|

दमक झापा : २०५१ सालमा स्थानीय स्तरबाट निर्माण शुरु भएको दमक-चिसापानी सडक (फाल्गुनन्द मार्ग) अढाई दशकपछि कालोपत्रे शुरु भएको छ।

यस अघि केही झापा खण्ड कालोपत्रे भए पनि इलाम खण्डमा गतवर्ष मात्र काम शुरु भएको हो। तर कालोपत्रे खण्ड विस्तार हुन नपाउँदै पहिले गरिएको कालोपत्रे जीर्ण बन्दै आएको छ। यस पटक भने एक मुष्ट २ अर्व रुपैयाँको ठेक्का प्रक्रिया शुरु भएसँगै झापा र पाँचथर कालोपत्रेमार्फत जोडिने आशा बढेको हो।  यो सडकलाई इलामको चुलाचुली, माङ्सेबुङ् र दक्षिणी इलामका बासिन्दाको ‘लाइफ लाइन’ को रुपमा लिने गरिएको छ।

गत वर्ष पूरा ट्र्याक खोलिएको यस सडक निर्माणका लागि थप २ अर्व रुपैयाँ खर्च हुने भएको हो। दुईवटा प्याकेज बनाएर सडक कालोपत्रेका लागि ठेक्का सूचना सार्वजनिक भएसँगै सडक निर्माणले तिव्रता दिने आशा बढेको उपभोक्ता समितिले जनाएको छ। सडक निर्माण समिति अध्यक्ष रेवतराज पुरी (गगन) ले सो रकमले कालोपत्रे बनाउन बाँकी खण्डमा काम हुने जनाएका छन्। 

३५ किलोमिटर लामो सडकको झापा खण्ड कालोपत्रे भइसकेको र गत वर्षदेखि इलामतर्फ मर्चेबुङ् सम्मको ७ किलोमिटरमा पनि निर्माण कार्य जारिरहेको उनले जनाए। हालै प्रकाशित सूचना अनुसार ठेक्का लाग्ने प्रक्रियाबाट मर्चेबुङदेखि मानपुर र मानपुरदेखि चिसोपानीसम्म सडक कालोपत्रे गरिने उनले बताए। यस अघि उपभोक्ताको तर्फबाट प्रधानमन्त्री केपी ओलीलाई भेटी सडक निर्माणका लागि बजेट बिनियोजनमा प्राथमिकता दिन माग पनि गरिएको थियो। 


पहाडको प्रतीक्षा

यस सडकले झापाको केही खण्डमात्र छुन्छ। बाँकी इलाम र पाँचथरको भूभागमा पर्छ। त्यसैले यो सडकप्रति तराइका बासिन्दा भन्दा पनि पहाडका बासिन्दाको व्यघ्र प्रतीक्षा छ। यस सडकले इलाम र पाँचथरलाई छोटो दूरीबाट झापासँग जोड्ने भएकाले पहाडी जिल्लाहरूको आर्थिक विकास र जनजीवनको सहजताका लागि महत्वपूर्ण हुने निर्माण उपभोक्ता समितिका उपाध्यक्ष बिनोद नेम्वाङले बताएका छन्। 

सहज सडक सञ्जाल हुने हो भने दक्षिणी इलामका बासिन्दा आधा घण्टाको दूरीमा रहेको झापाको दमकमा रहेका सुविधा उपभोग गर्न सक्छन्। 

आफ्नै ठाउँमा तत्कालै शिक्षा, स्वास्थ्य लगायतका सुविधा पुग्ने आशा नगरेका यी क्षेत्रका बासिन्दा झापामै पुगेर भए पनि सुविधाको उपयोग गर्रौंला भनेर पर्खिएको अढाई दशक भएको उनले बताए। यो सडक निर्माणले पहाडी क्षेत्रका बासिन्दाको आर्थिक स्तरमा समेत सुधार ल्याउने आशा गरिएको माङ्सेबुङ् गाउँपालिकाकी उपाध्यक्ष सुनिता सुव्वा बताउँछिन्। सडकको सहज पहुँच नभएकै कारण इलामको ठूलो क्षेत्र उपेक्षित बन्नु परेको उनको अनुभव छ। 

गत वर्ष सडकको ट्र्याक खुलेसँगै दमकदेखि घर्ती दोभानसम्म खोलाबाट गाडी कुदाउनु पर्ने बाध्यता हटेको छ। दमकदेखि रवि जोड्ने फाल्गुनन्द मार्गको यात्रा जोखिमपूर्ण हुने, कृषि उपजको ढुवानी गर्न नसकिने, दैनिक उपभोग्य समानको सहज आपूर्ति नहुने, स्वास्थ्य सेवा पाउन पनि कठिन हुने जस्ता कारण दक्षिण पश्चिमी इलामले पछौटेपना भोग्नु परेको त्यहाँका बासिन्दा दुखेसो गर्छन्।

तराइको आशा

वर्षौसम्म सुस्त गतिमा काम हुँदा निर्माण कार्यले तिव्रता पाउन सकेको थिएन। इलाम खण्डमा तत्कालीन संविधानसभाका अध्यक्ष सुवाशचन्द्र नेम्वाङ र झापा खण्डमा प्रधानमन्त्री केपी शर्मा ओलीका मतदाताले अढाई दशकसम्म जोतिए। दुवै नेता अहिले एकसाथ शक्तिमा पुगेसँगै त्यसको प्रभाव सडक निर्माणमा पनि देखिएको हो।

समितिका अध्यक्ष पुरीले कालोपत्रे निर्माण भएसँगै यसलाई चीनदेखि भारतसम्म जोड्ने रणनीतिक सडकको रुपमा विकास गर्ने सम्भाव्यता देखाए। झापाको गौरीगञ्ज हुँदै भारत बिहारको फत्तेपुर र पाँचथरको रविबाट ताप्लेजुङ् हुँदै चीनको घाङ्ला जोडेर यसको ट्रान्जिट दमकलाई बनाउन सकिने यहाँका उद्योगी व्यवसायीको आशा पनि छ।

सडक निर्माणपछि तराइमा उत्पादित उपज र औद्योगिक वस्तु सहजै रुपमा पहाडी क्षेत्रसम्म पुग्ने र पहाडी क्षेत्रमा हाल उत्पादन भइरहे पनि मूल्यहीन बनेका कृषि उपजले तराइका बजारमा सहजै स्थान पाउने निर्माण समितिका महासचिव हेमन्त राई बताउँछन्। 

ट्रयाक खुल्ला भएसँगै यसको केही हदसम्म फाइदा पहाडी क्षेत्रले लिन थालेको उनले अनुभव सुनाए। यो सडक हुँदै दमकबाट पाँचथरको रवि पुग्न ४७ किलोमिटर छ। तर हाल प्रचलनमा रहेको मेची राजमार्ग हुँदै इलाम-राँके बजार पुग्दा १७८ किलोमिटरको दूरी पार गर्नु पर्ने बाध्यता छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.