|

म्याग्दी : बर्खा सकिएको छ। मौसम भ्रमणका लागि अनुकूल बन्दै छ। दशैं तिहार र छठ पर्वको लामो बिदा पनि नजिकिँदै छ। बिदाको सदुपयोग गर्न कतै भ्रमण गर्ने विचार गर्नुभएको छ भने तपाईंलाई स्वागत गर्न आतुर छ राउण्ड अन्नपूर्णको प्रमुख पर्यटकीयस्थल रोमान्टिक पुनहिल र भर्जिन घोडेपानी। आउनुहोस् स्वागतका लागि तम्तयार छन्। शारदीय शोभासहितका घोडेपानी पुनहिल र उत्तरतर्फका सेताम्ये हिमालय पर्वतहरु।

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने घोडेपानी र पुनहिलबाट आँखै अगाडी हिमशृंखला र सूर्योदयको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। स्थानीयले घोडेपानी हुँदै पुनहिल पुग्न पदमार्ग निर्माण गरेका छन्। पुनहिलका संस्थापक स्वर्गीय टेकबहादुर पुनको स्मृतिमा भ्युटावर निर्माण भएको छ।

गाउँका विभिन्न नाकामा प्रवेशद्वार बनाइएका छन्। पर्यटकलाई आकर्षित गर्न पुन मगरहरूको ऐतिहासिक र सांस्कृतिक पहिचान झल्काउने मगर संग्रहालय पनि सञ्चालनमा ल्याएका छन्। साच्चिकै मनमोहक छ पुनहिल र मोहनी लगाउन आतुर छ घोडेपानी।

समुन्द्री सतहबाट ३ हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा शरद ऋतुको सुरुवातसँगै पर्यटकको भीड लाग्ने गर्छ। अन्नपूर्ण संरक्षण क्षेत्रको गुराँसे जंगलमा १९ प्रजातिका गुराँस पाइन्छ। घोरेपानीदेखि १ घन्टाको पैदल दूरीमा उकालो हिँडे पनि पुगिने पुनहिल पहिले सामान्य पहाडी टाकुरा थियो। पर्यटक आउने क्रम बढ्न थालेपछि खिवाङका मेजर टेकबहादुर पुनले २०२१ सालमा डाँडालाई पुनहिल नामकरण गरेका हुन्।

भर्जिन हिमालको दृश्‍य

पुनहिलमा उभिँदा हात अघि बढाए छोइएलाझैं लाग्ने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमालको सौन्दर्य तिनै भर्जिन हिमाल हेर्न संसारका लाखौं पर्यटक घोडेपानी अर्थात् पुनहिल पुग्ने गर्छन्। तिनै पर्यटकलाई सेवा र सहयोग गर्न आवश्यक सुविधा चाँजोपाँजो मिलाउन घोडेपानीका होटल व्यावसायी लागि परिरहन्छन्। घोडेपानीका होटल व्यवसायी मगर जातिका छन्। उनीहरू सधैं पर्यटकको खानपान, खाजानास्ता र बासका लागि व्यस्त हुन्छन्। उनीहरूको दैनिक कार्य नै पर्यटक सेवामा लाग्नु हो।

हिमाल र गुराँसकै कारण घोडेपानी अर्थात् पुनहिल संसारभरि चिनिएको छ। हिमाल घोडेपानी र पुनहिलको समृद्धि र विकासको लागि पर्यटन व्यवसाय जोडिएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घोडेपानी अर्थात् विश्वचर्चित अन्नपूर्ण र पुनहिल।

पर्यटकलाई प्यारो ठाउँ

घोडेपानी हिमाल, गुराँस र प्राकृतिक सौन्दर्यका कारणले पर्यटकलाई प्यारो र आफ्नै जस्तो लाग्ने गरेको छ। घोडेपानीका पर्यटन व्यावसायी केबल पैसा कमाउन र पर्यटनलाई व्यावसायसँग जोड्न मात्र होइन पर्यटकको सेवा र सहयोग गर्न पनि गर्छन्। घोडेपानीबाट पुनहिल जानका लागि उकालो चढ्ने क्रममा कोही बिरामी अशक्त वा घाइते भयो भने आफैंले बोकी पुनहिलसम्म पुर्‍याउँछन्। बिरामीलाई अस्पतालसम्म लैजानु र सारो गाह्रो परेका पर्यटकलाई सहयोग पनि गर्छन्।

प्रकृतिको सदाबहार सौन्दर्य, हिमशृंखलाको चुम्बकीय आकर्षण र स्थानीय सहयोगी र सेवा प्रधान भावनाले घोडेपानी र पुनहिलको समृद्धि चुलिँदै गएको छ। पर्यटकका लागि मगर, गुरुङ बस्ती, कला, संस्कृति जीवनशैली, हिमशृंखला, सूर्योदय, लालीगुराँस जंगल पदमार्गको मुख्य विशेषता हो। घान्द्रुक घोडेपानी क्षेत्रमा चिनियाँ, फ्रेन्च, कोरियन र मलेसियन पर्यटक बढी मात्रामा पुग्ने गरेका छन्।

म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङ जिल्लालाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्र भ्रमण गर्न पछिल्लो समय सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति १ हजार र तेस्रो मुलुकका पर्यटकलाई प्रतिव्यक्ति ३ हजार शुल्क लिने गरिएको छ। घोडेपानीमा जति पनि पूर्वाधारहरू निर्माण भएका छन्। त्यसमा सरकारको लगानी थोरै र स्थानीयको श्रम बढी छ।

कसरी पुग्‍ने घोडेपानी?

कास्कीको पोखरा–नयाँपुल, घान्दु्रक हुँदै घोरेपानी तथा म्याग्दी सदरमुकाम वेनी–तातोपानी, घारा, शिख हुँदै घोरेपानी र नागी–महरेडाँडा हुँदै पुनहिल जान सकिन्छ।

अन्नपूर्ण पदयात्रा मार्ग सुरु भएपछि बाटो हिँड्ने पर्यटकका लागि चिया, नास्ता खुवाउन खुलेका साना होटलले पर्यटकको बाक्लो आगमन बढ्दै गएपछि आजभोलि सुविधासम्पन्न होटल बनेका छन्। पर्यटक आगमन बढ्न थालेपछि प्रहरीले सुरक्षाका लागि गस्ती गर्न थालेको छ। अन्नपूर्ण पदयात्रा मार्ग विश्वका उत्कृष्ट १० गन्तव्यभित्र पर्छ।

म्याग्दीको घोडेपानी, पुनहिल, कास्कीको घान्द्रुक, लान्द्रुक, एबीसी क्याम्प, घम्पुसलगायत पर्यटकीयस्थल पदयात्राको आकर्षण बनेको छ। वीरेठाँटीबाट भित्रिएका आधाजसो पर्यटक छोमरोङ हुँदै अन्नपूर्ण आधारशिविर अर्थात् एबीसी पुग्ने गर्छन्।

पदयात्रामा जाने पर्यटकको आवास र खानाका लागि घोडेपानीमा सुविधासम्पन्न होटल सञ्चालनमा छन्। पर्यटक आगमन बढ्दै गएपछि होटल व्यवसायीले समेत सेवा सुविधालाई गुणस्तरीय बनाउँदै लगेका छन्। घोडेपानीका होटल व्यवसायीले होटलको क्षमता विस्तार गर्दै लगेका छन्। पर्यटकलाई खान र बस्नको कुनै समस्या छैन। पर्यटकलाई आरामदायी बसाईलाई ध्यानमा राखेर होटल व्यवसायीले सेवा दिँदै आएका छन्।

खर्चिलो यात्रा

म्यग्दीका अरु पर्यटकीय स्थानको तुलनामा घोडेपानी र पुनहिल अलि बढि खर्चिला छन्। यहाँ एक रातका लागि रु ७ सय देखि २ हजारसम्मका कोठा पाइन्छन् भने खाना र नास्तामा दैनिक एक हजारदेखि २ हजारसम्म खर्च हुन्छ।

घोडेपानी र पुनहिल क्षेत्रको भ्रमणमा वार्षिक ६५ हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका छन्। पर्यटकलाई थप आकर्षित गर्न पदमार्गलाई नियमित सरसफाइ गर्ने व्यवस्था गरिएको छ भने प्लास्टिकमुक्त बनाइएको छ। घोडेपानीबाट पुनहिलसम्म पुग्ने बाटो र भ्यु प्वाइन्टमा आराम कुर्सी राख्नेसमेतका पूर्वाधार होटल व्यवसायीले गरेका छन्। भ्यु प्वाइन्टको आराम कुर्सी बसेर हिमालको दृश्यावलोकन गर्न पाउँदा पर्यटक आकर्षित हुने गरेका छन्।

घोडेपानीमा सानाठूला गरी ३० वटा होटलमा ४ सय बेड क्षमता भएका होटल छन्। तर, कहिलेकाहीँ धेरै पर्यटक भएपछि होटलको आँगनमा टेन्ट राखेर पनि पर्यटकलाई बास दिने गर्छन्।

घोडेपानी पुगेका धेरै पर्यटक हिमाली पारीको पर्यटकीय जिल्ला मुस्ताङको प्रवेशद्वारका रूपमा चिनिएको म्याग्दीमा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, अन्नपूर्ण धौलागिरि, धौलागिरि सेञ्चुरी, धौलागिरि चक्रीय, धौलागिरि आइसफल, टोडके, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत विभिन्न धार्मिक, प्राकृतिक र ऐतिहासिक स्थलको भ्रमणमा पर्यटक पुग्ने गर्छन्।

पदमार्ग र सूचना प्रविधिको सुविधा

म्याग्दी अन्नपूर्ण गाउँपालिकाका नारच्याङ, शिख–पाउद्वार, खिवाङ, हिस्तान, राम्चे, नागी र पर्वतको जलजला गाउँपालिकाको बाँसखर्कका समुदाय मिलेर अन्नपूर्ण–धौलागिरी सामुदायिक पर्यापदमार्ग सञ्चालनमा ल्याएका छन्। यो पर्यापदमार्ग १४ दिने, ६ दिने र आठदिने छुट्टाछुट्टै प्याकेजमा पर्यटकले यात्रा गर्न सक्ने पदमार्ग सूचना प्रविधिमैत्री पनि छ।

बेनीबाट सुरु हुने पदमार्ग नागी, महरे, फूलबारी, हिस्तान, स्वाँता, खोप्रा र खयरवराह तालसम्म पुग्न सकिन्छ। अन्नपूर्ण–धौलागिरि सामुदायिक पर्यापदमार्गलाई चक्रीय अन्नपूर्णका प्रख्यात पदमार्ग घोडेपानी, तातोपानी र घान्द्रुकबाट पनि जोडिएको छ। सूचना प्रविधियुक्त सजिलो र छोटो पदयात्राका लागि यो गन्तव्य उपयुक्त छ।

बेनी–नागी–महरे पदमार्ग टी हाउस र क्याम्प ट्रेकको मिश्रण हो। समुदाय मिलेर निर्माण गरेको पदमार्गले बाटो सजिलो मात्रै होइन, पदयात्रीका लागि खान, बस्न सुविधा उपलब्ध गराउँदा आम्दानी पनि राम्रो भएको छ। मगर जातिको बाहुल्य रहेको पदमार्ग्भित्रका बाँसखर्क, नागी, टिकोट, खिवाङ, स्वाता र नारच्याङलगायतका गाउँमा पर्यटक बस्नलाई टी–हाउस, क्याम्पेनिङ र होमस्टेको सुविधा पनि छ।

होटलको क्षमता विस्तार

राउण्ड अन्नपूर्ण पदमार्ग अन्तर्गतको उत्कृष्ट गन्तव्यस्थल विश्वचर्चित पर्यटकीय क्षेत्र घोडेपानीमा होटलको क्षमता विस्तार भएपछि एकैरातमा ९ सय जनासम्म वास बस्न सक्ने भएका छन्।

घोडेपानीका व्यवसायीहरुले होटलको क्षमता विस्तार गरेका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ मा पर्ने घोडेपानी र पुनहिलको भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि हुनथालेपछि यहाँका होटल व्यवसायीहरुले क्षमता विस्तार गर्न थालेका हुन्।

प्रदेश राजधानी पोखरा भएसँगै यहाँ आउने पर्यटकको संख्यामा पनि वृद्धि हुने आशा गरिएको हुँदा व्यवसायीहरु हेटलको क्षमता विस्तारमा लागेको होटल व्यवसायीहरुले बताएका छन्। पहिले यहाँका होटलहरुको क्षमता दैनिक ६ सय  जना थियो।

पहिले पर्यटकले कोठा नपाउने समस्या थियो। होटलको क्षमता विस्तार गरेपछि यो समस्या हटेको छ। केही वर्ष पहिलेसम्म घोडेपानीका होटल भरिभराउ हुँदा नजिकैका ठाउँमा पुग्नुपर्ने समस्या थियो। नयाँ खुलेका पिस एक्सीलेन्ट र आशा होटलमा २०/२० वटा कोठा छन् ।

गाडी चढेरै घोडेपानी

राउण्ड अन्नपूर्णको प्रमुख पर्यटकीय गन्तव्य स्थल मानिने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानीमा सडकको पहुँच पुगेसंगै अव मोटर चढेर नै पुग्न सकिने भएको छ।

अन्नपूर्ण गाउँपालिका र प्रदेश सरकारको सहयोगमा चित्रेदेखि घोडेपानी जोड्ने सडक निर्माण भएपछि मोटर चडेर प्रशिद्ध पर्यटकीयस्थलमा पुग्न सकिने भएको हो।

प्रदेश सरकारको ३२ लाख ७० हजार र अन्नपूर्ण गाउँपालिकाको १५ लाख रुपैयाँको लागतमा पाँच किलोमिटर सडक निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष बिरेन पुनले जानकारी दिए। प्रदेश पूर्वाधार विकास कार्यालयले ५३ लाख ४० हजार रुपैयाँ लागत अनुमान गरे पनि जन श्रमदानसहित ३६ लाख ३८ हजार रुपैयाँमा लक्षित सडक निर्माण गरेको उनले बताए।

पदमार्गलाई असर नपर्ने गरी सडक

समाजको आवश्यकताले पर्यटकीय पदमार्गलाई असर नपुग्ने र नमासिने गरी सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए। घोडेपानीदेखि पोखरा–बागलुङ भूपि शेरचन राजमार्गमा पर्ने नयाँ पुललाई सडकले जोड्ने योजना छ। कास्की तर्फबाट म्याग्दीको सिमानामा पर्ने वनठाँटी नजिकैको बस्ती उल्लेरीसम्म सडक निर्माण भइसकेको छ। उल्लेरीदेखि घोडेपानीको दूरी करिब १५ किलोमिटर छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रे जोड्ने १८ किलोमिटर पाँच सय मिटर सडक कालोपत्रे गर्ने लक्ष्यसहित आयोजना सञ्चालन गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.