सल्यान: बन्गाड कुपिण्डे नगरपालिका ११ आपचौरकी २८ वर्षीया भावना थापा दैनिक तरकारी बेच्न बजार धाउने गर्छिन्। कम्मरमा एक डोको तरकारी छातीमा एक महिनाको छोरी च्यापेर थापा सधै ३ घण्टाको दूरी पार गरी सल्लीबजारमा पुगी तरकारी बिक्री गर्ने गर्दछिन्।
आम्दानीको अर्को स्रोत नभएको र बालबालिका हेर्ने अर्को मान्छे नहुँदा थापाले दिनहुँ छोरीलाई च्यापेर बजार धाउने गरेकी हुन्। उनले भनिन, ‘के गर्नु घरमा छोराछोरी हेर्ने अर्को मान्छे छैन तरकारी बिक्री नगरी साँझ बिहानको चुली बल्दैन।’
घरमा आफू एक्लै भएको र श्रीमान छ महिना पहिले मात्रै रोजगारीका लागि विदेश गएको भाइहरू छुटिएका कारण रहर भन्दा बाध्यताले छोरीलाई च्यापेर बजार धाउनु परिरहेको उनले बताइन्। तरकारी खेतीले आफ्नो गुजारा चली रहेको बताउदै उनले बजारको भने साह्रै समस्या भएको बताइन।
ढोरपिपलमा निर्माण गरेको कृषि संकलन केन्द्र पनि दुई तीन महिना पछि बन्द भइहाल्यो उनले भनिन ‘संकलन केन्द्र सञ्चालन भई दिएको भए पनि घर घर धाउनु पर्ने थिएन।’
छोराछोरीको पढाई खर्च र घर खर्च चलाउन तरकारी खेतीले जसोतसो पुगी रहे पनि बजारीकरणको साह्रै समस्या रहेको थापाको भनाई छ। दैनिक गुजारा चलाउन नै ढोरपिपल, रैकर, बालुवासंग्रही, सल्लीबजार लगायतका बजारमा धाउनु परी रहेको उनले बताइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।