|

दैलेख : जिल्लाको नौमूले गाउँपालिका द्वन्द्वमा माओवादी र सरकार दुवै पक्षबाट थिचोमिचोमा परेको क्षेत्र हो। देश संघीयतामा जाँदा (साबिकका) आठ वडालाई जोडेर सिंगो नौमूले गाउँपालिका भएको दुई वर्ष भइसकेको छ।

स्थानीय सरकार सञ्‍चालनसँगै गाउँपालिकामा द्धारीखोला जलविद्युत निर्माण भई सञ्‍चालनमा आइसकेको छ। त्यस्तैगरी, पदमखोला जलविद्युतबाट भदौभित्रै बिजुली उत्पादन हुने तयारी छ। अन्य दुई आयोजना पनि सञ्‍चालनकै तयारीमा छन्। तर पनि नौमूलेका जनता बत्तीमुनिको अँध्यारोमा बस्‍नुपर्ने अवस्था छ।

केही स्थानबाहेक यहाँका जनता अहिले पनि टुकीकै भरमा छन्। जलविद्युत् आयोजनाबाट बिजुली निकाल्ने हल्ला सुनेका स्थानीय पुस्तौंपछि उज्यालोमा बस्न पाइने आसमा खुसी थिए। दुई वर्षमा पनि आयोजनाबाट उत्पादन नदेख्‍दा उनीहरु निराश छन्।

बिजुली बाल्‍ने कल्पना मात्रै

स्थानीय शशिराम विक बत्ती बल्ने आशा अहिलेसम्म कल्पना मात्रै भएको सुनाउँछन्। उनलाई गाउँमै विद्‍युत् उत्पादन हुने र सहरको जस्तै आफ्नै ठाउँमा झिलिमिली देख्न पाउने ठूलो रहर छ। जलविद्युत् आयोजनाले शेयर वितरणदेखि बत्तीको आस मात्रै देखाएको विकको गुनासो छ।

पुस्तौदेखि टुकीको भर

गाउँपालिका-३ भित्री खोला जहाँ अहिलेसम्म स्थानीय गाडीको पहुच छैन। कोही बिरामी पर्दा बोकेर गाउँपालिका मुकामसम्म ल्याउन एक दिन लाग्‍छ। 'पहिलेपहिले त जंगलमा पाइने सल्लोबाट झोरो निकालेर उज्यालो बनाउथ्यौं हाम्रा दुखका दिन कहिल्यै अन्त्य भएनन्' स्थानीय भोजे बुढामगरले दुखेसो सुनाए।

गाउँगाउँमा सरकार आए पनि गरिबका लागि कुनै सरकार नआएको उनको भनाइ छ। उनले भने,'पैसा भएका शहर गए, पैसा नहुने र हामी जस्ता गरिबहरू बत्तीमुनिको  अँध्यारो भयौँ।' 

उज्यालोमा बसेर पढ्ने रहर

नौमूले दुवारी झरना पुगेर फर्कंर्दै गर्दा बाटोमा भेट भएकी रमा बुढामगरसँग कुरा गर्ने अवसर मिल्यो। उनीसँग पढाईको बारेमा कुरा गर्दा निकै भावुक भइन् बुझ्दै जाँदा पाँच कक्षामा पढ्ने उनले र टुकीको भरमा होमवर्क गर्न समस्या भएको दुखेसो सुनाइन्। उनले भनिन्, 'उज्यालोमा बसेर होमवर्क गर्ने रहर छ। खै हाम्रो गाउँका विद्यार्थीले कहिले उज्यालोमा बसेर पढ्न पाउने होलान्?'

नौमूलेमा ८.५ मेगावाट बिजुली

नौमूले गाउँपालिकामा निर्माणको अन्तिम चरणमा रहेको पदमखोला जलविद्युत आयोजनाले भदौ महिनाको अन्तिममा ४ दशमलव ७५ मेगावाट क्षमताको बत्ती उत्पादन सुरु गर्ने आयोजनाले जनाएको छ।

करिब दुई वर्ष अगाडिबाट ३ दशमलव ७५ मेगावाट द्धारीखोला जलविद्युत आयोजनाले बत्ती दिन सुरु गरिसकेको छ। योसँगै नौमूलेबाट ८.५ मेगावाट बत्ती उत्पादन हुनेछ। अन्य दुईवटा जलविद्युत् आयोजना निर्माणको तयारीमा रहेका छन्। 

कार्यविधि नबनेकाले समस्या  

नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले संघीय सरकारले कार्यविधि नबनाएकाले स्थानीय जनतालाई बत्ती दिन नसकिएको बताए। यसबारे संघीय सरकारसँग पनि अनुरोध गरेको र कार्यविधि बनेको केही महिनाभित्र स्थानीय जनताले आफ्नै आँगनमा उत्पादन भएको विद्युत् उपभोग गर्न पाउने अध्यक्ष मगरले बताए।

कर्णाली प्रदेशमा सबैभन्दा पहिले विद्युत् उत्पादन भएको क्षेत्र नौमूले भए पनि यहाँका जनता बत्तीमुनिको अँध्यारोमा हुनु दुर्भाग्य भएको उनले बताए। 

पहिलोपटक राष्ट्रिय प्रसारण ला

स्थानीय सरकार सञ्‍चालनमा आएको दुई वर्षपछि नौमूले गाउँपालिकामा विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जोडिएको छ। नौमूले गाउँपालिकाको मुख्य बजारमा प्राधिकरणले लाइन जोडेको हो।

बत्तीका लागि उपभोक्ताको माग संकलन गर्दा पहिलोपटक १ सय ५० उपभोक्ताबाट माग आएको विद्‍युत कार्यालय दैलेखले जनाएको छ। गाउँपालिका राष्ट्रिय प्रसारण लाईनमा जोडिँदा त्याहाँका जनतामा उज्यालोमा बस्न पाउने आशा पलाएको छ। 

दशैघि तीन सयलाई बत्ती

गाउँपालिका केन्द्र आसपासमा रहेका ३ सय घरहरूमा पहिलो चरणमा दशैंअगाडि बत्ती जोड्ने तयारी थालिएको गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले बताए। जनतालाई मिटर उपलब्ध गराईदिन विद्‍युत कार्यालयलाई भनिसकिएको र दशै अगाडि तीन सय उपभोक्ताको घरमा बत्ती बाल्न गाउँपालिकाले पहल गरिरहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.