|

गुल्मी : पहाडबाट तराई र दुर्गमबाट सुगमता खोज्दै मानिसहरु बसाइँ सर्दा गाउँ पातलिँदै जान थालेको छ। दुर्गममा शिक्षा, स्वास्थ्य र यातायातको राम्रो व्यवस्था नभएका कारण मानिहरु सुगम स्थानमा बसाइँ सर्दै छन्। यस्तै, अवसरको खोजीमा बसाइँ सर्ने क्रम तीव्र भएको छ।

बसाइँसराइका कारण गुल्मीका विभिन्न गाउँका जग्गा बाँझिँदै गएको छ। गाउँका धेरै ठाउँका घरहरु ताल्चा मारेर बन्द गरिएका छन्। संघीयता कार्यन्वयनसँगै सिंहदरवारको अधिकार गाउँमा आएको भनिए पनि मानिसहरुको सहर बसाइँसराइको क्रम रोकिएका छैन। जिल्लामा पनि यो क्रम दिनानु दिन बढ्दै गएको छ । 

रेसुङ्गा नगरपालिका–१० को सिमीचौर मोहराई टोलबाट धेरै संख्यामा बसाइँ सरेका छन्। कुँवरहरुको बसोवास गर्ने मोहराईका ८४ घरमध्ये २५ घरपरिवार बसाइँ सरेका छन्। सानो टोलबाट नै यति धेरै संख्यामा बसाइँ सर्दै गए जाने हो भने गाउँ नै रित्तिँदै जाने चिन्ता भएको स्थानीय लालबहादुर कुँवरले बताए।

गाउँमा विवाह, पूजा वा कुनै काम भए काम गर्ने मान्छे नै नहुने गरेको कुँवर बताउँछन्। ‘युवाहरु कमाइका लागि विदेश छन्,’ उनले भने, ‘घरहरुमा बृद्ध आमा बुबाहरु मात्रै छन्। झन् बसाइँसराइले त खेतबारी बाँझो भएको छ।’ उनका अनुसार उक्त गाउँमा १०० रोपनीभन्दा बढी खेत बाँझो रहेको छ।

गाउँमा बसेर गुजारा पनि चल्न धौधौ र लगाएको खेतीपाती बाँदरले सखाप पारिदिने, खानेपानीको समस्या आदि कारणले बसाइसराइँ बढ्दै गएको स्थानीय बिनोद कुँवरले बताउँछन्। कमाउन थालेपछि गाउँमा लगानीअनुसार प्रतिफल नआउने गर्नाले पनि बसाइँ सर्ने क्रम बढ्दै गएको उनको बुझाइ छ। यस्तो बढ्दो बसाइँसराइ रोक्न राज्यले पनि ध्यान दिनु पर्ने कुँवरको भनाइ छ

आर्थिक रुपमा सम्पन्न मानिस थप सुविधाका लागि र विपन्न व्यक्ति रोजीरोटीकै लागि बसाइँ सर्ने गरेको पाइएको छ। कृषि क्षेत्रमा लगानीअनुसारको प्रतिफल प्राप्त नहुनु, गुणस्तरीय उच्च शिक्षा हासिल गर्न गाउँमा शैक्षिक संस्था नहुनु, स्वास्थ्य उपचारका लागि सुविधा नहुनु जस्ता कारणले मानिसहरू बसाइँ सर्ने गरेका छन्।

यस्तै, छोरो कमाउन परदेश लागेपछि बुहारी छोराछोरी पढाउन शहर पस्नाले गाउँमा बृद्धबुद्धा मात्रै भेटिन्छन्। हरेक स्थानीय तहबाट बर्सेनि १५ देखि १०० परिवार बसाइँ सर्ने गरेका छन्।

धुर्कोट गाउँपालिकाबाट गत बैशाखदेखि चैत मसान्तसम्म ८४ परिवार बसाइँ सरेका छन्। मालिका गाउँपालिकाबाट ५८ घर परिवार जिल्लाबाहिर बसाइँ सरेको तथ्यांक छ। रुरु गाउँपालिकाबाट ६४ परिवार, छत्रकोटबाट ७८ परिवार बसाइँ सरेको तथ्यांक छ। यस्तै, रेसुङ्गा नगरपालिकाबाट ५४, इस्मा गाउँपालिकाबाट ५९ र गुल्मीदरवार गाउँपालिकाबाट गत बर्ष ६५ घर परिवार बसाइँ सरेका छन्।

स्थानीय सरकारका विभिन्न खाले योजना निर्माण गरेका छन्। तर, बसाइँसराइको क्रम रोक्न योजना निर्माणमा गम्भीर नभएको सरोकारवालाहरुको बताउँछन्। तर, स्थानीय तहहरुले भने बसाइँसराइ रोक्नका लागि विभिन्न योजनाहरु तयार गर्न लागेको बताएका छन्। धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बसाइँसराइको दर कम गर्न स्थानीय स्तरमा सडकहरुलाई गुणस्तर बनाउन, शिक्षामा व्यापक सुधार सँगै प्राबिधिक शिक्षाको व्यवस्था, खानेपानी र स्वास्थ्यको राम्रो व्यवस्था गर्ने क्रम जारी बताए। यस्तै, गाउँमै उत्पादनलाई जोडेर स्वरोजगारको व्यवस्था समेत गर्दै गएको दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.