विचार

सन्तानका लागि असल बाबुले देखेको सपना
SHARES

भदौ २८, २०७६

    उसको घरमा नयाँ मान्छेको आगमन भएको छ। त्यो सानो मान्छेको अबोध हाँसो देखेर ऊ त्यसैत्यसै दंग छ। सानो र नयाँ मान्छे अर्थात् उसको छोरा। उसको सन्तान। ऊ बडो असामञ्जस्यको स्थितिमा छ। नयाँ मान्छेलाई के भनौँ, कुन शब्दले सम्बोधन गरौँ, के संज्ञा दिऔँ, ऊ अन्योलमा छ, सूर्य भनौँ कि चन्द्रमा, दीप भनौँ कि तारा?

    सन् १९६९ को हिन्दी सिनेमा ‘एक फूल दो माली’को गीत, तुझे सुरज कहुँ या चन्दा, दीप कहुँ या तारा (तिमीलाई सूर्य भनूँ कि चन्द्रमा, दीप भनूँ कि तारा), यस्तै कथा भन्छ। सिनेमाको कथा नेपाल र भारतकै हिमाली भेगको हो। तर, यहाँ पूरा सिनेमाको कथा आवश्यक छैन। लगभग चार मिनेटको गीत नै एउटा पूरा कथा हो। सनातन हिन्दू दर्शनको मर्म बोकेको कथा। 

    सनातन हिन्दू समाजमा त उमेर छउञ्जेल बाबुले दुःख गर्ने, छोरा ठूलो भएपछि उसैलाई अधिकार सुम्पिने र उसैको आश्रयमा बस्ने परम्परा छ। आफूले हुर्काएर, बढाएर, पढाएर र संस्कार दिएर ठूलो बनाएको छोराको आश्रयमा बसेर जीवनको उत्तरार्ध काट्नु हकको विषय मानिन्छ। गर्वको कुरा ठानिन्छ। भलै आज पश्चिमा संस्कृतिको हुरीले यो परम्परामाथि प्रहार गर्दै लगेको होस्।

    नेपाल र भारतीय सनातन समाजमा आम बुबा (आमा पनि) ले सन्तान प्राप्तिका कामना र उनीहरूको बारेमा देख्ने सपना र गर्ने अपेक्षालाई मार्मिक ढंगले प्रस्तुत गरेका छन्, गीतकार प्रेम धवनले। रविले संगीत गरेको यो गीतलाई अझ मर्मस्पर्शी बनाएका छन् मखमली स्वरका धनी मन्ना डेले। भनिहालौँ, सिनेमा (गीत) मा बुबा बनेका छन्, बलराज सहनी।

    सन्तानको रहर संसारको कुन कुनामा भएको मानिसलाई नहुँदो हो। अनि कुनचाहिँ जीवलाई आफ्नो सन्तानको माया नलाग्दो हो। सन्तान ठूलो मान्छे बनोस्, कीर्ति राखोस्, देश–देशान्तर चिनियोस् भन्ने कामना कुन बाबुआमाले नगर्दा हुन्।

    अझ सनातन हिन्दू समाजमा त उमेर छउञ्जेल बाबुले दुःख गर्ने, छोरा ठूलो भएपछि उसैलाई अधिकार सुम्पिने र उसैको आश्रयमा बस्ने परम्परा छ। आफूले हुर्काएर, बढाएर, पढाएर र संस्कार दिएर ठूलो बनाएको छोराको आश्रयमा बसेर जीवनको उत्तरार्ध काट्नु हकको विषय मानिन्छ। गर्वको कुरा ठानिन्छ। भलै आज पश्चिमा संस्कृतिको हुरीले यो परम्परामाथि प्रहार गर्दै लगेको होस्।

    गीतको पात्र (बुबा) ले पनि त्यही कामना राखेको छ, भर्खरै धर्तीमा अवतरित त्यो सानो मान्छेसँग। उसको एउटै अपेक्षा छ, छोरा ठूलो भएपछि कीर्ति राख्ने काम गरोस्। उसको कीर्तिबाट आफू पनि चिनिन पाइयोस् (...मेरा नाम करेगा रोशन जगमे मेरा राज दुलारा)। राम्रो काम गरे वा नराम्रै गरेर चिनिए पनि ‘फलानोको छोरा’ भन्ने हाम्रो समाजको चलनै छ।

    ऊ (बुबा) सन्तानको मुख हेर्न कति व्यग्र थियो। कति तड्पेको थियो। ऊ सोच्थ्यो, उसको आँगनमा पनि कोही खेलोस्। सानो मान्छेको अबोध हाँसो उसको सानो संसारमा छाओस्। त्यो हाँसोको बदलामा बरु ऊ जेसुकै गुमाउन पनि तयार थियो। छोरा आएपछि लाग्दैछ, उसको अँगालोमा सारा संसार झुलिरहेको छ। (मै कब से तरस रहा था मेरे आँगन मे कोई खेले, नन्ही सी हँसी के बदले, मेरी सारी दुनियाँ ले ले, तेरे सँग झुल रहा हे, मेरी बाहो मे जग सारा)।

    घरको मझेरी आँगन करेसामा साना बालबालिका खेलेको हेर्ने रहर कसलाई हुँदैन! आम मानिसको चाहना हो यो। संसारमा केही वस्तुबाट मानिस अघाउँदैन भने, त्यो सन्तान सुख र उसको अबोधपन नै होला। त्यही अवोध बालापन हेरेर मानिस आफ्नो दुःख पीडा भुल्छ। त्यसैलाई परम सुख ठान्छ।

    आज छोरा उसको औँला समातेर हिँडिरहेको छ। बुबाको चाहना छ, जब ऊ बूढो हुनेछ, त्यसवेला छोराले पनि आफूलाई त्यसैगरी हात समातेर हिँडाओस्। उसलाई पाएर जीवनको सहारा पाएको अनुभूति भइरहेको छ (आज उँगली थामके तेरी तुझे मै चलना सिखलाऊँ, कल हाथ पकडना मेरा, जब मै बूढा हो जाऊँ, तु मिला तो मेने पाया, जिनेका नयाँ सहारा)।

    गीतका शब्दमा गीतकार दार्शनिक रूपमा प्रस्तुत भएका छन्। वैदिक सनातन हिन्दू दर्शनअनुसार सन्तान भनेको आफू नै हो। आफ्नै प्रतिरूप हो। उपनिषद्मा भनिएको छ, पतिर्जायां प्रविशति गर्भो भूत्वा स मातरम्, तस्यां पुनर्नवो भूत्वा दशमे मासि जायते अर्थात् गर्भको रूप लिएर पति माताको रूप लिएकी पत्नीमा प्रवेश गर्छ। नयाँ स्वरूप ग्रहण गरेर दशौँ महिनामा जन्मिन्छ।

    गीतमा यस्तै भावना छ, मरेपछि पनि म अमर रहनेछु। किनभने तिम्रो अनुहारमा म देखिनेछु। जसले तिमीलाई देख्नेछन्। तिमीलाई मेरो (बुबा पात्रको) छोरा भन्नेछन्। त्यहाँ मैले दोस्रो जन्म लिनेछु (मेरे बाद भी इस दुनियाँ मे जिन्दा मेरा नाम रहेगा। जो भी तुझको देखेगा, तुझे मेरा लाल कहेगा, तेरे रूप मे मिल जायेगा, मुझको जीवन दोबारा...)

    सन्तान जन्मिँदै, हुर्किँदै वा बढ्दै गर्दा सबै आमाबाबुको आकांक्षा सन्तान राम्रो पढोस्, ठूलो मान्छे बनोस्, आफूहरूको राम्रो हेरचाह गरोस् र फलानोको आमाबुबा भनेर चिनिन पाइयोस् भन्ने नै हुन्छ। कसैले आफ्नो नामबाट भन्दा सन्तानको नामबाट बोलाइदियोस् भन्ने अपेक्षा हुन्छ।

    भनिन्छ, मानिस बूढो भएपछि पुनः बालापनमा फर्किन्छ। बालापनको व्यवहार देखाउँछ। हो यही तथ्य बुझेर उसलाई समाल्न चाहिन्छ सन्तान। अझ सनातन शास्त्रमा ‘पुं’ नामक नरकबाट तार्ने भएकाले पुत्रलाई ‘पुत्र! भनिएको बताइएको छ। बाँचुञ्जेल स्याहारसुसार गर्ने, मरेपछि विधिपूर्वक अन्त्येष्टि गरी वर्ष वर्षमा तर्पण श्राद्ध आदि गरेर बुबाआमाप्रति कृतज्ञ रहने प्रक्रियालाई नै नरकबाट तार्ने भनिएको होला। यस्तै सन्तानलाई नै असल सन्तान भनिएको होला।

    आजको हाम्रो समाजलाई हेरौँ न! छोराबुहारीको अपहेलना सहेर बस्न बाध्य रहेका, विदेशमा रहेका छोराको अनुहार हेर्न पाए सन्तोषले मर्ने थिएँ भनेर कुरेर बसेका र औँसीका दिन मिठाई लिएर छोराछोरी आउलान् भन्ने आस गरेका बाबुआमाले यस्तो सपना देखेका थिएनन् होला र!

    नेपाली वा भारतीय सनातन सामूहिक समाज पारिवारिक व्यवस्थामा चलेको समाज। एकै परिवारमा हजुरबुबादेखि नाति पुस्ता अटाउने। शिक्षा, संस्कार र स्नेहको ज्ञान परिवारबाटै पाइन्थ्यो। पश्चिमाको अन्धानुकरण र आधुनिक बन्ने होडमा सामूहिक परिवारको अवधारणा क्षीण भइसकेको छ।

    एकल परिवारमा अचेल बाबुआमा छोरीछोरी रहन्छन्। बाबुआमा व्यस्त रहने भएकाले छोराछोरीले स्कुले शिक्षाबाहेक केही सिक्दैनन्। केही बुझ्दैनन्। आमाबाबुले भनेको पत्याउँदैनन्। मान्दैनन्। खुट्टा लाग्ने भएपछि तिनै छोराछोरी आफ्ना जोडी च्यापेर हिँड्छन्। आमाबाबुको सपनाको कुनै अर्थ रहँदैन। उनीहरूलाई सन्तानले हेर्न कर लाग्दैन। बाबु (आमा) एक्लै। कि वृद्धाश्रमको बास। नभए पशुपक्षी (कुकुर–बिरालो) सँग वृद्धावस्था बिताउनुपर्ने बाध्यता। अनि सन्तान सानो हुँदा बाबुआमाले देखेको सपनाको के औचित्य!

    आजको हाम्रो समाजलाई हेरौँ न! छोराबुहारीको अपहेलना सहेर बस्न बाध्य रहेका, विदेशमा रहेका छोराको अनुहार हेर्न पाए सन्तोषले मर्ने थिएँ भनेर कुरेर बसेका र औँसीका दिन मिठाई लिएर छोराछोरी आउलान् भन्ने आस गरेका बाबुआमाले यस्तो सपना देखेका थिएनन् होला र!

    एउटा प्रश्न! ५० वर्षअघिको सिनेमामा यी ‘बुबा’ले देखेको सपना अचेलका बुबाहरूले देख्ने सपनासँग मेल खान्छ होला कि खाँदैन होला? अहिलेका नवपिताहरूमा सन्तानहरूसँग गीतले भनेजस्तै अपेक्षा रहेको हुन्छ होला कि हुँदैन होला?  

रामप्रसाद धिताल

धिताल भाषा, धर्म, संस्कृति र विसंगतिविरुद्ध कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]