नि:शुल्क परीक्षण सरकारको घोषणा मात्रै

|

काठमाडौं : उपत्यकामा डेंगुको बिरामी बढ्दै  गएपछि  टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले सार्वजनिक बिदाको दिनमा पनि ओपिडी सेवा सञ्चालन गरेको छ।

अस्पतालमा डेंगु परीक्षण गर्ने बिरामी धेरै आएपछि अस्पतालले सार्वजनिक बिदाको दिन पनि अन्य दिनमा जस्तै ओपिडी सञ्चालन गर्ने भएको हो। सोहीअनुसार अस्पतालले आज शुक्रबार इन्द्रजात्राको बिदाको दिन पनि ओपिडी पूर्ण रुपमा सञ्चालन गरिरहेको छ।

यसैगरी भोलि (शनिबार) पनि नियमित रुपमा सञ्चालन हुने अस्पतालका कार्यकारी अधिकृत रुपनारायण खतिवडाले बताए। उनले भने, ‘डेंगुको बिरामी दिनदिनै बढ्दै गएका छन् परिक्षण गर्न आउने संख्या पनि बढ्दै गएको छ त्यसैले हामिले बिदाको दिन पनि  ओपिडी सञ्चालन गर्ने निर्णय गरेका छौँ।'

अस्पतालमा अहिले दैनिक रूपमा ज्वरोका बिरामी ८ सय बढी आउने गरेका छन्। तीमध्ये ६ सय बढीलाई डेंगु परीक्षण गराइने गरेको छ। बिरामीको चाप नघटेपछि इन्द्रजात्राको आजको बिदा र शनिबार भोलिको बिदामा पनि ओपिडीसहित ल्याब तथा  अस्पतालका सबै सेवा नियमित रूपमा सञ्चालन हुने खतिवडाले बताए।

बिरामी बढेपछि सेवा थपियो 

डेंगुको संक्रमण फैलिएसँगै अस्पतालमा भिड बढेपछि अस्पतालले क्यास काउन्टरको दुईबाट बढाएर चार पुर्‍याएको छ। डेंगु परीक्षणकै सहजताका लागि भनेर अस्पतालले ओपिडीबाहेक दुईवटा फिवर क्लिनिक सञ्चालनमा ल्याएको छ। जहाँ चार/चारजना मेडिकल अफिसरको युनिट रहने गरेको छ।

यस्तै, एउटा मात्रै कुटलर मेसिन भएको ल्याबमा बिहीबारबाट अर्को पनि मेसिन थपिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा मेसिन थपिएको खतिवडाले जानकारी दिए। सेवा विस्तार हुँदै जाँदा भिड नियन्त्रण गर्न सहज हुँदै गएको खतिवडाले बताए।

निशुल्क परीक्षण सरकारको घोषणा मात्रै

उपत्यकामा डेंगुका बिरामी बढ्दै गए पछि केही दिनअगाडि टेकु अस्पताल गएर डेंगुका बिरामीलाई नि: शुल्क उपचार गर्न निर्देशन दिएका स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले दिएको निर्देशन अहिलेसम्म कार्यान्वयनमा आएको छैन।

अस्पतालले अहिलेकै अवस्थामा डेंगु परीक्षण निशुल्क हुन नसक्ने बताएको छ। हाल अस्पतालले डेंगी परीक्षण गराउनेसँग किटको ५ सय रुपैयाँ लिने गरेकोछ। यस्तै, रगतदेखि अन्य परीक्षणको लागिसमेत अस्पतालले शुल्क लिने गरेको छ।

त्यसैले डेंगु संक्रमित एउटा बिरामीले औसत १ हजार ५ सय बढी पैसा तिर्नुपर्ने हुन्छ। दैनिक ८ सय बढी बिरामी आउने अस्पतालमा निशुल्क गर्न सम्भव नहुने अस्पतालले जनाएको छ। तर भर्ना भएका बिरामीको भने बेडचार्ज निशुल्क छ।

यो पनि हेर्नुस् : 

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.