सल्यान : प्रचार प्रशारको अभावमा पानीघट्ट पेशा ओझेलमा पर्दै जान थालेको छ। मिल तथा अन्य प्रविधिको विकास एवं विस्तारसँगै परम्परागत घट्ट पेशा हराउँदै जान थालेको हो। कुनै समय पिसानीको मुख्य माध्यम बनेको पानीघट्ट हराउँदै जाँदा घट्ट बनाउने पेशा पनि हराउँदै जान थालेको छ।
जिल्लाको सिद्ध कुमाख गाउँपालिका-३ फलाटेका दुई दर्जन बढी मानिस घट्ट बनाउने व्यवसाय गर्दै आइरहेका थिए। घट्टबाट स्थानीयले मनग्य आम्दानीसमेत गर्दै आइरहेका थिए। तर, पछिल्लो समय विगतको भन्दा घट्टको माग कम हुँदै जानु तथा युवामा दुःख गर्ने बानी नहुँदा घट्ट बनाउने पेशा हराउँदै जान थालेको ५३ वर्षीय पुने रेउलेले बताए।
‘पहिले घट्ट बनाउन भ्याइ-नभ्याई हुन्थ्यो। गाउँका २५/२६ जनाले घट्ट बनाउथे। रुकुम, रोल्पा, सुर्खेतसम्म जान्थ्यो' उनले भने 'तर, आजभोलि निकै कम माग हुने गरेको छ।’
घट्ट बिक्री गरेर हालसम्म आफूले ५० लाख आम्दानी गरेको बताउँदै रेउलेले स्थानीय सरकार तथा अन्य निकायले प्रचारप्रसार गरिदिए रोजगारीको लागि अर्को विकल्प खोज्नु नपर्ने बताए। १६ वर्षको उमेर हुँदादेखि नै घट्ट बनाउने पेशामा लागेको बताउँदै उनले युवा पिँढीमा दुःख गर्ने परम्परा हराउँदा चिन्ता लागेको बताए।
सामान्यतया एक जोडी घट्ट बनाउन २ देखि ३ दिन लाग्ने ६६ वर्षीय नर बहादुर रेउलले बताउँछन्। घट्टको साइजअनुसार एक जोडी घट्ट २० हजारदेखि ६० हजारसम्म बिक्री हुने गरेको उनले बताए। ‘ढुंगाखानीबाट ढुंगा निकाल्न साह्रै गाह्रो छ' उनले भने, 'ढुंगा निक्लयो भने एक जोडी घट्ट बनाउन एकजनालाई २ देखि ३ दिन लाग्छ।’
गाउँगाउँमा डिजल मिलको विकास हुँदै जानु तथा युवा सुखसयल बिताउन थालेपछि घट्ट बनाउने पेशा विस्तारै हराउन थालेको उनको भनाइ छ।
सल्यान जिल्लामा मात्रै हालसम्म झन्डै ६ हजार पानीघट्ट रहेको विभिन्न तथ्यांकमा उल्लेख गरिएको छ। घट्ट बनाउने व्यवसायलाई संरक्षण एवं प्रवर्द्धन गर्न सके गाउँपालिकाको स्वरोजगारको गतिलो माध्यम बन्न सक्ने भए पनि गाउँपालिकाले हालसम्म कुनै पहल लिन सकेको स्थानीयको भनाइ छ।
जिल्लामा सिद्ध कुमाखमा मात्र घट्ट बनाउने ढुंगा पाइने भएकाले त्यसलाई प्रवर्द्धन गर्न सके गाउँपालिकै आम्दानीमा वृद्धि हुनेछ। स्थानीयस्तरबाट घट्ट संरक्षणका लागि अहिलेसम्म कोही पनि गाउँपालिकासम्म नआउको गाउँपालिका अध्यक्ष चित्रबहादुर चलाउनेले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।