|
फाइल फोटो

बाँके : छेडागाड नगरपालिका–९, जाजरकोटकी कमला अधिकारीले २४ हप्ताको शिशुलाई शुक्रबार बिहान ५:४५ बजे भेरी अस्पतालको प्रसूति वार्डमा जन्म दिइन्।

तर, भेरी अस्पतालको प्रसूति वार्डमा कार्यरत एक स्टाफ नर्सले शिशुलाई मृत घोषणा गरि सद्गतका लागि आफन्तलाई जिम्मा लगाइन्। स्टाफ नर्सले घोषणा गरेबमोजिम कमलाका आफन्तले शिशुलाई नेपालगन्जको बुलबुलियास्थित समशानघाटमा सद्गतका लागि लिएर गए। सद्गतका लागि प्लाष्टिकको झोलामा राखेर समशानघाटमा लगेको शिशुलाई झिकेर हेर्दा चलमलाएको कमलाका पति मिलन अधिकारीले बताए।

शिशु चलमलाएपछि हतार हतार पुनः भेरी अस्पतालमा ल्याएको उनले बताए। उनले शुक्रबार बिहान एक्कासी पेट दुखेपछि अस्पताल ल्याएको बताउँदै सामान्य अवस्थामा छोरी जन्मिएको भन्ने खवर पाएपछि खुशी भएको बताए। 'हामीलाई छोरीको मृत्यु भएको छ भनियो । प्लास्टिकको झोलामा राखेर सद्गत गर्न बुलबुलियास्थित मसानघाट जाँदा बच्चा जीवित भेटियो,’ कमलाका पति मिलनले भने।

भेरी अस्पतालले मृत घोषणा गरेको शिशुको भेरी अस्पतालको एनआइसियू कक्षामा उपचार भइरहेको छ। कमलाले जन्म दिएको शिशुको एनआइसियूमा राखेर उपचार जारी रहे पनि जीवित राख्न सक्ने सम्भावना एकदमै न्यून रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंले बताए।

३७–४२ हप्तासम्म उमेरका जन्मने बच्चा सामान्य मानिने बताउँदै बच्चाको छिटो जन्मिएको र तौल साह्रै कम रहेकाले जीवित रहने सम्भावना कम रहेको बताएका हुन्। उनका अनुसार जन्मदा शिशुको तौल केवल ६ सय ग्राम छ। उनले शिशुको जन्मने उमेर पनि नपुगेको स्पष्ट पारे। ‘अल्ट्रसाउन्ड गरेर हेर्दा बच्चाको तौल साढे ६ सय ग्राम र उमेर २४ हप्ताको मात्र देखियो,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.