मासिक कमाइ १५ हजार

|

बारा : बाराको निजगढकी एक मात्र महिला चालक हुन् - निर्मला पराजुली। तीन वर्षदेखि मयूरी चलाउँदै आएकी निर्मलाले मासिक रूपमा १५ हजारसम्म कमाइ गर्दै आएकी छिन्। साइकल चलाउन नसक्ने महिलाले मयूरी चलाएको देख्दा उनको जीवनमा ठूलै परिवर्तन आएको महसुस गर्छिन् उनी।

कसरी बनिन् चालक

एक दिन बजार जाने क्रममा गाउँकै पुरुष मयूरी चालकले चलाएको मयूरी चढेर जानेक्रममा उनले कसरी मयूरी चलाउने भनेर जिज्ञासा राखिन्। मयूरी चलाउन सजिलो हुन्छ, ब्रेक हातमै हुन्छ भनेर थाहा पाएपछि उनले घरमा श्रीमानसँग मयूरी किन्दिनु म चलाउँछु भनेर प्रस्ताव राखिन्।

मयूरी किनेपछि निर्मलाले एकै दिनमा मयूरी चलाउन सिकिन्। ‘१५ दिन अलि गाह्रो भयो,’ निर्मलाले भनिन्–'त्यसपछि बानी पर्‍यो।’ बाटो राम्रो नभएकाले मयूरी चलाउन अप्ठेरो हुने गरेको गुनासो गरिन्।

पहिलेभन्दा अहिले हेर्न नजरमा फरक

घरकै चुलोचौकोमा सीमित भएर बसेकी निर्मलाले मयूरी चालक भएर स्वरोजगार भएपछि समाज र घरपरिवारले हेर्ने दृष्टिकोणमा समेत फरक भएको महसुस गरेको बताइन्। ‘कमाई भएपछि हेर्ने धारणा र सोचाइमा भिन्नै भएको छ,’ निर्मलाले भनिन्।

राति ८ बजेसम्म

राति ८ बजेसम्म मयूरी चलाएको अनुभव सुनाउँदै निर्मलाले ग्राहकको फोन आउँदा बिहानै ४ बजे नै मयूरी लिएर निस्केको पनि बताइन्। पुरुष सहकर्मी चालकबाट उनले सहयोग नै पाएको जनाइन्। ‘मयूरीमा यात्रु मात्र नभई सरसामान पनि बोक्नुपर्छ,’ निर्मलाले भनिन्–त्यस्तो बेलामा सामान चढाउँदा र झार्दा अलि अप्ठेरो हुन्छ।’

मासिक १५ हजार कमाई

निर्मला दैनिक ५ सयसम्म कमाइ गरिन्छन्। ‘मासिक १५ हजारसम्म कमाई हुन्छ। त्यसबाट मासिक किस्ता तिर्न र घर परिवार चलाउन सजिलो भएको छ,’ निर्मलाले भनिन्, 'पहिलो भन्दा अहिले प्रतिस्पर्धा बढेको छ। पहिले अलि बढी कमाई हुन्थ्यो।’

पति स्थानीय विद्यालयमा कार्यालय सहायक छन्। उनको पाँच जनाको परिवार छ।

अरूलाई पनि सिकाउने मन

धेरै महिला बेरोजगार भएर घरमै सीमित भएर बसेका छन्। उनी महिलाहरूलाई मयूरी सिकेर स्वरोजगार हुन आग्रह गर्छिन्। ‘सिक्छु भन्नेलाई मयूरी किन्नुस् म सिकाइ दिन्छु,’ निर्मलाले भनिन्, ‘महिलाका लागि ड्राइभिङ तालिम पनि आएको थियो सिकेकाहरूले पनि मयूरी चलाएका छैनन्।’ निर्मलालाई अरू महिलाले पनि मयूरी चलाए भने आफूलाई चोकमा यात्रु कुरेर बस्दा साथी भए हुन्थ्यो भन्ने लाग्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.