|

 काठमाडाैं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले समयको गतिलाई समाप्त सके मात्र समृद्धिको सपना साकार हुने बताए।

मन्त्री यादवले नजानेको विषय लुकाउने गर्दा समस्यामा आउने गरेको भन्दै अन्य देशमा भएका राम्रा अनुभवबाट सिक्नुपर्नेमा जोड दिए। दुई दिने सम्मेलनको समापन समारोहमा बोल्दै मन्त्री यादवले विकासका लागि स्रोत साधन, प्रविधि र शिप आवश्यक रहने बताए। उनले निजी लगानीविना समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य प्राप्त नहुने बताए।

सरकारले लगानी सुरक्षाको प्रत्याभूति गर्ने वताउदै उनले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गराए। ‘नीति नियम सुधार गर्न सरकार तयार छ, ढुक्क भएर लगानी गर्नु भए हुन्छ’ उनले भने। 

नेपाललाई मजदुरको देश भन्दा चित्त दुखेको प्रसंग उल्लेख गर्दै विकासको आकांक्षा पूरा गर्न सहकार्यमा जोड दिए। आन्तरिक उत्पादनमा ध्यान नपुग्दा बाहिर माग भए पनि पुर्‍याउन नसकिएको उनको भनाइ थियो। विकासका एजेण्डमा सरकार र निजी क्षेत्रको एउटै आवाज हुनुपर्नेमा उनले जोड दिए।

‘नेपालमा लगानी गर्न सहज वातावरण सरकारले बनाउँछ। लगानीको लागि सबै क्षेत्र खाली छ। आउनुहोस् लगानी गर्नुस्’ उनले लगानीकर्तालाई आग्रह गरे। नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस कुमार मोरले दिगो पूर्वाधार विकास अहिलको आवश्कता रहेकोमा जोड दिए। उनले सम्मेलनमा प्राप्त भएका प्रतिबद्धता कार्यान्वयन हुनेमा आशावादी भएको बताए। 

‘संक्रमणको अन्त्य गर्न पूर्वाधारको विकास र दृढ इच्छाशक्ति महत्वपूर्ण हुन्छ’ उनले भने। सरकार स्वयं पूर्वाधार सम्मेलनमा सहभागी हुने सरकात्मक भएको भन्दै निजी लगानी परिचालन भए आर्थिक क्रान्ति सफल हुने बताए। 

सम्मेलनको नलेज पार्टनरको रुपमा रहेको केपीएमजीका उप प्रमुख कार्यकारी अधिकृत अखिल बंसलले छोटो समयमा नेपालले लिएको स्तरोन्नतिको लक्ष्य प्राप्त गर्न सहज नभए पनि त्यसतर्फको यात्रा प्रारम्भ हुनु सह्रानीय कार्य भएको बताए। 

ऊर्जा र पर्यटन क्षेत्रबाट सबैभन्दा सजिलै छिटो प्रतिफल लिन सकिने भन्दै त्यस क्षेत्रमा लगानी बढाउन सके विकासको गति वृद्धि हुने बताए। समापन समारोहमा परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले पूर्वधार सम्मेलन उपलब्धिपूर्ण भएको बताए।

सम्मेलनमा पूर्वाधारका आइडियाहरूलाई  एकै ठाउँमा जुटाउनुका साथै उत्कृष्ठ आइडियालाई सम्मान गर्न पाउँदा खुसी लागेको पनि बताए। प्रस्तुत गरिएका आइडियामध्ये तीन वटा आइडियालाई पुरस्कृत गरिएको छ।

थाइल्याण्डका पूर्व परराष्ट्र मन्त्री सुविन पिङक्यानले ऊर्जा निर्यात गर्ने गरी उत्पादन गर्न नेपाललाई सुझाव दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.