं आएकी उनलाई श्रीमानले समेत नियमित सघाउने गर्दछन्। करिव ९ फिटको छतमा फूलसँगै हावापानीले अनुसार उत्पादन हुने फर्सी, लौका, लसुन, धनियाँ, भिन्डी, बोडी, गोलभेंडा लगाएत विभिन्न थरीका तरकारी अटाएका छन्।

खुर्सानीसँगै विभिन्न प्रजातिका तरकारी खेतीको लहराले घर नै आर्कषक देखिएको छ। म्याग्दीको सदरमुकाम बेनी बजारको इन्द्रणी टोलका प्रत्येक घरका छतमा घिरौला,टमाटर,साग,धनियाँ,लौका र खुर्सानी लटरम्मै फलेका छन्।

बढ्दो घर निर्माणसंगै बेनी बजारमा करेसावारीका लागि समेत जमिन नभएपछि स्थानीयले घरको छतमा तरकारी खेती गर्न थालेका हुन्।

‘कौसीखेतीले ब्यस्त बनाएको छ,‘घरमा आवश्यक तरकारी किन्न पदैन्’ राम्जालीले भनिन्। उनले सिजन अनुसारका तरकारी खेती गरेर बढि भएको तरकारी बजारमा बेच्ने समेत गरेको बताइन्। गमला तथा थौलोमा माटो र मल तथा नियमित पानीको प्रयोगले खेतबारीमा जस्तै राम्रो फल दिने उनको भनाइ छ।

पछिल्लो समय बजारमा डल्ले खुर्सानीप्रति केजी ४ सय रुपैयाँसम्ममा विक्री हुन थालेपछि पहिलोपटक कोशेली घरमा समेत विक्री गरेको राजु राम्जालीले बताए। उनका अनुसार ज्यानमारा, रागे र अकबरे खुर्सानीमध्ये डल्लेको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधिसमेत हुने भएकाले यसको खेती गरेका हुन्। ‘कौसी खेती अर्गानिक पनि हो,‘आफ्नै घरमा फलेको तरकारी स्वादिलो पनि हुन्छ’ उनले भने।

श्रीमतीसँग दैनिक नियमित तरकारीको रेखदेख, पाउनलाई कोशेलीको रुपमा उपहार सहित होटलमा माग हुने कोरियन लगाएत विभिन्न तरकारी घरबाटै विक्री गर्ने गरेको उनल बताए। आगामी बर्षदेखि होटलमा विक्री गर्ने उनकोे योजना रहेको छ।

जिल्लाको मंगला गाउँपालिका–१ कुहुँ घर भएका राम्जाली दम्पत्तीले गाउँबाट कम्पोष्ट मल ल्याएर प्रयोग गर्ने गरेका छन्। राम्जालीको सिको गदैं इन्द्रेणी टोलका अधिंकास घरमा कौसी बगैंचा छन्।कौसी बगैंचालाई बेनी नगरपालिका वडा नं ७ ले समेत अनुदान दिने गरेको छ।

ब्यक्तिगत रुपमै समान्य लगानीमा सानो–ठूलो परिवारलाई पुग्ने तरकारी फलाउन सकिने भएकाले पनि कौसी खेतीलाई प्रोत्साहन गरिएको वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए।‘कौसीखेतीले विषाधीयुक्त तरकारीलाई निरुत्साहित गर्छ,‘कौसीखेतीबाटै तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ’ श्रेष्ठले भने।

उनले चालु आवमा डेढ लाख बजेट रहेकाले गमला वितरण तथा निःशुल्क तालिम र प्राविधिक सहयोग दिने योजना रहेको जानकारी दिए। कौसी खेतीमार्फत घरको फोहोर घरमै ब्यवस्थापन गर्न सकिने  र तराईबाट आउने विषादीयुक्त तरकारी खेती प्रयोग गर्न नपर्ने भएकाले पनि सम्भव भएसम्म घरको छत,कौसी र बरण्डालाई करेसाबारीको रूपमा उपयोग गर्न सकिने अध्यक्ष श्रेष्ठको भनाई छ।

 बेनीमा कौसी खेती गरिएपनि प्रविधिको ज्ञान नहुदाँ समस्या भइरहेको बजारबासीको भनाई छ। बेनीमा बर्षेनी कराडौंको तरकारी आयात हुन्छ। कृषि ज्ञान केन्द्रका अनुसार प्लाष्ट्रिकको गमलामा समेत खेती गर्न सकिन्छ। करिब ५ हजारको लगानीले पाँचबर्षसम्म नियमित तरकारी खेती गर्न सकिन्छ।

गमला सहित केही आवश्यक सामानको खरिद गरी घरमै नर्सरीको स्थापना गरेमा लामो समयसम्म प्रयोग गर्न सकिने कृषिका जानकारहरू बताउँछन्। हरेक किसिमका तरकारीको पसलै पिच्छे फरक–फरक मुल्यले हैरान बजारबासीको कौसी खेतीमा आर्कषण बढेको छ।

अहिले बेनी बजारका अधिकाँश घरको छतमा गरिएको तरकारी खेतीले बजारमा आयातित तरकारीको माग समेत कम भएको स्थानीय तरकारी व्यावसायीहरुले बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.