|

बाँके : नेपाली कांग्रेस बाँके सभापति किरण कोइरालामाथि आक्रमण गरेको अभियोगमा १० जना विरुद्ध किटानी जाहेरी परेको छ।

सभापति कोइरालाका छोरा सुधांशु कोइरालाले कांग्रेसको जागरण अभियानका क्रममा खजुरामा भएको कार्यक्रममा प्रवेश गरी आक्रमण गरेको भन्दै १० जनाविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा किटानी जाहेरी दिएका हुन्। 

खजुरा गाउँपालिका १ का वडा अध्यक्ष सुमन मल्लसहित १० जना विरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको उनले बताए। खजुराको सितापुरस्थित नेपाल रेडक्रस सोसाइटीको सभाहलमा हिमाल, पहाड तराई, मधेस नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रम चलिरहेका बेला नेकपाका नेता तथा कार्यकर्ताले सभापति कोइराला लगायतका कांग्रेस नेता कार्यकर्तामाथि आक्रमण गरेको कांग्रेसले जनाएको छ। 

आक्रमणबाट सभापति कोइरालाको हात भाँचिएको छ। आक्रमणमा दर्जनबढी कांग्रेस नेता तथा कार्यकर्ता घाइते भएको दावी गरिएको छ। नेकपाका स्थानीय नेता तथा कार्यकर्ता मुमबहादुर ओली, पारस मल्ल, निमबहादुर ओली, निर्मल खत्री, लोके र सुनिल भनिने दुई पुरा नामथर नखुलेका १३/१४ जनाको समूह रहेका व्यक्तिले कांग्रेसको कार्यक्रमस्थलमा प्रवेश गरी सभापति कोइराला लगायतका नेतामाथि सांघातिक हमला गरेको कांग्रेस बाँकेद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।

आक्रमणको विरोधमा नेपाली कांग्रेसले शुक्रवार नेपालगन्जमा प्रदर्शन गरेको छ। प्रदर्शनसँगै कांग्रेसले नेपालगन्जस्थित विपी चोकमा एक घण्टा चक्काजाम समेत गरेको छ। दोषीमाथि कारवाहीको माग गर्दै एक घण्टा चक्काजाम गरिएको कांग्रेस बाँकेका सचिव तप्त पौडेलले जानकारी दिए। 

कांग्रेसले घटनालाई अतिरन्जित बनाएको नेकपाको आरोप

कांग्रेस जागरण अभियानको क्रममा खजुरामा आयोजित कार्यक्रममा भएको घटना प्रति नेकपा, बाँकेले दुख ब्यक्त गरेको छ। नेकपाले शुक्रबार नेपालगन्जस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी नेकपाका कार्यकर्ताले कांग्रेसको आमसभालाई लक्षित गरी आक्रमण नगरेको अध्यक्ष आइपी खरेलले दावी गरे।

‘कांग्रेसले घटनालाई अतिरन्जित बनाउन खोज्दैछ’, उनले भने। उनले कांग्रेसको सभामा प्रहरीको फरार सूचीमा रहेका असलम भाटलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाउन खोज्दा झडप भएको स्पष्ट पारे।

कांग्रेसले अपराधीको सूचीमा रहेका ब्यक्तिलाई संरक्षण गरेको बताउँदै उनले प्रहरीको खोजीको सूचीमा रहेका ब्यक्तिलाई बचाउन खोज्दा झडपको अवस्था सिर्जना भएको जिकिर गरे। प्रहरीले सकुशल कांग्रेस सभापति किरण कोइरालालाई घरमा पुर्‍याएको दावी गर्दै अध्यक्ष खरेलले अचानक हात भाँचिएको समाचार बाहिर आएकोमा आशंका ब्यक्त गरे। उनले कांग्रेसलाई अनाहकमा सोझासाझा कार्यकर्तालाई नफसाउन पनि सुझाव दिए। 

नेकपाका सचिव अशोक कोइरालाले पनि कांग्रेस सभापति कोइरालामाथि आक्रमण नभएको बताए। उनले कांग्रेसका कार्यकर्ताले सार्वजनिक गरेको भिडियोमा पनि कोइरालामाथि आक्रमण भएको नदेखिएको जिकिर गरे। 

आक्रमण गरेको आरोपमा तीनजना पक्राउ

कांग्रेस सभापति कोइरालामाथि आक्रमण गरेको आरोपमा बाँके प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले उनीहरूलाई शुक्रबार राती साढे दुई बजे बाँकेको खजुराबाट पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीका अनुसार निर्मल खत्री, लोक बहादुर शाही र रोशन सिंह ठकुरीलाई पक्राउ गरिएको छ। पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.