|

काठमाडाैं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकै सांसदले डेंगु संक्रमण नियन्त्रणमा सरकार संवेदनशील नबनेको आरोप लगाएका छन्। डेंगु नियन्त्रणमा सरकारले तदारुकता नपनाएको भन्दै उनीहरूले सरकार र मन्त्री उपेन्द्र यादवको चर्को आलोचना गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले डेंगु संक्रमणको भयबाट जनता आतंकित बन्दा पनि सरकार गम्भीर नबेनेको भन्दै यसबारे सत्यतथ्य सदनलाई जानकारी गराउन स्वास्थ्यमन्त्रीलाई रुलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए।

प्रतिनिधिसभाका बैठकको शून्य र विशेष समयमा डेंगु संक्रमण नियन्त्रणका बारेमा आफूहरूले उठाउदै आएको आवाजको सुनुवाई नभएको भन्दै आक्रोशित बनेका सांसद श्रेष्ठले रुलिङ नभए आफूले विरोध जनाइरहने भन्दै सभामुखलाई रुलिङका लागि दबाब दिए।

श्रेष्ठले भने, 'डेंगु डेंगु भनेर कराउँदा कराउँदै थाकिसक्यौँ। सभामुख महोदय, डेंगुको बारेमा यो सरकार बोल्दैन। अमेरिकाको सरकारले बोल्दियो। अमेरिकनहरू नेपालम डेंगु आतंक छ नजानू। भएका अमेरिकन नागरिकहरू नेपालमा सचेत रहनू।  यो भन्दा लाजमर्दो कुरा के हुन्छ सभामुख महोदय त्यसकारण सभामुख महोदय मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।'

'मन्त्री डेंगुको पीडित, आँखा विशेषज्ञ सन्दुक रोहित डेंगुको पीडित, अब हामीमध्ये कति जना सांसदलाई डेंगु भएपछि सरकारको ध्यान जाने हो सभामुख महोदय? अबिलम्ब स्वास्थ्यमन्त्रीलाई रुलिङ गरियोस्', उनको माग थियो।

'अहिले नै स्वास्थ्यमन्त्री यहाँ आएर यसको बारेमा सरकारको आधिकारीक धारणा के हो? डेंगु के हो र कसरी लाग्छ? उपचार कसरी गर्ने हो?  बच्ने उपाय के हो? मरेकालाई के गर्ने? सरकारको आधिकारिक धारणा ल्याइयोस्। होइन भने मेरो विरोध रहने छ। सभामुख महोदय, रुलिङ चाहन्छु' उनले थपे। नेकपाकै अर्का सांसद खगराज अधिकारीले पनि डेंगु प्रकोप हो या महामारी भन्ने स्पष्ट पार्न सरकारसँग माग गरे।

डेंगुको संक्रमण बढ्दै जाँदा पनि सरकार, स्वास्थ्य मन्त्रालय, इमिडियोमियोलोजी महाशाखा लगायत सम्बन्धित निकाय गम्भीर बन्न नसकेको भन्दै उनले तत्काल सर्वसाधारणमा फैलिएको डेंगु सक्रमणको भय समाप्त गर्न सरकारको ध्यानाकर्षण गराए। उनले भने, 'महामारी हो भने सम्पूर्ण साधन स्रोतको परिचालन गरी ‘हेल्थ इमरजेन्सी ’घोषणा गरी महामारीलाई समाप्त पार्नुपर्‍यो। प्रकोप हो भने इपिडियोमियोलोजी महाशाखा के हेरेर बसेको छ? के सुतेर बसेको छ? स्वास्थ्य मन्त्रालय के हेरेर बसेको छ?  जनतामा यो आतंक, भय तुरुन्त समाप्त पार्ने काम गरियोस्।'

नेपाली कांग्रेसकी सांसद उमा रेग्मीले डेंगुको प्रकोपले महामारीको रुप लिइसक्दा पनि सरकारले समस्या समाधानका लागि ठोस पहल नगरेबाट सरकार जनताको स्वास्थ्यप्रति गम्भीर नभएको आरोप लगाए।

सांसदले सदनलाई डेंगुको यथार्थ विवरण जानकारी गराउन सरकारलाई रुलिङ गर्न सभामुखको ध्यानाकषर्ण गराएपछि सभामुख कृष्णबहादुर महराले सरकार र स्वास्थ्य मन्त्रालयलाई रुलिङ गरे।

सभामुख महराले भने, 'केही दिन यताको नियमति बैठकमा र विशेष गरेर आजको बैठकमा डेंगुको महामारी सम्बन्धमा माननीय सदस्यहरुको कुरा उठेको छ। यस सम्बन्धमा म सरकार र स्वास्थ्यमन्त्रीलाई विशेष ध्यानाकर्षण गराउँछु। साथै यस विषयमा सदनलाई यथासीघ्र जानकारी गराउन निर्देशन गर्दछु।'

केही दिनदेखि संघीय संसदका दुवै सदनको बैठकको विशेष र शुन्य समयमा डेंगु संक्रमण नियन्त्रणका लागि प्रभावकारी कदम चाल्नका लागि सरकारको ध्यानाकर्षण गराउदै यथार्थ विवरण सदनलाई जानकारी गराउन माग गर्दै आएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.