अर्थ

सहकारी अभियानले परनिर्भर महिलालाई आत्मनिर्भर बनायो : मन्त्री अर्याल
SHARES

भदौ २६, २०७६

    काभ्रे : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‍माकुमारी अर्यालले सहकारी अभियानले महिलालाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताएकी छन्। जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोस) काभ्रेपलान्चोकको ५२ औं स्थापना दिवस तथा ३८ औं वार्षिक साधारणसभालाई बिहीबार बनेपामा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन्।

    मन्त्री अर्यालले सहकारीले गाउँगाउँमा महिलालाई संगठित गर्दै उनीहरूको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै सहकारी अभियानको प्रसंशा गरिन्। 'सहकारी अभियानले गाउँगाउँमा जागरण ल्याउन ठूलो योगदान दिएको छ। अझ महिलालाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको छ', मन्त्री अर्यालले भनिन, 'हिजो परनिर्भर बनेका महिला आज सहकारीका माध्यमबाट सामाजिक र आर्थिक विकास गर्दै उद्यमी बनेका छन्।'

    अबको १० वर्षमा सहकारी क्षेत्रले महत्वपूर्ण फड्को मार्ने मन्त्री अर्यालले दाबी गरिन्। राज्यले संविधानमा नै आर्थिक विकासको तीनखम्बे अर्थनीतिमा सहकारीलाई उल्लेख गरेको भन्दै सहकारी क्षेत्रमार्फत सुखी नेपाली र समृद्ध नेपालको सपना साकार पार्न योगदान दिनुपर्ने मन्त्री अर्यालले बताइन।

    सहकारी क्षेत्रहरू अब उत्पादनमा लाग्नुपर्ने भन्दै उनले बढीभन्दा बढी सहकारीलाई व्यासायिक बनाउने, उत्पादनमा लगाउनेतर्फ लाग्न जोड दिइन्। अब सरकार र सहकारी फरकफरक ढंगले जान नसक्ने भन्दै सबै मिलेर एकैपटक अगाडि बढ्नुपर्ने बताइन। मन्त्री अर्यालले भनिन्, 'समृद्ध नेपाल सुखी नेपाली बनाउने सरकारको लक्ष्य पूरा गर्न सहकारी क्षेत्रको महत्त्वपूर्ण योगदान दिनुपर्छ।'

    उत्पादनमा जोडिनुस भन्दा उत्पादित वस्तु बिक्रीवितरणका निम्ति बजार खोइ? भन्ने प्रश्न आएको भन्दै मन्त्री अर्यालले त्यसैले मन्त्रालयले सहकारी बजार विकास कार्यक्रम (सिएमडिपी) कार्यक्रम लागू गरेको बताइन। अहिले काभ्रेसहित काठमाडौं आसपासका ६ जिल्लामा यो कार्यक्रम लागू भएको भन्दै अब गण्डकी प्रदेशमा विस्तार गर्ने योजनामा रहेको र त्यसैगरी देशैभरी सहकारी बजार विकास कार्यक्रम विस्तार गरिने बताइन। 'सहकारीको बजारीकरण मौलिक ढंगले अगाडि बढिरहेको छ। यसलाई मुलुकभर विस्तार गरेर कृषकको गुनासोलाई समेट्छौँ', उनले भनिन्।

    बचत तथा ऋणसम्बन्धी काम गर्ने सहकारी संस्थाहरू अत्यधिक भएका कारण मन्त्रालयले मर्जर अभियान सञ्चालन गरेको भन्दै उनले अब कृषिमा आधारित सहकारी संस्थामार्फत गाउँगाउँमा कृषि खेती वृद्धि गरिने बताइन।

    मन्त्री अर्यालले सहकारीमार्फत ठूला उद्यम, फार्म खोल्नका निम्ति जग्गाको हदबन्दी बाधक भएको समस्यालाई समाधान गर्न भूमि ऐन संशोसन कार्य अगाडि बढाइएको बताइन्। उनले भनिन्, 'उद्यमी बन्ने, ठूला फार्म खोल्नका निम्ति जग्गाको हदबन्दी नलाग्ने गरी हामी भूमि ऐन संशोधन गर्दैछौँ। यसले सहकारी संस्थामार्फत ठूला उत्पादनजन्य काम गर्न सहज हुनेछ।'

    काभ्रे जिल्ला सहकारीमार्फत कृषि कार्य गर्ने नमुना जिल्लाको रूपमा स्थापित हुन सफल भएको भन्दै उनले बाँकी काममा पनि नमुना बनाउन लाग्न आग्रह गरिन।

    आर्थिक हिसाबले, समृद्धि, रोजगारीको हिसाबले सम्भावना बोकेको जिल्ला काभ्रेलाई काठमाडौंको स्याटेलाइट सिटीको रुपमा विकास गर्नुपर्ने अवस्था आएको मन्त्री अर्यालले बताइन।

    आफू सेवा प्रवाहसँग पनि जोडिएको भन्दै मन्त्री अर्यालले जमिनलाई छियाछिया पारेर पैसा कमाउने कार्यको अन्त्य गर्न खोजेको बताइन। 'धर्ती आमालाई छियाछिया पारेर पैसा कमाउने कुरा राम्रो होइन। त्यसलाई व्यवस्थापन गरेर फरक ढंगले प्रयोग गरेर उत्पादनमा लगाउने हो। यसैलाई व्यवस्थापन गर्न अहिले भूमि ऐन ल्याएका छौ', मन्त्री अर्यालले भनिन।

    अधिकतम आफ्नो भूमि आफैँले प्रयोग गर्नेगरी अगाडि बढेको भन्दै अब विदेसिएका युवा नेपाल फर्काएर विदेशका युवा नेपाल ल्याउने अभियान सरकारको रहेको बताइन। जग्गाको मालिकले कमाउन नसकेको जमिन सरकारले स्थापना गरेको भूमि बैंकमा राख्‍ने र त्यसलाई सरकारले विभिन्न उत्पादनजन्य कार्यमा लगाउने गरी भूमि बैंकको कन्सेप्ट अगाडि बढाउको मन्त्री अर्यालको भनाइ थियो। उनले भनिन, 'सबै पालिकामा भूमि बैंक बनाउने योजनाअनुसार भू-उपयोग ऐन अगाडि बढाएका छौँ।'

    कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारी अभियान समृद्धिको अभियान भएको भन्दै यसलाई सबैले अझ राम्रो बनाउन लाग्नुपर्ने बताए।

    पत्रकारसहित विभिन्न व्यक्तित्व सम्मानित

    यसैबीच त्यस अवसरमा कारोबार दैनिकमा कार्यरत सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष यादव हुमागाईंलाई सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो भने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानित गरिएको थियो। त्यस अवसरमा संघको मुखपत्र 'जुइनो' को विमोचन गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]