|

कपिलवस्तु :  इशापूर्व तेस्रो शताब्दीका बेला सम्राट अशोकले गोटीहवामा बनाएको अशोक स्तम्भसँगै त्यहाँको अस्तित्व नै संकटमा परेको छ।

क्रकुछन्द बुद्धको जन्मस्थलको प्रमाणस्वरुप ऐतिहासिक महत्व बोकेको अशोक स्तम्भ अहिले अलपत्र अवस्थामा रहेको छ। अशोक स्तम्भ नै यसरी अलपत्र हुँदै जाँदा यो क्षेत्रको पुरातात्विक महत्व समेत संकटमा पर्दै जान थालेको छ।

अहिलेको कपिलवस्तु नगरपालिका ५ गोटीहवा गाउँमा क्रकुछन्द बुद्धको जन्म भएको प्रमाणित आधार पनि यो अशोक स्तम्भ रहेको पुरातत्वविद रामबहादुर कुँवरले बताए। यस क्षेत्रमा इसापूर्वदेखि चौथो शताब्दीसम्म मानव बस्ती रहेको प्रमाण यसै क्षेत्रबाट उत्खनन् गरिएका अवशेषहरूबाट प्रमाणित भएको पुरातत्वविद कुवँरले बताए।

गोटीहवा क्रकुछन्द बुद्धको जन्मस्थल, ज्ञान प्राप्त भएपछि पहिलो पटक आफ्ना पितालाई भेट गरेको स्थलको रुपमा परिचित छ। स्थायी जगमा अडिएको यस स्तम्भको माथिल्लो भाग भाँचिएर हालसम्म फेला परेको छैन। जगदेखि भाँचिएको टुप्पोसम्मको उचाइ ३ मिटर २५ सेन्टिमिटर रहेको छ।

जग र टुप्पोमा गोलाइ क्रमशः ८३ सेन्टिमिटर र ७९ सेन्टिमिटर रहको छ। गोटीहवा गाउँको बीचमा एउटा प्राचीन इनार रहेको छ। दक्षिणतर्फ एउटा प्राचीन पोखरी समेत रहेको छ।

विख्यात चिनियाँ यात्री फा शियन (५औं शताब्दी) र  ह्युमन साङ्ग (७ औं शताब्दी) ले आफ्नो यात्रा वर्णनमा गोटीहवा पुगेको उल्लेख गरेका छन्। ह्युमन साङ्गको यात्रा विवरणका अनुसार अशोक स्तम्भको टुप्पोमा सिंहको आकृति रहेको र त्यो शिलालेखमा यो ठाउँ क्रकछन्द बुद्धको जन्म तथा बुद्धत्व प्राप्ति भएको स्थलको रुपमा व्याख्या गरिएको छ।

अनुसन्धानकर्ता डा. एलए वाडेलको उत्खननबाट स्तुप २२ मिटर ब्याससहितको गोलाकार भएको उल्लेख छ। स्तुपको वरिपरि परिक्रमा मार्ग पनि रहेको पाइएको छ। तिलौराकोटलाई प्रमाणित गर्ने ऐतिहासिक प्रमाणको रुपमा रहेको गोटीहवा अशोक स्तम्भ अहिले यो वर्षाको समयमा पानीमा डुबेको छ। ढुंगाले बनेको स्तम्भ पानीमा डुब्दा सिपेज भई साल्ट एक्सन हुँदा क्षयीकरण हुने पुरातत्वबिदहरू बताउँछन्।

स्तम्भ खाल्टोमा रहेकोले सामान्य वर्षा हुँदा डुब्ने गरेको वडा अध्यक्ष दीरेप चौधरीले बताए। ‘हल्का वर्षा हुँदा पनि स्तम्भ डुब्ने गरेको छ। वर्षौंदेखिको यो समस्या समाधान गरिएको छैन’ उनले भने। पुरातत्वबिद बसन्त बिडारीले स्तम्भ पानीमा डुब्दा त्यसलाई क्षति पुग्ने बताउछन्।

‘पानीमा डुब्दा क्यापिलरी एक्सन हुन्छ’ वरिष्ठ पुरातत्वविद वसन्त विडारीले भने, ‘त्यसले ढुंगालाई असर पुर्‍याउछ। ढुंगाले पानी सोस्छ ’ उनले भने, ‘स्तम्भ कमजोर बनाउदै लगेको छ। टुटने फुट्ने संभावना बढ्छ। तर संरक्षणमा ध्यान नदिँदा कमजोर बन्दै गएको छ। संरक्षण र विकासको जिम्मेबार निकाय लुम्बिनी विकास कोष भने यसतर्फ कुनै ध्यान नदिएको स्थानीय रामराज चौधरीले बताए।

‘जमिनको सतह भन्दा स्तम्भ तल छ’ लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले भने, ‘पानी पर्ना साथ स्तम्भ डुब्छ। स्तम्भ भएको ठाउँमा खाल्टो छ', उनले भने। पानी जमेर स्तम्भ ३ फिट जति डुब्छ। बढी पर्‍याे भने ५ फिट जति डुब्छ। स्तम्भ २ दशकबाटै डुब्दै आएको छ। स्तम्भलाई जियोटेक्सटाइल कपडाले बेरी बालुवाले खाली च्याम्बरलाई पुरेर स्तम्भ संरक्षण गरिएको पुरातत्व अधिकृत उप्रेतीले बताए।

‘तलको भाग त्यसै पनि असुरक्षित थियो’ स्थानीय रामेन्द्र चौधरीले भने, ‘माथिको भागलाई सक्दो छिटो संरक्षण गर्नुपर्छ। नभए मक्किएर जीर्ण भई ढल्छ। सिंगों बौद्ध इतिहासको प्रमणलाई संरक्षण गर्न नसक्नु दुःख कुरा हो।’ 

पुरातत्व विभागसँग समन्वय गरेर संरक्षणको योजना बनाइरहेको लुम्बिनी विकास कोष योजना प्रबन्धक सरोज भटराईले बताए। भारतीय सम्राट अशोक बुद्धस्थलको तीर्थाटन गर्न आउँदा यहाँ आएका थिए। उनले चिनोका रुपमा उक्त स्तम्भ बनाएका हुन्।

गोटीहवा भगवान बुद्ध भन्दा पहिलेका क्रकुछन्द बुद्धको जन्मस्थल र निर्वाणस्थल हो। ‘त्यही भएर यस्तो महत्वपूर्ण स्थलको सम्राटले भ्रमण गरे’ बयोबृद्ध बुद्धमार्गी तेजकुमार बौद्धाचार्य भने, ‘स्मरण गर्न चिनो राखे। तर त्यही चिनोलाई हामी संरक्षण गर्न नसक्नु दुःखत कुरा हो', उनले भने। सम्राट अशोकले लुम्बिनी, निगालीकोट र गोटीहवामा स्तम्भ निर्माण गरेका थिए।

भारतले बिवाद खडा गरेका बेला अशोक स्तम्भले प्राचीन कपिलवस्तुको तिलौराकोटको ऐतिहासिकता पुष्टि गर्न स्तम्भ महत्वपूर्ण प्रमाण रहेको पुरातत्वबिदहरूको भनाइ छ। यता अति महत्वपूर्ण यो बौद्धस्थलको संरक्षण हुन नसक्दा दिन प्रतिदिन गौचरन र स्थानीय केटाकेटीको लागि खेल मैदान बनेको छ।

‘यसको संरक्षणको लागि ठूलो रकम आवश्यक पर्ने भएका कारण हामीले लुम्बिनी विकास कोष र प्रदेश सरकारलाई अनुरोध गरेका छौँ’, वडा अध्यक्ष चौधरीले भने, ‘यो हाम्रो वडाको महत्वपूर्ण पुरातात्विक पर्यटकीयस्थल हो। यसको विकासका लागि हामी वडाबाट पनि विशेष कार्यक्रम बनाउँछौँ।’

उता यसवर्षको कार्यक्रममा लुम्बिनी विकास कोषले गोटीहवा संरक्षणका लागि केही बजेट छुट्याएको र गोटीहवा क्षेत्रमा जग्गा अधिग्रहण एवं अन्य संरक्षणका काम गरिने लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.