|
फोटो : जयश्री धौलागिरीका संचालक शम्भुशरणप्रसाद कलवार र उदयपुर डिष्टिलरीका संचालक ओमप्रकाश कलवार

पर्सा : कर छलीको अभियोगमा ३१ करोड ६५ लाख ९ हजार १३२ रुपैया धरौटी बुझाउन नसकी पर्साका दुई उद्योगी थुनामा गएका छन्। उदयपुर डिष्टिलरी प्रालि र जयश्री धौलागिरी डिष्टिलरी प्रालिका संचालक दुई उद्योगी सो रकम बराबरको धरौटी बुझाउन नसकी बिहीबार थुनामा बस्न वीरगन्ज कारागार पुगेका हुन्।

एकै परिवारका दाजुभाइले पर्साको रामगढवामा संचालन गरेको उदयपुर डिष्टिलरी र पर्साकै पोखरिया नगरपालिका ३ बसन्तपुरमा संचालित जयश्री धौलागिरी डिष्टिलरी प्रालिले आन्तरिक राजश्व कार्यालय पर्साबाट लिएको अन्तशुल्क स्टिकर हिनामिना गरेको अभियोगमा धरौटी माग गरिएको थियो। तर, राज्यलाई ठगी गरी धरौटी रकम बुझाउन नसकेपछि दुवै उद्योगका संचालकलाई थुनामा पठाइएको आन्तरिक राजश्व कार्यालय पर्साका प्रमुख गोपीकृष्ण कोइरालाले थाहाखबरलाई बताए। 

'मदिरा उत्पादक दुवै कम्पनीले आन्तरिक राजश्व कार्यालय पर्साबाट खरिद गरी लगेका ४४ लाख १५ हजार ३५७ थान अन्तशुल्क स्टिकर हिनामिना गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ' उनले भने।

पाँच वर्षबाट राजश्व ठगी

दुवै उद्योगका संचालक शम्भुशरणप्रसाद कलवार र ओमप्रकाश कलवारले आर्थिक वर्ष २०७१⁄०७२ देखि २०७५⁄०७६ सम्म अन्तशुल्क स्टिकर हिनामिना गरी राज्यलाई कर छली गरेको अनुसन्धानमा देखिएको आन्तरिक राजश्व कार्यालय पर्साले जनाएको छ। एकाघरका दाजुभाइसमेत रहेका कलवारहरूमध्ये ओमप्रकाश कलवार (भाइ) को नाममा रहेको उदयपुर डिष्टिलरीले ०७१⁄०७२ देखि ०७५⁄०७६ सम्ममा ३६ लाख ६९ हजार ७४२ थान अन्तशुल्क स्टिकर हिनामिना गरी राज्यलाई ठगी गरेको छ।

त्यसैगरी जयश्री धौलागिरी डिष्टिलरीले ७ लाख ४५ ६१५ थान अन्तशुल्क स्टिकर हिनामिना गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको आन्तरिक राजश्व कार्यालय पर्साले जनाएको छ।

दुवै उद्योगका संचालकमध्ये ओमप्रकाश कलवारको नाममा रहेको उदयपुर डिष्टिलरीसँग २६ करोड १६ लाख ७९ हजार ८४७ र शम्भु शरणको नाममा रहेको जयश्री धौलागिरीसँग ५ करोड ४८ लाख २९ हजार २८५ रुपैया गरी कुल ३१ करोड ६५ लाख ९ हजार १३२ रुपैयाँ कर छलीको अभियोगमा धरौटी माग भएको हो।

दुवै डिष्टिलरीका उद्योगी कलवार दाजुभाइले सो धरौटी बुझाउन नसकेपछि आन्तरिक राजश्व कार्यालय पर्सा, वीरगन्जको निर्णयानुसार बिहीबारको थुनामा पठाइएको राजश्व कार्यालय पर्साका कर अधिकृत तथा यो मुद्दाका अनुसन्धान अधिकृत उदय केसीले बताए।

'डिष्टिलरीले कति राजश्व छली गरेको छ? भन्ने थप अनुसन्धान भइरहेको छ। दुवै डिष्टिलरीका कर्मचारीलाई बोलाएर बयान लिने काम भइरहेको छ। मुद्दा अहिले नै किनारा लागिसकेको होइन' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.