|

बैतडी : बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणवाट ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको छ। चितुवाको आक्रमणवाट भदौ २० गते ज्यान गुमाएका शिवनाथ गाउँपालिका २ टाडीखर्कका ७ वर्षीय सुदीप मडैको परिवारलाई शनिबार राहत वितरण गरिएको हो। 

प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलसहित डिभिजन वन कार्यालय, सबै सुरक्षा निकाय, स्थानीय सरकार तथा जनप्रतिनिधिसहितको टोलीले राहत वितरण गरेको हो। डिभिजन वन कार्यालय, शिवनाथ गाउँपालिका र अमरगढी सामुदायिक वनले समान ५०/५० हजार गरी १ लाख ५० हजार रुपैयाँ राहत स्वरूपपीडित परिवारलाई हस्तान्तरण प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

वन कार्यालयको तर्फबाट पीडित परिवारलाई तत्कालका लागि ५० हजार राहत दिने र पछि १० लाखसम्म क्षतिपूर्ती दिने व्यवस्था रहेको डिभिजनल वन अधिकृत केशव पराजुलीले बताए। यस्तै, राहत वितरणका साथै  प्रभावित क्षेत्रका स्थानीय सरकार, पीडित पक्ष र स्थानीय बासिन्दासँग अन्तरक्रियासमेत गरिएको हो। अन्तरक्रियामा स्थानीय नागरिकले चितुवा नियन्त्रण तथा मार्नको लागी माग गरेका थिए। यसका साथै प्रभावित क्षेत्रमा विजुलीबत्ती नपुगेकोले विजुलीबत्ती पुर्‍याउन तथा तत्काल सोलारको व्यवस्था गर्न माग गरिएको  स्थानीय वीरेन्द्र महताले बताए।

स्थानीयको मागको सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले गृह मन्त्रालय शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु संरक्षण विभागसंग विज्ञ टोली पठाउनको लागि आग्रह गरिएको बताए। तल्लोस्वराड क्षेत्रमा चितुवाले फैलाएको आतंकका विषयमा जिल्ला प्रशासनले गम्भीर रूपमा लिएको समेत उनले बताए।

यसैबीच डिभिजन वन कार्यालय, नेपाल प्रहरी, सामुदायिक वन मिलेर आइतबारदेखि प्रभावित क्षेत्रमा समेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ। 

पछिल्लो समयमा मानव र वन्यजन्तुबीचको द्वन्द एक विकराल समस्या बन्दै गएको विज्ञहरूको भनाइ छ। यसको समाधानका लागि सरकारी तवरबाट विषेश पहल हुनुपर्नेमा समेत स्थानीय बासिन्दाले जोड दिएका दिए। बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाको आक्रमणबाट २०६८ सालदेखि हालसम्म २४ जनाले ज्यान गुमाइसकेको छन्। 

मानव र वन्यजन्तुबीचको द्वन्द्वले घटना निम्त्याउँदै

पछिल्लो समयमा बैतडीमा मानव र वन्यजन्तुबीचको द्वन्द बढ्दै गएको छ। खास गरेर चितुवा र मानवबीचको द्वन्द्व बढ्दै गएको डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत केशव पराजुलीको भनाइ छ। 'मानव र वन्यजन्तुको द्वन्द्वकै कारण मानव समुदाय पनि त्रासमा बाच्नु परीरहेको छ' उनले भने ‘वन्यजन्तुहरू बस्ने बासस्थान क्रमशः नष्ट हुँदै जान थालेपछि द्वन्द बढेको हो।’

चितुवा मात्रै नभएर पछिल्लो समयमा बाँदर, बदेल, स्याललगायतका जंगली जनावरले पनि मानवका विभिन्न क्रियाकलापमा बाधा पुर्‍याएको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ। 'वन्यजन्तुले बालीनालीमा समेत असर पार्न थालेको हो' उनले भने, ‘डिभिजन वन कार्यालयका अनुसार बैतडीमा वनजंगलको क्षेत्र बढ्दै गए पनि घनाजंगल भने घट्दै गएको छ। यसले गर्दा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ।’ 

वन्यजन्तु मानव वस्तीभित्र प्रवेश गरेर बाली, चौपाया र कहिले काहीँ मानवकै समेत हानीनोक्सानी गर्ने र मानिस पनि जंगली जनावरलाई पासो थाप्ने, शिकार गर्ने, विष खुवाउने आदि प्रयत्न गर्दै बदला लिन चाहने उनको भनाइ रहेको छ। त्यसको फलस्वरूप मानव र वन्यजन्तु बीचमा खाना र वासको लागि द्वन्द्व उत्पन्न भएको बताइएको छ। 

वन मन्त्रालयले चितुवा आक्रमणको कारण र व्यवस्थापनको नीति योजना बनाउनुपर्ने र यसको लागि वैज्ञानिक अनुसन्धान गरी व्यवस्थापनको विधि अपनाउर्ने अनुसन्धानकर्ता धीरेन्द्रबहादुर चन्दले बताए। कस्तो प्रकृतिको चितुवा छ भनेर पत्ता लगाउनका लागि  ‘स्वचालित क्यामेरा जडान गरेर पत्ता लगाउन सकिने उनको भनाइ छ।

चितुवा मार्ने प्रयास असफल 

चितुवा मार्ने प्रयास असफल  लगातार रुपमा तल्लोस्वराड क्षेत्रमा चितुवाको आक्रमण नरोकिएपछि स्थानीय प्रशासनले गएका वर्षमा चितुवा नियन्त्रण अर्थात् मार्ने प्रयास पनि गरेको भयो। तर, त्यो प्रयास सफल हुन सकेन्।  विस २०६९ असोजयता वन कार्यालयले पटकपटक हिंस्रक चितुवा नियन्त्रणमा लिने प्रयास गरे पनि असफल हुँदै आएको छ।

चितुवालाई नियन्त्रणमा लिन ठूलो संख्यामा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, वन्यजन्तु विशेषज्ञ खटिएको भए पनि नरभक्षी चितुवालाई भेटाउन नसकेको जिल्ला प्रशासनले जनाएको छ। चितुवा मार्नका लागि तल्लोस्वराडमा प्रहरी र वनरक्षकको टोली पठाएको भए पनि फेला पार्न नसकि फर्किने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.