'नेपालको कम्युनिष्ट एकताबाट संसारले सिकोस्'

|

इलाम : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुई कम्युनिष्टहरूको एकता सामान्य परिघटना नभई ४ दशक लामो प्रयासको परिणाम भएको बताएका छन्। उनले ४ दशक अघिदेखिको बामपन्थी शक्तिहरूको बारम्बारको प्रयासपछि कम्युनिष्ट पार्टीहरूको एकताले मूर्तरूप लिएको उल्लेख गरे।

इलाममा आयोजित जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले राजनीतिक आन्दोलनको दूरगामी प्रभावको रूपमा कम्युनिष्ट शक्तिहरू एक ठाँउ उभिन सफल भएको बताए। दुई पार्टीको एकताले विश्वभरीका श्रमजीविहरूलाई सगरमाथाको देशबाट आशाको दियो बलेको उनले बताए।

पछिल्लो नेपाली राजनितिक विकास क्रमले केही हदसम्म विश्वमा तरंग पैदान गरेको प्रचण्डको भनाइ थियो। ‘हिजो कम्युनिष्ट एकता हुँदैन भन्ने प्रतिगामी शक्तिहरू पार्टी एकता प्रक्रिया सुरु भएको १५ महिनासम्म भ्रम छाडेर भाड्न खोज्दैछन ’ उनले भने ‘तर, सोचअनुसार भएन । परिणामत प्रतिगामी शक्तिहरू टाउँको उठाउन खोज्दैछन।’

प्रचण्डले एकतापछि पहिलो प्रशिक्षण कार्यक्रम इलामले आयोजना गरेकोमा खुशी व्यक्त गर्दै भोलिका दिन उपलब्धि कार्यान्वयन अर्को जटिल पाटो भएकोले जिल्ला पार्टीले सचेत भएर अघि बढन सुझाब दिए। उनले १२ बुँदे शान्ति प्रक्रियापछि २००७ सालदेखि थाती रहेको संविधान निर्माण प्रक्रिया २ कम्युनिष्ट पार्टीको जोड बलले निर्माण भएको बताए। ‘यदि कम्युनिष्ट पार्टीका नेताहरूले संकल्प नगरेको भए संविधान निर्माण झन्डै असम्भव हुन थालेको थियो’ उनले भने ‘ दोश्रो संविधानसभा असफल बनाउन चाहने संसदभित्र र बाहिर मात्र नभई देश र विदेशमा समेत थिए त्यसलाई चिर्दै मुलुकलाई अग्रगामी संविधान दियौँ।’

जनयुद्धको 'क्लाइमेक्स' र अर्को सरकारमार्फत माले एमाले हुँदै मदन भण्डारीको 'जबज'को सिद्धान्तबाट बनेको पार्टीको एकताले देशकै ठूलो पार्टी बन्न सफल भएको प्रचण्डको भनाइ थियो। ‘झापा विद्रोहको क्लाइमेक्सबाट माओवादी बन्यो’ उनले भने ‘ झापा विद्रोहकै सन्तान हो म भन्ने दस्ताबेज अझै छ।’

पार्टी एकताको विकाको क्रमको कुरा गर्दै प्रचण्डले मदन भण्डारी जीवित हुँदै पार्टी एकताको प्रक्रियाले एउटा गति लिएको बताए। ‘३ गते मदन भण्डारीको दुर्घटना भयो। ११ गते पार्टी एकताको विषयमा उहाँसँग छलफल थियो’ प्रचण्डले भने ‘राम्रोसँग छलफल हुन पाएको भए पार्टी एकता हुन्थ्यो की?’

जनयुद्धताका समेत पार्टी एकताको विषयमा छलफल भएको स्मरण गर्दै प्रचण्डले जनयुद्ध सुरु भएको ५ वर्षदेखि नै पूर्वएमाले र पूर्वमाओवादीबीच एकताको लागि छलफल भइरहेको बताए। एमालेको ९औँ महाधिवेशन र माओवादीको हेटौँडा महाधिवेशनबाट दुवै पार्टीले जनवाद छाडेर समाजवादको यात्रालाई सर्वसम्मत पारित गरेकाले नै आज कम्युनिष्ट एकता सम्भव भएको प्रचण्डको भनाइ थियो।

शान्ति प्रक्रियापछि पहिलो संविधानसभाको निर्वाचनका लागि एमाले महासचिव माधवकुमार नेपालसँग गठबन्धन असफल भएको विषय स्मरण गर्दै प्रचण्डले बहुमत आउँछ भन्ने आशा नरहेको बताए। ‘चुनावका लागी ५०/५० प्रतिशतको प्रस्ताव लिएर गएको थिएँ, माधव जीले अस्वीकार गर्नुभयो पछि ४५/५५ लिएर गएँ, त्यो पनि अस्वीरकार भएपछि एकल चुनाव लड्यौँ’ उनले भने ‘ युद्धको कलाको अनुमान थियो चुनावी कलाको जानकारी थिएन यति सिट आउँछ भन्ने अनुमान नै थिएन जनताले जिताइदिए।’

चुनावमा नमिठो पराजय भोगेपछि एमाले समीक्षामा लागको बताउँदै प्रचण्डले जनमतको मूल्यांकन गर्न नसक्दा दोश्रो संविधानसभामा नतिजा ठीक उल्टो आएको बताए। उनले गुटबन्दीले पार्टी कमजोर हुँदै जाने भएकाले सबैले एकताको भावनालाई आत्मसात गर्दै कम्युनिष्ट एकतालाई उचाइमा पुर्‍याउन आ–आफ्नो तह र तप्काबाट भुमिका खेल्न सबैलाई आग्रह गरे। 'अहिलेको नेतृत्वको जोड गुटबन्दी अन्त्य गरेर समाजवादको मोडल बनाउन भन्ने हो। फेरि जनयुद्धमा जान पनि त सकिदैन' उनले भने ‘कम्युनिष्ट एकता नेपालबाट संसारले सिकोस भन्ने हो।’

कार्यक्रममा बोल्दै नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले ४ दशकको प्रयासबाट अन्तिम समयमा आएर कम्युनिष्टहरू एउटै बाटोमा हिँडेको बताए। उनले मुलुकलाई संविधान दिने संकल्पका साथ कम्युनिष्ट पार्टीहरू विभिन्न बाधाहरूलाई छिचोल्दै दबाबका बीचमा एकता घोषणा गरेको बताए।

‘कम्युनिष्टहरुको चाहनालाई ध्यानमा राखेर १५ महिना अघि पार्टी घोषणा गर्‍यौँ’ उनले भने ‘स्थानीय तहको निर्वाचनले दुई पार्टीलाई समाजवाद स्थापनाका लागि झन नजिक ल्यायो।’

उनले एकीकरण ताका तल्लो कमिटी विघटन गर्नाले पार्टीमा अझै केही समस्या विध्यमान रहेको उल्लेख गरे। ‘पार्टी एकीकरणको लागि माथि प्रक्रिया थाल्यौँ, तल विघटन भयो त्यसो नगरको भए दुवै तल्लो तहमा सक्रिय भइरहन्थे’ उनले भने ‘३० लाख जनता र ८ लाख सदस्य निस्क्रिय रहँदा प्रतिगामीले खेल्ने अवसर पाए।’

नेपालको संविधान निर्माण प्रक्रियाको बारेका कार्यकर्ताहरूलाई प्रशिक्षण दिँदै नेकपा संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले फेरि पनि अधिकारका नाममा आन्दोलन गरिरहनुको औचित्य नभएको बताए। उनले ५ वर्ष ८ महिना छलफलपछि बनाएको संविधानले सबै क्षेत्र, वर्ग, लिङ र समुदायलाई समान अधिकार प्रत्याभूत गरेको बताए। ‘३० दल एकै ठाँउमा उभ्याएर बनाएको संविधानले मधेसी, दलित, पिछडावर्ग, महिला दिदीबहिनी सबैको अधिकार समेटेको छ’ उनले भने ‘सबैको अधिकार र भावना समेटने संविधान विश्वकको कुनै पनि मुलुकमा छैन्।’

नेम्बाङले अहिलेको संविधान विश्वकै उत्कृष्ट भएको दावी गर्दै यो संविधानको विकल्प नभएको बताए। सरकारको बचाउँदै गर्दै नेम्वाङले सरकार अधिनायकवादतर्फ उन्मुख भइरहेको भन्ने विपक्षीको आरोप मात्र भएको बताए। प्रशिक्षणको पहिलो दिन प्रदेश १ का अध्यक्ष देवराज घिमिरे र सचिव सुरेशकुमार राईले मन्तव्य राखे। शनिबारसम्म संचालन हुने प्रशिक्षणमा नेकपा स्कूल विभाग उपप्रमुख देवेन्द्र पौडेल र वेदुराम भुसाल, केन्द्रीय सदस्य विजय पौड्याल, प्रदेश १ का अध्यक्ष देवराज घिमिरेलगायत इलाम आएका छन्।

शनिबार स्कूल विभाग उपप्रमुख पौडेलले कम्युनिष्ट आन्दोलनको सुरुवातदेखि हालसम्मको अवस्था र वेदुराम भुषालले दर्शनशास्त्र र माक्सवाद, केन्द्रीय सदस्य बिजय पौडेलले अर्थ राजनीतिको विषयमा र प्रदेश अध्यक्ष घिमिरेले सरकार र पार्टीको सम्बन्धको बारेमा प्रशिक्षण दिनेछन्। प्रशिक्षणमा जिल्ला कमिटीका पदाधिकारी र सदस्य, जिल्ला सल्लाहकार समितिका पदाधिकारी र सदस्य, ६ वटै निर्वाचन क्षेत्रीय कमिटीका पदाधिकारी र सदस्य, गाउँ तथा नगर कार्यालय सदस्य, विभागका सबै सदस्य, ८१ वटै वडाका अध्यक्ष र सचिव र जनसंगठनका केन्द्रीय पदाधिकारी र सदस्य गरी ५ सय बढीको सहभागिता रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.