|

सिन्धुपाल्चोक : बस्तीमाथिको पहिरो र बस्ती तलको कोशी–कटानले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २ तातोपानीको चोकीडाँडाका १० घर–घरिवार विस्थापित भएका छन्।

अन्य २० घर उच्च जोखिममा परेका छन्। दैनिक पानी परिरहेकाले माथिबाट पहिरो झरेको र तलबाट भोटेकोशी नदी कटानले तानिरहेको हुँदा स्थानीय विस्थापित भएका छन्।  केही दिनअघि गाउँमाथिबाट आएको पहिरोले स्थानीय यमबहादुर खड्काको भान्छा कोठा पुरिएको थियो।

पहिरोसँगै खसेको अजङ्गको ढुंगा घरभन्दा केहीमाथि अड्किएर बसेपछि भयभित हुँदै स्थानीय सङ्गी शेर्पा, कालु तामाङ, नुर्पू शेर्पा, निङ्मार शेर्पा, हेमबहादुर गुरुङलगायत १० परिवार भागेर अन्यत्र सुरक्षित ठाउँमा आश्रम लिएर बसेका छन्। अड्किएर बसेको ढुंगा कतिबेला खसेर क्षति पुर्‍याउँछ भन्ने डरले आफू पनि तातोपानी बजारमा बस्न थालेको स्थानीय भीमबहादुर मगरले बताए।

पहिरोबाट विस्थापित परिवारलाई पालिकाले नै भाडा व्यहोर्ने गरी सुरक्षित ठाउँमा कोठा खोजेर बस्न अह्राएको र विपद् व्यवस्थापन समितिबाट पनि केही सहयोगको अपेक्षा राखिएको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए। त्यहाँ बसोबास गर्ने परिवार विसं २०३८ मा आएको बाढीबाटै सुकुम्वासी बनेका थिए।

तातोपानी बजार क्षेत्रको सार्वजनिक जग्गामा अस्थायी रूपमा टहरामा बस्दै आएकामा विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र २०७३ असार २१ को भोटेकोशी बाढीले विस्थापित भएपछि स्थानीय चौकीडाँडाको सार्वजनिक जग्गामा बस्दै आएका छन्।  तर, त्यहाँ पनि सीमा प्रहरी कार्यालयको भवन बन्ने भएपछि त्यहाँबाट पनि विस्थापित हुन पुगेकाले व्यवस्थापनका लागि प्रदेश ३ सरकारलाई पत्राचार गरिएको अध्यक्ष पौडेलले बताए।

भूकम्प र त्यसपछिका पराकम्पले थिलथिलो पारेको जमीनमा तातेपानीस्थित अरनिको राजमार्गबाट माथि रहेको कोदारी जाने ग्रामीण सडक खनेपछि झन् बाढी पहिरोको जोखिम बढेको वडासदस्य तेजबहादुर तामाङले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.