|

ताप्लेजुङ : हिमाली जिल्ला ताप्लेजुङमा अलैँचीपछि उच्च आम्दानी दिने अर्को नगदेबाली हो आलु।  अलैंचीपछि आलुले आम्दानीको मोटो हिस्सा ओगटेको छ। जिल्लाका ९० प्रतिशत कृषकले हिमालदेखि औलसम्म आलुखेती गर्छन्।

सरकारी निकायको तथ्यांकलाई मान्ने हो भने वार्षिक अढाइ अर्बको आलु उत्पादन हुन्छ। तर, जिल्लाको उत्पादन जिल्लाका लागि पर्याप्त छैन्। कृषि ज्ञान केन्द्र ताप्लेजुङका अनुसार गत आर्थिक वर्ष ४२ हजार मेट्रिक टन आलु उत्पादन भयो। यहाँको आलु ४० देखि सय रुपैयाँ प्रतिकिलोमा बिक्री हुन्छ। यति धेरै मात्रमा उत्पादन हुँदा पनि  स्थानीयले बाहिरी जिल्लाबाट आलु खरिद गर्नुपर्ने अवस्था छ।

जिल्लामा कति आलु आयात गरिन्छ र माग कति हो भन्ने तथ्यांक कसैसँग छैन। व्यवसायीहरूका अनुसार स्थानीय आलुले पाँच प्रतिशत पनि माग धान्दैन। ‘अहिले लोकल आलुको सिजन हो र पनि हप्तामा ४० क्विन्टलभन्दा बढी बाहिरबाट ल्याउनुपर्ने अवस्था छ,’ एक व्यापारीले भने, ‘स्थानीय आलु अबको एक महिनामा सकिने हुँदा त्यसपछि दोब्बर आयात गर्नुपर्छ।’ 

स्थानीय आलुको मूल्य प्रतिकिलो ७० देखि ८० र आयातीत आलुको ४० देखि ४५ रुपैयाँ छ। आलुमा आत्मनिर्भर बनाउन तत्कालीन कृषि विकास कार्यालयले विसं २०७१ बाटै विभिन्न कार्यक्रम सञ्चालन गर्‍यो।

परम्परागत खेती प्रणालीबाट मुक्त गराई आधुनिक खेतीमा लगाउन भन्दै पकेट तथा ब्लक क्षेत्र बनाएर विभिन्न अनुदान दिने, बिउ आलु भण्डारण केन्द्र निर्माण, तालिम भ्रमण जस्ता कार्यक्रममा लाखौं खर्च गरियो। स्थानीय सरकार गठन भएपनि पनि कृषिमा पर्याप्त कार्यक्रम हुने गरेको छ। तर, आयात भने वर्सेनि बढ्दो छ।

आलुको उत्पादनमा सरकारले लगानी गरेको लामो समय भइसक्दा उत्पादन भने घट्दो क्रममा छ। तत्कालीन जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७१/७२ मा ३ हजार ९ सय हेक्टरमा गरिएको खेतीबाट ४८ हजार ३ सय ४५ मेट्रिकटन आलु उत्पादन भएको थियो।

गत आवमा चार हजार हेक्टरमा ४२ हजार ३० मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ। असिना पानी, हुरी बतास, रोगकिराको प्रकोपले आलु उत्पादन घटेको फुङलिङ नगरपालिका–९ का कृषक निमा शेर्पा बताउछन्। जिल्लामा बर्षे र हिउँदे गरी दुई पटक आलु उत्पादन हुने गरेको छ।

बुङकुलुङकै कृषक पाशाङरिता शेर्पाका अनुसार हिउँदे कम र बर्षे बढी उत्पादन हुन्छ। सरकारले आफ्नो गाउँलाई ब्लक बनाएकाले उत्पादन बढ्नेमा उनको विश्वास छ। चार हजार मिटरभन्दा माथि उचाईको फक्ताङलुङ गाउँपालिका–७ याङमा देखि ३१ सय मिटर उचाईमा रहेको सोही गाउँपालिकामा पर्ने घुन्साको मुख्य बाली आलु हो।

योबाहेक मिक्वाखोला गाउँपालिकाको पापुङ, साँवा, मेरिङ्देनको नाल्वु, सिरिजंघाको याम्फुदिन, फुङलिङ नगरपालिकाको बुङकुलुङ, उकालीपानी र चारपाटे बढी आलु उत्पादन हुने गाउँ हुन्।

हिमाली क्षेत्रको मुख्य खान्की नै आलु भएकाले माग धेरै रहेको नगरपालिकाका कृषि प्राविधिक दीपक भण्डारी बताउँछन्। ‘लेकाली भेगको बेलुकाको खाना  र खाजा आलु हुन्छ’, उनले भने, 'त्यसबाहेक कञ्चनजंघा र पाथीभरा आउने पर्यटकको संख्या पनि बढ्दो भएकाले यहाँको उत्पादनले नधानेको हो।’

जिल्लाको जनसंख्या १ लाख २७ हजार छ भने कञ्चनजंघा, पाथीभरा लगायत पर्यटकिय स्थल घुम्न वार्षिक चार लाख हाराहारी मानिस आउने गरेका छन्। प्रदेश १ सरकारले फुङलिङ नगरपालिकाको बुङकुलुङमा २ हजार रोपानीलाई समेटेर आलु ब्लक समिति बनाई उत्पादन बढाउन गत वर्ष २५ लाख लगानी गर्‍यो। यस वर्ष अरू ठाउँलाई पनि ब्लक बनाएर कार्यक्रम गरिने कृषि ज्ञान केन्द्रका प्राविधिक नरहरी निरौलाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.