|

काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आइतवार बस्दैछ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने भएको छ। 

प्रतिनिधि सभाको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ। 

पर्यटन मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले सोध्ने प्रश्नको जवाफ भट्टराईले दिने भएका छन्। प्रतिनिधिसभाको आजको बैठकमै सचिव गोपालनाथ गोगीले ‘वातावरण संरक्षण विधेयक २०७५’ र ‘वन विधेयक २०७५’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबल गर्ने कार्यसूची तय भएको छ। 

बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्‍ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। त्यसैगरि प्रहरी समायोजन विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव मन्त्री थापाले प्रस्तुत गर्ने छन्।

यो बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने छन्। 

त्यसैगरि आजै ३ बजे राष्ट्रियसभा बैठक बस्ने भएको छ। यो बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त 'सेफगार्ड्स, एण्टी-डम्पिङ्ग तथा काउन्टरभेलिङ्ग विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

यो बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले 'प्रशासकीय अदालत विधेयक,२०७५ लाई प्रतिनिधि सभाले गरेको संशोधन स्वीकार गर्दै पुनःपारित गरियोस्' भन्‍ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची स‌ंसद सचिवालयले तय गरेको छ।

बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त 'आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५' लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्' भन्‍ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

आजको राष्ट्रिय सभाको बैठकमा स‌ञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विज्ञापन विधेयक,२०७५ लाई प्रतिनिधि सभाले गरेको संशोधन स्वीकारसहित पुनः पारित गरियोस्' भन्‍ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.