|

अर्घाखाँची : रोल्पाको थबाङमा पहिरोले ६ जना पुरिएका छन्। थबाङ-२ छेर्लबाङमा बिहीबार मध्यरातमा आएको पहिरोले  घर पुरेको हो। पुरिएको घरमा दुई परिवारका ६ जना बस्दै आएका थिए। पहिरोबाट पुरिएका २ जनाको शव निकालिएको प्रहरीले जनाएको छ।

दुईतले ढुंगे घरको माथिल्लो तलामा बस्दै आएकी २८ वर्षीय शीरकुमारी बुढा र उनका ४ वर्षका छोरा असलको शव पुरिएको अवस्थामा गाउँलेले र प्रहरीले शुक्रबार बिहान फेला पारेका हुन्। गाउँलेका अनुसार सुतेकै अवस्थामा पहिरोले च्यापिएर मृत अवस्थामा उनीहरू फेला परेका हुन्। अर्को परिवार भुइँतलाको कोठामा भएकाले पुरिएको हुनसक्ने अनुमान गरिएको छ। 

पुरिएर बेपत्ता हुनेमा ३६ वर्षीय जय बुढा, उनकी पत्नी ४० वर्षीय मुलज्योती बुढा, १० वर्षकी छोरी गृष्मा र डेढ वर्षीय छोरी रहेका छन्। उद्धारमा खटिएका गाउँलेले उनीहरु जीवितै फेला पर्ने सम्भावना कम रहेको बताएका छन्।  घरमा रहेका चौपाया पनि पुरिएका छन्। पुरिएको घरमाथिको पहिरो पन्छाउन पुगेका छिमेकीले केही गाई गोरु  मृत अवस्थामा देखेको स्थानीय सचिन बुढाले टेलिफोनमा जानकारी दिए।

घरमाथि खनिएको सडकको माटोसहित आएको पहिरोले  घर पुरिएको  उनले बताए। सडकको ब्याक कटिङका बेला सडक छेउको घर जोगाउन त्यहाँको माटो लगेर अन्यत्र थुपारिएको थियो  वर्षाका कारण थुपारिएको माटोसहितको पहिरोले घर पुरिएको हो।

गाउँलेले बिहानै घटनाबारे प्रहरीलाई खबर गरेका थिए। थबाङ इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्र गुरुङले जानकारी दिएका छन्।  घटनास्थल नजिकैका प्रहरी चौकीबाट पनि  प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.