नेपालको संस्कृति विश्वकै उत्कृष्ट : विदेशी मेयर

|

काठमाडौं : इन्द्रजात्राको अवसर पारेर नेपाल आएका विदेशी मेयर (पाहुना) हरूले भक्तपुर र ललितपुरको ऐतिहासिक दरबारको अवलोकन र भ्रमण गरेका छन्।

काठमाडौं महानगरपालिकाले  भक्तपुर र ललितपुर महानगरपालिकाको ऐतिहासिक क्षेत्रमा करिब ५० जना विदेशी पाहुनालाई भक्तपुर, ललितपुर दरबारको अवलोकन भ्रमण गराएको हो। त्यहाँ घुम्दा विदेशी पाहुनाले नेपालको भौगोलिक अवस्थिति, कला, संस्कृति र सम्पदाको बारेमा जानकारी लिए।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विदेशी पाहुनालाई भक्तपुरको ऐतिहासिकताबारे जानकारी गराए। भक्तपुरले नगरपालिकाले भूकम्प पछाडि पुननिर्माणको काममा तीव्र गतिमा विकास गरिरहेको उनको भनाइ थियो। भक्तपुरमा धेरै कृषि पेशा गर्ने मानिस बसोबास गरिरहेको उनले जानकारी दिए।

नेपालको संस्कृति विश्वकै उत्कृष्ट

भुटान थिम्पु शहरका प्रमुख किन्ले दोर्जेले नेपालको संस्कृति विश्वको उत्कृष्ट भएको उल्लेख गर्दै नेपालले आफ्नो मौलिक कला र संस्कृतिको संरक्षण गरेकामा खुशी व्यक्त गरे।

'अन्य देशमा विकास हुँदा संस्कृति नाश भएर जाने गरेको छ,' उनले भने, 'नेपालमा विकास भए पनि संस्कृतिलाई जोगाएर राखेको पाइयो।' उनले कला संस्कृतिले मानिसलाई सुखी बनाउने भन्दै भुटानमा पनि पर्व हुने गरेको तर यहाँको इन्द्रजात्राजस्तो पर्व कहिल्यै नदेखेको बताए।

पहिलोपटक भूकम्प गएपश्चात नेपाल आएको उनले बताए। भूटानमा अधिकांश मानिसले बौद्धधर्म मान्ने गरेको उल्लेख गर्दै आगामी वर्ष हुने नेपाल भ्रमण वर्ष–२०२० मा भूटानबाट धेरैभन्दा धेरै मानिस आउने दाबी गरे ।

नर्थदिल्ली नगरपालिका कर्पोरेशन, भारतका प्रमुख अवतार सिंहले नेपालको भौगोलिक वातावरण नै सुन्दर रहेको उल्लेख गर्दै यहाँका कला संस्कृति राम्रो लागेको बताए। नेपाल र भारतको धर्म, संस्कृत पनि मिल्ने भएको उनले बताए।

नेपालीको मुहारमा सदा हासो रहेको उनको भनाइ थियो। ' भक्तपुरको सबैभन्दा राम्रो पक्ष भनेको चर्खा रहेको छ,' उनले भने,' भारत स्वतन्त्रताको आन्दोलनमा चर्खाको पनि चर्चा रहेको छ, यहाँ देख्दा खुसी लाग्‍यो।' नेपाल पहिलोपटक आएको उनले जानकारी गराए। नेपालका मानिसमा मितव्यिता पाएको थाहाखबर लाई बताए ।

 

पाटन दरबार स्क्वायरले समग्र ललितपुर जिल्ला र नेपालको नै समग्र इतिहासलाई बोकेको  ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए। १३ औ शताब्दीका ऐतिहासिक सम्पदा रहेको उनले जानकारी दिए।

यस क्षेत्रमा बौद्ब धर्म र हिन्दू धर्मावलम्वीका धार्मिकस्थल रहेको उनले बताए। 'काठमाडौं महानगरपालिकाको निम्तोमा आएर यहाँसम्म आउनु भनेको नेपालको पर्यटन प्रवद्बन गर्नु हो ' उनले भने ।

नेपालको पर्यटन प्रवर्द्बन गर्नलाई विदेशी पाहुनालाई बोलाएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले बताए। पहिलोपटक इन्द्रजात्रामा बोलाएको भए पनि आगामी वर्षदेखि यसमा सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ।

नेपालको सम्पूर्ण वस्तुस्थिति केही पनि नढाटी बताएको उनले बताए। यो भ्रमणले आउँदै गरेको २०२० पर्यटन वर्षलाई टेवा पुग्ने उनले दाबी गरे। यो भ्रमणले नेपालको कला र संस्कृतिको विदेशमा प्रचार हुने उनले विश्वास गरे ।

इन्द्रजात्रा देखाउनका लागि काठमाडौं महानगरले चीन, अमेरिका, भारत, बङ्गलादेश र भुटानका भगिनी सम्बन्ध भएका शहर तथा अन्य जनप्रतिनिधिलाई निमन्त्रणा गरेर बोलाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.