निर्माण पूरा भएका सडक ३ महिना नबित्दै भत्किए

|

सिन्धुली : मध्यपहाडी लोकमार्गमा १० आधुनिक शहर बनाउन सरकारले ल्याएको नयाँ शहर योजनाको काम अति सुस्त देखिएको छ।

पहाडबाट बसाइँसराइ रोक्ने उद्देश्यले सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोटमा निर्माण भइरहेका आयोजनाको काम ढिलो हुँदा सुविधा सम्पन्न नयाँ शहर बन्नेमा आशंका उब्जिन थालेको छ।

आर्थिक वर्ष २०६७/६८ सालबाट योजनाको काम सुरु भएको आयोजनाका कुनै पनि काम पूरा भएका छैन। खुर्कोटमा निर्माण पूरा भएका विभिन्न ठाउँका सडक ३ महिना नबित्दै भत्किएका छ।

गत आर्थिक वर्ष २०७५/०७६ को असार मसान्तमा निर्माण सम्पन्न भएका २६ सय मिटरको खुर्कोट–राताटार, बिपी राजमार्गको सोलाभज्यांगदेखि ऐतिहासिक सिन्धुलीगढीसम्म पुग्ने सडक, ९ सय मिटरको खुर्कोटको 'डी' टोल सडक निर्माण भएको नयाँ शहर आयोजना खुर्कोटका आयोजना उपप्रमुख सुदीप श्रेष्ठले बताए।

निर्माण भएका सडकमध्ये खुर्कोट–राताटार, बिपी राजमार्गको सोलाभज्याङदेखि सिन्धुलीगढीसम्म पुग्ने सडक भने निर्माण भएको ३ महिना पनि नबित्दै भत्किएका छन्। ‘गत वर्ष सडकका केही काम भएका छन्। जसअनुसार खुर्कोट–राताटार, सिन्धुलीगढीसम्म पुग्ने सडक निर्माण भएको थियो। तर, यस वर्षको वर्षायाममा पिच भएका यी सडक विभिन्न ठाउँमा भत्किएर क्षति भएको छ। 'भत्किएका सडक मर्मतका लागि सम्बन्धित ठेकेदारलाई पत्र पठाएका छौं’ आयोजना उपप्रमुख श्रेष्ठले बताए।

मध्य पहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको खुर्कोट, पाँचथरको फिदिम, तेह्रथुमको बसन्तपुर, धादिङको बैरेनी–गल्छी, तनहुँको डुम्रे भन्सार, बागलुङको बुर्तिवाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटन आधुनिक सुविधा सम्पन्न शहर बन्दैछन्।

नयाँ शहरमा एक/एक लाख मानिस बसोबास गराउन आवश्यक सम्पूर्ण सुविधा र पूर्वाधार विकास गरिनेछ। यसले शहर र तराईमा बसाइँसराइ कम गराउने विश्वास छ। खुर्कोट र बुर्तिवाङ साँघुरो भएकोले एक लाख जनसंख्या नअटाउने बताइएको छ। आयोजना सुरु भएको ८ वर्ष बितिसक्दा पनि आशा लाग्दो गरी कुनै पनि काम नभएको खुर्कोटका स्थानीयको भनाइ छ।

आसपासका अव्यवस्थित बस्तीसमेत समेटेर ०९० सालसम्ममा खुर्कोटसहित देशका दश वटै शहर आधुनिक र सुविधा सम्पन्न भइसक्ने योजना सरकारको छ। नयाँ शहरमा सडक, खानेपानी, खेलकुद मैदान, बसपार्क, आधुनिक बस्ती, पार्क, स्कुल, कलेज, अस्पताल, तरकारी तथा फलफूल बजार, औद्योगिक क्षेत्रलगायत पूर्वाधार निर्माणका काम भइरहे पनि खर्कोटमा कुनै पनि पूरा भएका छैनन्।

खुर्कोटमा केही सडक बनाउने काम, कलेज बनाउने काम, बस बिसौनी र सडक छेउछाउमा सोताल बत्ती जडानको केही काम भएको आयोजना उपप्रमुख श्रेष्ठले जानकारी दिए। बाँकी खेलकुद मैदान, बसपार्क, फोहोरमैला व्यवस्थापन, पार्क, तरकारी तथा फलफूल बजार, औद्योगिक क्षेत्रका लागि जग्गा उपलब्ध नहुँदा काम अगाडि बढ्न नसकेको उनले बताए।

‘खेल मैदान, बस पार्क, फोहोरमैला व्यवस्थापनका लागि बजेट आएको छ। तर जग्गा नहुदाँ काम हुन सकेको छैन्। यसले पनि अहिले समस्या भएको छ’ उनले भने।

प्रत्येक शहरमा २ सयदेखि ४ सय रोपनी क्षेत्रफल जमिनमा जग्गा एकीकरण कार्यक्रम ‘ल्यान्ड पुलिङ’ को काम भइरहेको छ। खुर्कोटमा पनि जग्गा एकीकरणको काम सुरु भए पनि पूरा भएको छैन्। जग्गा एकीकरणको लागी स्थानियबाट ६ सय ६८ रोपनी जंग्गा लिई किनबेच रोक्का गरिएको छ।

किनबेच रोक्का गरिएको जग्गामा लामो समयसम्म जग्गा एकीकरणको काम अगाडि नबढ्दा स्थानीयले खेतबारीमा खेतीपाती गर्न सुरु गरेका उनको भनाइ छ। ‘प्लानिङअनुसार ‘ल्यान्ड पुलिङ’ को काम अझै हुन सकेको छैन्। ६६८ रोपनी जग्गाको केही ठाउँमा सडक ट्रयाक खन्ने काम भएको छ। स्थानीयले अब काम नहुने हो कि भन्ने सोचेर होला कतिपयले आफ्नो जग्गामा बाली लगाउन थालिसके। अब हामीले अहिले बाली नलगाउनूस् काम भइहाल्छ भन्ने अवस्था पनि छैन्’ उनले सुनाए।

नयाँ शहरले बाह्य क्षेत्रसँग सम्बन्ध बढाउन मद्दत गर्ने भएकाले आसपासका ठाउँ र जिल्लामा समेत यसको सकारात्मक प्रभाव पर्ने आयोजना कार्यालयले जनाएको छ। नयाँ शहरको सूचीमा परेपछि खुर्कोटमा पहिलाको तुलनामा अहिले केही चहलपहल बढेको छ। होटेल, अस्पताल, स्कुल खोल्ने क्रम बढ्न थालेको छ।

खुर्कोट आधुनिक सुविधा सम्पन्न शहर बनेपछि सिन्धुलीसहित रामेछाप, दोलखा, ओखलढुंगासम्मका मानिसले सुविधा पाउनेछन्। यहाँ हुने अस्पताल, स्कुल, कलेजलगायतका सेवाले खुर्कोट केन्द्रविन्दू हुने स्थानीयको अपेक्षा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.