काठमाडौं : जोर्डनमा आगामी सेप्टेम्बर १४ बाट आयोजना हुने एएफसी यु–१६ क्वालिफायरमामा सहभागी हुने खेलाडी र अफिसियललाई बुधबार विदाइ गरिएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) २३ खेलाडीसहित ३१ सदस्सीय नेपाली टोलीको विदाइ गरेको हो।
नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत एन्फा पदाधिकारीले विदाइ गरे। मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले गतसाता सम्पन्न यु–१५ साफ टिमका कप्तानसहित अन्य २ खेलाडीलाई टिम बाहिर राख्दै २३ सदस्य घोषणा गरेका थिए।
फरवार्ड तथा कप्तान प्रदीप लम्साल, गोलरक्षक इश्वर गुरुङ र मिडफिल्डर असिम राईलाई टिममा राखिएको छैन्। उनीहरूको स्थानमा मुख्य प्रशिक्षक श्रेष्ठले दीपेश राई, गोलरक्षक फतुहाङ नेम्वाङ र क्रिस्टल शाक्यलाई अवसर दिएका छन्।
प्रतियोगितामा नेपालको समूहमा आयोजक जोर्डनसहित कुवेत, ताजिकिस्तान र श्रीलंका रहेका छन्। सेप्टेम्बर १४ मा आयोजक टोलीविरुद्ध प्रतिस्पर्धा गर्दै नेपालले सुरुवात गर्नेछ। त्यसैगरी सेप्टेम्बर १६ मा कुवेत, सेप्टेम्बर २० मा ताजिकिस्तान र सेप्टेम्बर २२ मा श्रीलंकाको सामना गर्नेछ।
यस्तो हुनेछ समीकरण
एएफसीका ४८ देशले प्रतियोगितामा सहभागीता जनाएका छन्। उनीहरुलाई ११ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको खेल अलगअलग देशमा हुनेछ। प्रत्येक समूहका खेल राउन्ड रोविनको आधारमा खेलाइने छ। अर्थात् आफ्नो समूहमा रहेका सबै टिमले एक अर्काविरुद्ध खेल्नुपर्ने छ।
११ वटै समूहको शीर्ष स्थानमा रहने टोली र ४ उत्कृष्ट उपविजेता टिमले फाइनल प्रतिस्पर्धामा स्थान बनाउने छन्। यदि आयोजक टोली समूह विजेता वा उत्कृष्ट ४ मा परेको खण्डमा पाँचौ उत्कृष्ट उपविजेता टोली अन्तिम प्रतिस्पर्धाका लागि योग्य हुनेछ।
११ वटै समूहको खेल सेप्टेम्बर १४ देखि २२ सम्ममा सम्पन्न हुनेछ। प्रत्येक समूहका विजेता, ४ उत्कृष्ट उपविजेता र प्रतियोगिता आयोजक टोली गरी १६ टिमले सन २०२० को एएफसी यु–१६ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन्।
यस्तो थियो नेपालको पछिल्लो सहभागीता
नेपालले पछिल्लो पटक सन् २०१८ मा समूह 'डी'को आयोजकको हैसियतले प्रतिस्पर्धा गरेको थियो। चिरप्रतिद्वन्दी भारतसहित इराक र प्यालेस्टाइनसँग प्रतिस्पर्धा गरेको नेपाल १ बराबरी मात्र निकाल्दै समूहको अन्तिम स्थानमा रहयो। सन् २०१४ मा भने नेपाल समूह 'सी' को विजेताको हैसियतले एएफसी यु–१६ च्याम्पियनसिप खेलेको थियो।
छनोटमा बहराइन, इराक र तुर्केमिनिस्तानलाई पछि पार्दै नेपालले प्रतियोगितामा सहभागीता जनाउने अवसर पाएको हो। अन्तिम प्रतिस्पर्धामा १ जित, १ बराबरी र १ हारसहित कुवेतलाई पछि पार्दै समूहको तेश्रो स्थान रहँदै नकाउट चरण पुग्ने अवसर गुमाएको थियो।
नेपाली टोली :
गोलरक्षक : मनोज दाहाल, जिनियस केसी, फतुहाङ नेम्वाङ
डिफेन्डर : अजय चौधरी, अविशेक वाइवा, जान लिम्बु, रोशन थापा, प्रज्ञान महर्जन, प्रमिश गुरुङ र अमिर हमिद
मिडफिल्डर : नितेश श्रेष्ठ, क्रिस्टल शाक्य, जन्मजय धामी, विपिन तुम्सिङ मगर, मोहित गुरुङ, निराजन मल्ल, अनिल चौलागाई र निराजन खत्री
फरवार्ड : शसांक बोहरा, सुगम जिम्मी, कृष्ण अधिकारी यादव, क्रिश सापकोटा र दिपेश राई
तस्विर : जोर्डनमा सहभागी हुने खेलाडी र अफिसियल/एन्फा
तपाईंको ईमेल गोप्य राखिनेछ ।