|

धनगढी : सुदूरपश्चिम प्रदेशवासीले उपचारका लागि भारततर्फ जानुपर्ने बाध्यता अझै हट्न सकेको छैन । यहाँ गुणस्तरीय उपचार सेवा उपलब्ध हुन नसकेकाले उपचारका लागि भारततर्फ जाने बाध्यता कायमै रहेको हो। प्रदेशका ठूला अस्पतालहरुमा उपलब्ध विशेषज्ञ सेवा, उपचारको तौरतरिकालगायतप्रति विश्वास गर्न सकिने अवस्था नरहेको सेवाग्राहीको भनाइ छ।

‘डाक्टरले उपचार त गर्छन् तर बिरामीको अन्तिम अवस्था आएपछि यहाँ उपचार सम्भव नरहेको भन्दै बाहिर पठाउँछन्,’ स्वास्थ्य उपचारका लागि भारतको लखनऊ र दिल्ली पुग्ने धनगढीका शेरबहादुर बस्नेतले भने, ‘यसले विश्वासको सङ्कट खडा गरेको छ।’ उनी हरेक वर्ष आफ्नो र आफ्नो श्रीमतीको उपचारका लागि भारत पुग्ने गरेका छन्।

अन्तिम अवस्थामा बिरामीलाई अन्यत्र लैजानु पर्दा खर्च बढ्ने गरेको पीडितहरु बताउँछन्। साथै, परिवार समस्यामा पर्ने गरेका छन्। सुदूरपश्चिम प्रदेशमा रहेको एक मात्र ठूलो सेती प्रादेशिक अस्पतालमासमेत विशेषज्ञ चिकित्सकको अभाव छ। यति मात्र नभइ प्रदेशका अस्पतालहरुमा विशेषज्ञ सेवा, उपकरण र उपकरण चलाउने जनशक्ति पनि कम छ। 

आफूले चाहे जस्तो उपचार सेवा पाउन नसक्दा धेरै व्यक्ति उपचारका लागि भारततर्फ जान बाध्य छन्। सेती प्रादेशिक अस्पतालमा २२ जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हालसम्म ११ जनाको मात्रै पदपूर्ति भएको छ। यहाँको अस्पतालमा अहिलेसम्म विशेषज्ञ चिकित्सक नै पर्याप्तमात्रामा नआएको सेवाग्राही बस्नेतले बताउँछन्। 

‘पहिलो कुरा जनशक्ति नै छैन’, उनले थपे, ‘बल्लतल्ल विशेषज्ञ डाक्टर आएमा उपकरण हुँदैन। उपकरण ल्याए त्यसलाई चलाउने दक्ष जनशक्ति हुँदैन।’ सेती प्रादेशीक अस्पतालमा मुटुरोग, दन्त, मानसिक रोग लगायतका विशेषज्ञ चिकित्सकहरुको दरबन्दी भए पनि पद् जहिल्यै रिक्त छ।

कुनै–कुनै रोगको ‘इन्भेस्टिगेशन’ नै हुन नसक्ने अवस्थाका कारण सेवाग्राहीहरु उपचारका लागि अन्यत्र जाने गरेको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठको बुझाइ छ। ‘तर, हामीले बिरामीलाई काठमाडौं, कोहलपुर र भरतपुर मात्रै रिफर गर्दछौ,ं’ उनले भने, ‘भारत नै जानू भनेर अस्पतालले रिफर गर्दैन। बिरामी पक्षले आफ्नै निर्णयमा लग्ने गरेको सुनिन्छ।’

यस क्षेत्रका नेपालीहरु उपचारका लागि भारतको लखनऊ, दिल्ली, वनबासाका अस्पतालमा पुग्ने गरेका छन्। उपचारका लागि उता जाँदा कतिपय ठगिने पनि गरेका छन्। उपचारका लागि भारततिर जानुपर्ने बाध्यता अझै पनि नरोकिएको राष्ट्रिय उपभोक्ता मञ्च कैलालीका अध्यक्ष हरि रेग्मीले बताउँछन्। ‘यो बाध्यतालाई रोक्नका लागि अस्पतालहरुले नै जनचेतना फैलाउने र विश्वास जित्ने काम गर्नु पर्दछ,’ उनले भने।

यहाँ रहेका अस्पतालहरुले स्वास्थ्यमा पर्याप्त लगानी, सोहीअनुसार संरचना निर्माण, उपकरण जडान र गुणस्तर कायम गर्न आवश्यक रहेको रेग्मीको जोड छ। ‘विशेषज्ञमात्रै भएर हुँदैन,’ उनले थपे, ‘उपकरण पनि जरुरी छ। र, यहाँ उपलब्ध सेवा सुविधाबारे जनताले बुझ्ने गरी प्रचार प्रसार गर्न, जनचेतना जगाउन आवश्यक छ।’

पछिल्लो समय निजी क्षेत्रबाट ठूलठूला र सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएका छन्। तर, नजिक भए पनि खर्चिलो उपचारका कारण सबैको पहुँच निजी अस्पतालसम्म पुगेको छैन। आर्थिक अवस्था कमजोर भएकाहरु उपचारका लागि सरकारी अस्पतालमा आउने र त्यहाँ उपचार सम्भव नभएपछि बिरामीलाई घरतिरै फर्काउने पनि गरेका छन्। कतिपय भने ऋण सापटी लिएर उपचारका लागि भारत जाने गरेका छन्।

प्रदेशका नागरिकहरु उपचारका लागि भारत जाने बाध्यता रोक्न सबैभन्दा पहिले विश्वासको वातावरण बनाउन आवश्यक रहेको बस्नेतको बुझाइ छ। ‘यसका लागि गुणस्तरीय उपचार सुविधा, स्वास्थ्यमा पर्याप्त लगानी, सोहीअनुसारको संरचना निर्माण गर्न आवश्यक छ’, उनले भने, ‘लगानी भएन र प्रविधिमा आधारित उपचार सेवा भएन भने जतिसुकै ठूलो कुरा गरे पनि हुँदैन।’ 

सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म मेडिकल कलेज छैन। यो प्रदेशमा मेडिकल कलेज नहुनुले पनि स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव हुने गरेको बताइन्छ। 

हालसम्म विशेषज्ञ चिकित्सकको अभाव देखिएकाले यहाँका अस्पातलहरुले विशेष सेवा आदानप्रदान गर्नु पर्ने आवश्यकता रहेको राष्ट्रिय उपभोक्ता मञ्च कैलालीका अध्यक्ष रेग्मीको भनाइ छ।  ‘उपचारका लागि भारत जाँदा धेरै नेपाली ठगिने पनि गरेका छन्,’ उनले भने, ‘त्यसैले यहाँका अस्पतालहरुले उपलब्ध विशेष सेवा आदानप्रदान गरेर जनतालाई सेवा दिन सक्नु पर्दछ ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.