स्वतन्त्रता मनपरी होइन, काट्छु, मार्छु भन्न

|

इलाम : सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको तिक्तता टुंगिसकेको बताएका छन्। 

कुरो मिल्यो

ओली सिङ्गापुर जानुअघि नेपालसँग केही तिक्ता भएको स्वीकार गर्दै उनले अहिले अवस्था सामान्य भइसकेको दाबी गरे।

‘प्रधानमन्त्री सिङ्गापुर जानुअघि प्रधानमन्त्री र माधव कमरेडबीच केही तिक्तता पक्कै भएको हो । तर सचिवालयको बैठकमा गहन छलफलपछि अहिले अवस्था सामान्य बनेको छ,’ उनलले इलाममा शनिबार आयोजित पत्रकार सम्मेलनमा भने।

सरकाले गति लिन्छ

गुटबन्दीले कसैको पनि हित नहुने बताउँदै दाहालले त्यसलाई रोकेर सिङ्गो पार्टीपंक्तिलाई एकताबद्ध बनाइ अगाडि बढाउन आफु कटिवबद्ध रहेको बताए । 

उनले परिमाणात्मक भन्दा सरकार गुणात्मक परिर्वतनको दिशातर्फ अघि बढिरहेको बताए । दाहालले ३ तहको सरकार निर्माण आफैंमा गुणात्मक परिर्वतन भएको स्पष्ट पारे । 

ऐन कानुन बनाउन आफैमा चुनौतीपूर्ण भएको उल्लेख गर्दै दाहालले ५० औ कानुन बनाउन झन्डै १ वर्ष लागेकाले सरकारबाट अपेक्षा अनुरुपका भएको नदेखिएको जिकिर गरे।

‘जनताले ऐन कानुन बनाउने कुरा सामान्य देख्छन पत्रकार साथीहरुलाई थाहा छ कति जटिल छ भन्ने,’ उनले भने।

व्यवस्था उल्टिँदैन

अध्यक्ष दाहालले कसैले कराउँदैमा अहिलेका गणतन्त्रात्मक व्यवस्था नउल्टिने दाबी गरे।  ‘कसैले होहल्ला गर्दैमा जनताले लोकतान्त्रिक विधिबाट बनाएको संविधान र सबैभन्दा बढी मौलिक अधिकार भएको संविधान कसैले कमजोर बनाउन सक्दैन। यो सिस्टम ल्याउन ७० वर्ष जनताले लडेर ल्याएको हो। केही मान्छे कराउँदैमा उल्टिने भन्ने होइन।’

केही समयदेखि निरंकुशतावादीहरु एयरपोर्टमा गएर राजतन्त्रको पक्षमा नारा लगाउने गणतन्त्रको विरोधमा नारा लगाउने गलत भएको बताए । नेतालाई सुन्ने नसक्ने गरी गाली गर्ने देखिएको प्रवृत्तिलाई गम्भीररुपमा लिनु पर्ने दाहालले बताए ।

‘हिजो मात्रै राष्ट्रपतिलाई इन्द्रजात्रामा कालो झन्डा देखाउन खोजे भन्ने सुनियो । यस्ता गतिविधि आउन खोजेका छन्। त्यसले हाम्रो समृद्धिको यात्रा सबै मिलेर विकासमा जाने भनिएको छ’, उनले भने, ‘अहिले संवैधानिक यात्रामा खतरा आयो भन्ने होइन। बालुवाटारमा प्रधानमन्त्रीले बोलाएको बैठकमा सबै दलले संविधानमा सहमति नै जनाएका छन्।’ 

स्वतन्त्रताका नाममा मनपरी

प्रस्तावित मिडिया काउन्सिल विधेयकको बिषयमा बोल्दै दाहालले सञ्चारमाध्यम र मिडियामाथि अंकुश लगाउने मनसाय नभएको उल्लेख गरे । ‘मिडिया काउन्सिल विधेयकलाई संंविधानको मर्मअनुसार संशोधनमा विमत्ति छैन,’ उनले भने ‘विधेयकमा कमजोरी भए सच्याउन तयार छौँ ।’

लोकतान्त्रिक मूल्यमान्यता बोकेको संविधानमा पूर्ण प्रेस स्वतन्त्रता राख्न पहल गर्ने पार्टीले मिडियामा अंकुश लगाउन खोज्ने कुरा कल्पना गर्न नसकिने दाहालले बताए। 

यो पनि : प्रचण्डको स्पष्टीकरण : अमेरिकालाई उत्तेजित गराउन बोलेको होइन

‘तर त्यो आरोप चाहीँ कम्युनिष्ट पार्टी भएकाले हिसाबले त्यत्तिकै लगाउने प्रचलन विश्वभर ‘कल्चर’ जस्तै छ,’ उनले भने, ‘प्रधानमन्त्रीलाई जलाइदिन्छु, मारिदिन्छु भनेको छ । कराएको छ, प्रचण्डलाई जिउँदै मारेर मासु खाने भनेको छ, त्यसलाई पनि कारवाही छैन । यस्तो संसारका कुन देशमा छ? प्रधानमन्त्रीलाई मनपरी गाली गरेर हिँड्न पाउने, पार्टीका नेताविरुद्ध अर्नगल प्रचार गरेर हिँड्न पाउने, मानिसलाई भ्रमित पारेर  हिँड्न पाउने त्यस्तो स्वतन्त्रा विश्वको कुन चाहीँ लोकतान्त्रिक देशमा छ ।’ 

जसले जे गर्दा पनि छुट दिन नहुने उनले बताए । ‘देशमा लोकतन्त्र छ, प्रेस स्वतन्त्रताको पनि एउटा मान्यता छ’, उनले भने, ‘हामी साँच्चै उदारवादी छौ । अरु पार्टीले दिन्थे त ।’ प्रेस स्वतन्त्रलाई मर्यादित बनाउने कुरा बिचारणीय रहेको दाहालको भनाई थियो । 

जनताको जनवाद 

पार्टीमा कोही पनि जनताको बहुदलीय जनवाद र २१ औ शताव्दीको जनवादको विरोधमा नभएको बताउँदै दाहालले आगामी महाधिवेशनमा अझै छलफल गरेर सिद्धान्तलाई परिस्कृत बनाउने उल्लेख गरे। 

त्यो नहुँदासम्म अहिलेलाई समाजवादोन्मुख जनताको जनवादमा सहमति भएको उनले बताए । आज देश र पार्टीको आवश्यकतालाई हेर्दा सरकारलाई अस्थिर बनाउन नचाहनेहरु सक्रिय भएको दाहालले बताए। 

सहमति कोट्याए

एउटा सहमति भएपछि त्यही अन्तिम भन्ने नभएको उनले बताए । ‘हिजो जे सहमति भएको छ, त्यही हुनुपर्छ भन्ने होइन, पाँचै वर्ष यो सरकार चले पनि हुन्छ’, उनले भने, ‘जनताको चाहना सरकारले काम छिटो गर्नुस भन्ने छ। त्यो हामीले महसुस गरेका छौँ । पार्टी एकता टुङ्गिएर देशव्यापी अभियान चलोेस भन्ने कार्यकर्ताको चाहना महसुस गरेका छौँ ।’ 

सरकारको कुरा गर्दा पार्टी र नेतृत्वबीचको सहमति हुने कुरा उनले सम्झाए। 'पार्टी एकताको सन्दर्भमाम केही सहमति भएका हुन तर आजको अवस्था हेर्दा सरकारलाई कहिं कतै कमजोर बनाउन दिन खोजेका छैनौं', उनले भने, 'पार्टी एकता राम्रोसँग हुनुपर्यो र सरकार प्रभाकारी भयो भने पाँच वर्ष नै यो सरकार जाँदा समस्या हुन्न भनेर मैले धेरैपटक भनेको छु।'

चुनावी गठबन्धनपछि सरकार केपी ओलीको नेतृत्वमा बन्ने कुरा बोलेको उनले स्मरण गरे। 'पार्टी एकता छिटो होस भन्ने कुरा कार्यकर्ताले भनेका छन् । हाम्रा लागि यो पदको कुरा ठूलो होइन । चुनावपछि सरकार कमरेड केपी ओलीकै नेतृत्वमा हुन्छ भनेर मैले भनेको हो', दाहालले भने, 'चुनावपछि मलाई पुरै अवधिको प्रधानमन्त्रीको अफर आएको थियो । म ती सबै छोडेर आएको छु भने म प्रधानमन्त्री बन्न हतार छु भन्नु सारै गलत हुन्छ।'

संविधान संशोधनको बिषयमा ३ बुँदे सम्झौतापछि संघीय समाजवादी पार्टी सरकारमा सहभागी भएको उनले बताए। ‘संविधान लचिलो हुनुपर्छ, आवश्यकता अनुसार संशोधन गर्न सकिन्छ’, उनले भने, ‘तर समाजवादीसँग भएको सम्झौतामा आजै भोली नै परिर्वतन गर्ने भन्ने छैन।’ जनताको चाहना सरकारले राम्रा काम छिटो गरोस भन्ने रहेको दाहालले पुन: दोहोर्याए। 

'मैले जसरी लचकता र उदारता अपनाएको छु, म जस्तो अरु पाउन गाह्रो हुन्छ। पाँच वर्ष सरकार चल्छ', उनले भने, 'राष्ट्रको र इतिहासको आवश्यकतालाई रचनात्मक रुपमा सोचेर जानु छ । सहमति र सहकार्य जरुरी छ।'

सैन्य गठबन्धनमा नेपाल छैन

प्रचण्डले नेपाल विश्वका कुनै पनि सैन्य गठबन्धनमा सहभागी नहुने बताएका छन्। केही दिनअघि चिनियाँ विदेशमन्त्रीको भेटमा आफूले अमेरिकाको नेतृत्वमा सञ्चालित इन्डो प्यासिफिक सैन्य गठबन्धनबारे दिएको अभिव्यक्तिको सन्दर्भमा इलामका पत्रकारहरुको प्रश्नको उत्तर दिँदै दाहालले यस्तो बताएका हुन्।

‘हामी असंलग्न र स्वतन्त्र परराष्ट्र नीतिमा प्रतिवद्ध छौँ। यही नीति हाम्रो मान्यता र सिद्धान्त हो’, दाहालले भने, ‘हाम्रो विदेश नीति अनुसार हामी कुनै पनि शक्ति केन्द्रको सैन्य गठबन्धनमा सहभागी हुँदैनौं। हामी असंल्गन रहन्छौँ।’

अध्यक्ष दाहालले बिम्स्टेक वा इन्डो प्यासिफिक कुनै पनि सैन्य समूह, गठबन्धन या अभ्यासमा आफूहरु संलग्न नहुने जवाफ दिए । ‘बिम्स्टेकको सैन्य अभ्यास होस् या इन्डो प्यासिफिकको कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुँदैनौँ’, उनले भने, ‘त्यस खालका सैन्य अभ्यास र रणनीतिक उद्धेश्यमा हामी तटस्थ रहन्छौँ।’ 

चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र आफूले पनि त्यही कुरा भनेको उनले दाबी गरे। 

एक चीन नीतिमा प्रतिवद्ध

अध्यक्ष दाहालले चीनसँग नेपालको एक चीन नीति यथावत रहेको बताए । ‘हामी एक चीन नीतिमा प्रतिवद्ध छौँ। त्यो हाम्रो घोषित र प्रष्ट नीति हो’, उनले भने, ‘इन्डो प्यासिफिक सैन्य रणनीतिमा हाम्रो संलग्नता हुँदैन। चीनविरोधी कुनै पनि गतिविधि हाम्रा लागि सह्य हुँदैन।’

इन्डो प्यासिफिक सैन्य गठबन्धनबारे चिनियाँ विदेशमन्त्रीसँग आफूले बोलेको भन्दै चीनबाट आएको समाचार त्यहाँको सरकारको आधिकारिक नभएको उनले प्रष्ट पारे। 

आफूले चिनियाँ विदेशमन्त्रीसँग बोलेको सन्दर्भमा चीनबाट परराष्ट्र मन्त्रालयले कुनै औपचारिक धारणा सार्वजनिक नगरेको उनले बताए । 

‘केही समाचार एजेन्सी र पत्रपत्रिकाकामा प्रकाशित समाचारबारे जानकारी छ। तर सरकार या परराष्ट्र मन्त्रालयले बोलेको होइ’, उनले भने, ‘अमेरिकाको राजदूतावास या स्टेट डिपार्टमेन्ट कसैले मागेको छैन। सरकारलाई चिठ्ठी आएको छैन।’ 

भेनेजुएला र क्युबामा पुरानै अडान

भेनेजुएला र क्युबाको प्रकरणमा अमेरिकाप्रति नकारात्मक धारणा बनाउन नखोजेको उनले बताए । ‘कुनै पनि देशको आन्तरिक मामिला त्यहीँको देशले टुंग्याउनुपर्छ भन्नेमा अहिले पनि नेपाल सरकार र पार्टीको लाइन त्यही हो’, उनले भने, ‘क्युबाको पक्षमा त पुरै संसार छ । अमेरिकी नाकाबन्दीविरुद्ध राष्ट्र संघले प्रस्ताव पारित गरेको छ।’ 

नेपालमा चेग्वेभाराकी छोरीसहितकी टोली आउँदा पनि आफूले अमेरिकाको नाकाबन्दी गलत भएको बताएको उल्लेख गरे। तर आफूले अमेरिकालाई उत्तेजित गराउन विरोध नगरेको बताए । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.