|

पोखरा : भ्रष्टाचार विरोधी अभियान चलाएको बताउने ज्ञानेन्द्र बहादुर शाही ललितपुर प्रहरीको हिरासतबाट रिहा भएका छन्। उनलाई गल्ती सुधार्ने शर्तमा रिहा गरिएको ललितपुर प्रहरी परिसरका डिएसपी सन्तोष तामाङले जानकारी दिए।

आइतवार पुल्चोकमा गरिएको पत्रकार सम्मेलनका क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेपछि उनलाई हिरासतमा लिइएको थियो। पत्रकार सम्मेलनका क्रममा युट्युबरहरुसँग हात हालाहाल भएपछि प्रहरीले उनलाई सुरक्षाका लागि लगेको थियो। 

त्यसपछि प्रहरीले अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरेको थियो। तर पर्यटनमन्त्री योगेश भट्टराईको आग्रहमा शाहीलाई प्रहरीले मुद्दा नचलाइ रिहा गरेको हो।

कास्कीमा प्रतिबन्ध 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कास्की जिल्ला राष्ट्रिय युवा संघले शाहीलाई कास्की प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । 

दुई दिनअघि पर्यटनमन्त्री योगेश भट्टराईले नेपालगञ्जबाट काठमाडौँ आउने बुद्ध एयरको जहाज डिले गराएको भन्दै गालीगलौज र हातपात प्रयास गरेका उनलाई विज्ञप्ती नै जारी गरी कास्की जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको हो  ।  

तत्कालीन माओवादी अन्तरगतको वाईसीएल र एमाले अन्तरगतको युवासंघका अध्यक्षहरु भोजराज पौडेल र डिल्लीराम सुवेदीले संयुक्तरुपमा हस्ताक्षर गरेर शाहीलाई कास्की प्रवेशमा रोक लगाउने निर्णय गरेको विज्ञप्ती जारी गरेका छन् । 

‘गणतान्त्रीक भूमिमा प्रवेश निषेष छ’,  आइतबार जारी भएको विज्ञप्तीमा भनिएको छ, ‘गलत अभियानमा संलग्न ज्ञानेन्द्रबहादुर शाहीजस्ता कुपात्रहरुलाई गणतान्त्रिक भूमि कास्कीमा प्रवेश निषेध गर्ने जानकारी गराउँदै आम न्यायप्रेमी जनसमुदायमा विधिको शासन, पछिल्लो परिवर्तन तथा उपलब्धिको पक्षमा दृढतापूर्वक उभिनु भई सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौँ ।’

त्यस्तै विज्ञप्तीमा जनयुद्ध, जनआन्दोलन लगायत नेपाली जनताको लामो समय पछिको बलिदानपूर्ण त्याग र संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशीता जस्ता महत्वपूर्ण उपलब्धीविरुद्ध केही उश्रृंखल अराजक एवं प्रतिगामी प्रवृत्तिका ब्यक्ति र समुहको अस्वभाविक चलखेलप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.