|

काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको परराष्ट्र सम्बन्ध फराकिलो बन्दै गएको भन्दै मित्र राष्ट्रहरूसँगको व्यावसायिक साझेदारीलाई प्राथमिकतामा राखिएको बताएका छन्।

नेपाल र बेलारुसबीच दौत्य सम्बन्ध स्थापनाको २५ वर्ष तथा नवनियुक्त बेलारुसी राजदूत एन्द्रेई रेयुस्कीको स्वागतमा बुधबार नेपालका लागि बेलारुसका वाणिज्यदूत अजेयराज सुमार्गीद्वारा राजधानीमा आयोजित कार्यक्रममा ज्ञवालीले यस्तो बताएका हुन्।

मन्त्री ज्ञवालीले भूपरिवेष्ठित राष्ट्र बेलारुसले छोटो समयमा गरेको आर्थिक प्रगति नेपालका लागि अनुकरणीय भएको बताए। ‘नेपाल बेलारुससँग सिक्न चाहन्छ, हातेमालो गर्न चाहन्छ,’ उनले भने, ‘म राजदूत रेयुस्कीमार्फत बेलारुसी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न अनुरोध गर्दछु।’

‘नेपाल लगानीका लागि भर्जिन–ल्याण्ड हो’, ज्ञवालीले थपे, ‘तपाईंहरूले माइनिङ र कृषिका क्षेत्रमा हासिल गर्नुभएको उपलब्धि नेपालमा पनि लागू गर्न सकिन्छ।’ उनले विनाशकारी भूकम्पको समयमा बेलारुसले गरेको सहयोगका लागि कृतज्ञता ज्ञापन गरे।

बुधबार मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका बेलारुसी राजदूत रेयुस्कीले नेपाल बेलारुसको  प्राथमिकताको क्षेत्रमा पर्ने बताए। उनले पारस्परिक हितका विषयमा साझेदारी गर्न आफू पनि उत्तिकै इच्छुक रहेको बताए। ‘हाम्रो आपसी सम्बन्ध अझ विस्तार हुनेवाला छ,’ उनले भने, ‘व्यापार, शिक्षा, प्रविधि र सांस्कृतिक आदानप्रदानलाई हामीले प्राथमिकतामा राखेका छौँ।’

कार्यक्रममा व्यवसायी तथा वाणिज्यदूत सुमार्गीले दक्ष जनशक्ति उत्पादनमा बेलारुसी सहयोगको अपेक्षा गरिएको बताए। ‘विकाश र समृद्धि नेपालको मूल एजेण्डा हो,’ उनले भने, ‘नेपालको प्राकृतिक स्रोत र सम्पदाको उपयोग गर्न हामीलाई प्राविधिक जनशक्तिको खाँचो छ। उक्त क्षेत्रमा निकै प्रगति हासिल गरेको बेलारुसबाट हामी प्राविधिक सीप हस्तान्तरणको अपेक्षा गर्दछौँ।’

खानी, जलविद्युत, र वनविज्ञान आदिको दोहनबाट लाभ हासिल गर्न सकिए मात्रै नेपालले दिगो र द्रुतत्तर प्रगति हासिल गर्ने उनको भनाइ थियो। उनले नेपाललाई प्राथमिकतामा राख्ने राजदूत रेयुस्कीको प्रतिबद्धताको सराहाना गरे। ‘महामहिम रेयुस्कीको कार्यकालमा दुई देशको आपसी सम्बन्ध नयाँ उचाइमा पुग्ने मैले विश्वास लिएको छु,’ उनले भने।

कार्यक्रममा उच्च सरकारी पदाधिकारी, सांसद, कूटनीतिज्ञलगायतकाको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.