'गेटा विमानस्थलको स्तर उन्नति हुन्छ'

|

धनगढी : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सरकारले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा बन्द अवस्थामा रहेका विमानस्थलहरू सञ्चालनमा ल्याइने तयारी गरिरहेकाे बताएका छन्। 

शनिबारबाट कैलालीको टिकापुरमा सुरु भएको डल्फिन महोत्सवको उद्घाटन गर्न आएका मन्त्री भट्टराईले सुदूरपश्चिम प्रदेशका सबै विमानस्थलहरू सुचारु गरिने बताए। कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रम मन्त्री भट्टराईले गेटा विमानस्थाल सुधार गर्ने र सुदूरपश्चिम प्रदेशमा बन्द अवस्थामा रहेका विमानस्थलहरू सुचारु गर्ने बताएका हुन्।

‘गेटा विमानस्थलको स्तर उन्नति गर्नुपर्ने छ। बिस्तार गर्नुपर्ने छ’ उनले भने, ‘त्यो हामीले हाम्रो कार्यक्रममा राखेका छौँ। हामी बन्द अवस्थामा रहेका सबै विमानस्थलहरू सुचारु गर्ने प्रक्रियामा लाग्छौँ।’

मन्त्री भट्टराईले कैलालीको टीकापुर, कञ्चनपुर, बझाङ, बाजुरा डोटी, अछाम र  बैतडीमा बन्द रहेको विमानस्थललाई पनि सञ्चालन गर्ने बताएका हुन्। धनगढीमा ठूला विमानहरूलाई अवतरण गर्ने गरी विमानस्थल तयार गरिने समेत उनले बताए। उनले धनगढी विमानस्थललाई चौबिसै घण्टा सञ्चालन हुने गरी आधुनिकीकरण गर्न यसैवर्ष जग्गा अधिग्रहण गरिने पनि जानकारी दिए।

‘ठूला विमानलाई ल्याउने गरी हामीले तयारी थालेका छौं’ मन्त्री भट्टराईले भने, ‘त्यसको लागि जग्गा अधिकरण लगायतका काम गर्न हामीले बजेट विनियोजन गरेका छौँ।’ कार्यक्रममा मन्त्री भट्टराईले प्रत्येक प्रदेशका राजधानीमा रहेका विमानस्थललाई आधुनिकीकरण गर्ने योजना सरकारले अगाडि सारेको बताए।

सरकारले आगामी वर्ष मनाउन लागेको भ्रमण वर्षलाई सफल बनाउन समेत उनले सबैलाई आग्रह गरे। निजी क्षेत्रले यस क्षेत्रमा पनि पर्यटन गतिविधि बढाउनु पर्ने उनले भनाइ थियो। ‘निजी क्षेत्रले पनि कार्यक्रमहरू गर्नु पर्‍यो। ’उनले भने, ‘यहाँको खप्तड, रामारोसन, कैलाश मानसरोवर प्याकेज बनाउनु पर्‍यो। त्यो बेच्नु पर्‍यो।’

उनले भारतका विभिन्न क्षेत्रहरूमा गएर प्रचार-प्रसार गर्न समेत सबैलाई आग्रह गरेका थिए। प्रदेश सरकारलाई लक्षित गर्दै मन्त्री भट्टराईले मठ मन्दिरमा जथाभाबी पैसा विनियोजन गर्न नहुने बताए। मठ मन्दिरको नाममा टुक्रे योजना बनाउनु भन्दा ठूला धार्मिक स्थालहरूको प्रचार प्रसार र प्रवर्द्धन गर्न आवश्यक रहेको उनले बताए।

‘पाँचसय, हजार मन्दिरलाई बजेट दिएर केही हुँदैन’ उनले भने, ‘केही महत्त्वपूर्ण योजना हेरेर प्रदेश सरकारले त्यसमा बजेट विनियोजन गरोस्।’ साना योजनामा बजेट नियोजन गर्ने काम प्रदेश सरकारको नभई स्थानीय सरकारको भएका कारण स्थानीय सरकारले गर्ने काममा प्रदेश सरकारले बाधा नपुर्‍याउन समेत उनले आग्रह गरेका थिए।

कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघ र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) ले सुदूरपश्चिम प्रदेशको पर्यटन प्रबर्द्धनका लागि भन्दै मन्त्री भट्टराईलाई १५ बुँदे मागपत्र पेस गरेको छ। 

माग पत्रमा धनगढी विकास स्थललाई क्षेत्रीय विमानस्थल बनाउनु पर्ने, पर्यटन बोर्डको प्रदेश कार्यालय स्थापना गर्ने, उत्तर दक्षिण सडक सञ्जाललाई बिस्तार गर्ने, भारतसँग जोडिएको सडक २ किलोमिटर ४ लेनको बनाउनु पर्ने लगायतका माग रहेका छन्। मागपत्र बुझ्दै मन्त्री भट्टराईले सुदूरपश्चिम प्रदेशको पर्यटन विकासको लागि महत्त्वपूर्ण कामहरू सुरु गर्ने पनि बताए।

यो मौका गुमाउनु हुँदैन

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले वर्तमान दुई तिहाइको सरकारले थुप्रै कामहरू गर्नुपर्ने बताएका छन्। नेकपाको कैलाली जिल्ला पार्टी कार्यालयमा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सत्तारुढ दललाई जनताले विश्वास गरेर मत दिएकाले यो मतको कदर गर्नुपर्ने बताएका हुन्। 

‘नेपाली जनताले ठूलो मौका दिएका छन्। काम गर्नको लागि यो काम गरेर देखाउनु पर्ने बेला आएको छ’ उनले भने, ‘अब हामीले काम गर्न सकेनौ भनेर जनताबाट छुट लिने अवस्था आउन दिन हुँदैन।’

जनताले विकास र समृद्धिको चाहना बोकिरहेको बेला सरकारले पनि विकास र समृद्धिलाई नै प्राथमिकता दिएर अघि बढिरहेको उनले बताए। तीव्र आर्थिक विकास र विकास निर्माणलाई सरकारले अगाडि बढाइरहेको उनले स्पष्ट पारे। अब भ्रष्टाचार, घुसखोरी र अनियमिततामा पूर्णरोक लगाउने गरी सरकार अगाडि बढिहरेको पनि उनको भनाइ थियो।

‘नागरिकले हामीबाट धेरै अपेक्षा गरेका छौँ' उनले भने,'हामीले भ्रष्टाचार, घुसखोरी र अनियमिततामा मात्रै पनि रोक लगायौ भने पनि नागरिकको केही अपेक्षा पूरा हुन्छ। संघीय सरकार त्यसतर्फ अगाडि बढिरहेको छ।’

सुदूरपश्चिम प्रदेशको एकता प्रक्रियाले पूर्णता पाएको भन्दै उनले खुसी व्यक्त गरे । उनले भने,‘एकता आवश्यक थियो। समयमा एकता टुङ्ग्याएकोप्रति म सुदूरपश्चिम प्रदेश कमिटीलाई केन्द्र कोतर्फबाट धन्यवाद पनि दिन चाहन्छु।’

मन्त्री भट्टराईले मुलुकभरि नै पार्टी एकता टुंगिएकाले अब पार्टी सुदृढीकरणतर्फ अगाडि बढ्ने बताए। उनले मुलुकमा रहेको सबै कम्युनिष्टहरूलाई एकता गरेर एउटै कम्युनिस्ट पार्टी बनाउन आवश्यक रहेको बताए। मन्त्री भट्टराईले विभिन्न संघर्षबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै समाजवादको स्थापना गर्ने नेकपाको उद्देश्य रहेको बताए।

मन्त्री भट्टराईले अब मुलुकमा एउटा मात्रै कम्युनिस्ट शक्ति रहने बताएका छन्। ठूला कम्युनिस्ट पार्टीको एकताले नयाँ सन्देश दिएको भन्दै उनले मुलुकमा रहेका अन्य साना कम्युनिस्ट पार्टीहरू बीच पनि एकता गरिने बताए। शनिबारै मन्त्री भट्टराईले धनगढीमा रहेको १०८ फिट अग्लो शिवपुरी उत्तर रामेश्वरम ज्योतिर्लिंगको अवलोकन निरीक्षण गरेका छन्।

मन्त्री भट्टराईले विश्व रामसार क्षेत्रमा रहेको घोडाघोडी तालको समेत अवलोकन गरेका छन्। कैलालीको टीकापुरमा सुरु भएको डल्फिन महोत्सव उद्घाटन गरेर मन्त्री भट्टराई शनिबार नै राजधानी फर्किएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.