|

सिन्धुली : दुधौली नगरपालिका–६ भुताहीस्थित कमला निम्न माध्यमिक विद्यालय हाताभित्रै पक्की शौचालय छ।

पक्की भवनमा भएको शौचालय बाहिरबाट हेर्दा दिसापिसाव गर्न राम्रै होलाझैं लाग्छ। तर दिसा पिसाब गर्न ढोकाबाट भित्र छिर्न खोज्यो भने शौचालयभित्र छिर्ने आँट आउँदैन। ढोकादेखि नै फोहोरको थुप्रो छ।

शौचालयको प्यान दिसाले पूरै भरिएको छ। पिसाव गर्ने क्षेत्रमा समेत दिसाको थुप्रो छ। नाक थुनेर पिसाव फेर्छुभन्दा समेत नसकिने अवस्थामा छ शौचालय। बालबालिकालाई शिक्षादीक्षा दिने विद्यालयकै शौचालयको हालत किन यस्तो भनेर प्रश्न गर्दा पानीको अभावले गर्दा यस्तो समस्या भोग्नु परेको विद्यालयकाले जवाफ दियो।

पानीको अभावले सिन्धुलीको दुधौलीको नगरपालिका –६ भुताहीस्थित कमला निम्न माध्यमिक विद्यालयको शौचालय प्रयोगविहीन भएको छ।

दिशा लागे कमला नदीको बगर

विद्यालयमा भएको समयमा दिशा पिसाव लागेमा कहिले साथीको घरको शौचालय, कहिले नजिकैको कमला नदीको बगरमा गएर शौच गर्नुपर्ने बाध्यता रहेको कमला निमाविमा कक्षा ८ मा अध्ययरत छात्र सन्जीव दाहालले बताए।

उनले भने, ‘चर्पी फुटेको छ। पानी छैन। दिसा पिसाब लाग्यो भने नजिक घर हुने साथीहरु घरमै जान्छन्। कोही साथीको घरमा गएर गर्छन्। कोही कमला नदी तिर जाने गरेका छन्। पानी नभएर चर्पीमा भएको दिसा पिसाव नपखालेर सुकेर बसेका छन्।’

०७० सालमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुलीले बनाइदिएको नमुना शौचालय लैगिंकमैत्री छ। तर जताततै छरिएर रहेका दिसा पिसाले दुर्घन्धित हुँदा शौचालयभित्र एक मिनेट बस्न सक्ने अवस्था छैन।

पढाइ छाडेर शौचालय

अचनाक विरामी भई झाडापखाला लाग्दा पनि कि त आफ्नै घरको शौचालय कि त नजिकको साथीको घरको शौचालय जानुपर्ने बाध्यता रहेको अर्का विद्यार्थी छात्रा सुस्मिता दाहालले गुनासो गरिन्। ‘केटा साथीहरुले त खुल्ला ठाउँमा पनि शौचालय गर्न सक्छन्।

यही शौचालयमा पनि कति साथीहरुले त बाध्यताले पनि गर्छन्। तर हामी केटीहरुको लागि धेरै समस्या छ। बाहिर खोलातिर गएर खुल्ला ठाउँमा गर्न पनि मिल्दैन्। कति साथीहरुले त पढाई नै छाडेर पनि शौचालय गर्न जानुपर्ने बाध्यता छ’ उनले सुनाइन्। 

कहिले झाडी पस्यो कहिले गाउँ

शौचालयको समस्या पटकपटक विद्यालयलाई भन्दा पनि विद्यालयले अहिलेसम्म सुनुवाइ नगरेको विद्यार्थीहरुको भनाइ छ। पानी अभावले शौचालय सफा गर्न नसकेपछि फोहोर भएको हो। शौचालय फोहोर भएपछि  विद्यार्थीलाई मात्रै होईन सोही विद्यालयका शिक्षकहरूलाई समेत समस्या परेको छ।

पुरुषहरूले खुला ठाउँमा पनि शौचालय गर्न सहज भए पनि महिलाहरूलाई समस्या हुने गरेको सोही विद्यालयका शिक्षिका तुलसी माया मगरले बताइन्। ‘प्यान पनि फुटेको छ। पानी पनि छैन फोहोर त्यतिकै छ। दिसापिसाब लागिहाल्छ कहिले झाडी पस्यो कहिले गाउँ। तर पनि महिलाहरुलाई त समस्या नै छ’ उनले भनिन्।

प्रअ भन्छन् : मोटर नभएर समस्या

शौचालय बनाएकै बेलामा पानीको लागि इनार पनि खनिएको थियो। तर इनारबाट शौचालयसम्म पानी ल्याउने पाइप र पानी तान्ने मोटर नभएकाले विद्यालयमा पनि ल्याउन नसकिएको विद्यालयका प्रधानाध्यापक यज्ञप्रसाद वाग्लेले बताए।

विद्यालयको स्रोत नभएकाले पानी तान्ने मोटर र पाइप ल्याउन नसक्दा पानीको अभाव भएको उनको भनाइ छ। अहिले सोही शौचालयमा बालबालिकाले जेनतेन प्रयोग गरिरहेका छन्। कोही सहयोगी संघसंस्थाहरुले सहयोग गर्छन् कि भन्ने आशामा बसेको उनले बताए।

तीन सय विद्यार्थीको स्वास्थ्य जोखिम

विद्यालयका खानेपानीको समेत अभाव छ। विद्यालयका शिक्षक र विद्यार्थीलाई खानेपानी कार्यालय सहयोगीले गाउँको धाराबाट गाग्रीमा ओसोरेर खुवाउने गरेको प्रअ वाग्लेले बताए। 

सरसफाइ जस्तो महत्वपूर्ण कुरामा पनि विद्यालयले हेलचेक्रयाइँ गरी शौचालय प्रयाग गर्न ध्यान नदिँदा विद्यालयमा अध्ययनरत करिब ३ सय बालबालिकाको स्वास्थ्यमा समस्या उत्पन्न हुने खतरा देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.