'आफू रूखबाट लडेर अशक्त भएँ, श्रीमान दुर्घटनाबाट बित्नुभो'

|

बारा : बाराको निजगढ ९ ठाडोलाइनकी नरमाया भुजेलले १७ वर्षको उमेरमा टोलकै रोहित भुजेलसँग प्रेम विवाह गरिन्। उनी अहिले ३८ वर्षीया अशक्त एकल महिलाको रूपमा जीवनमा जे भोगिरहेकी छिन्, त्यो जीवन धान्न र सन्तानको उज्वल भविष्यको आशामा अडिएको छ। 

५ वर्षअघि उनको जीवनमा १० महिनाको अन्तरालमा भएको बज्रपातले प्रेम जोडीका रूपमा बुनेका सबै सपना चकनाचुर मात्रै भएन, जीवन नै अन्धकार बनाइदियो। पतिको निधनपछि सहाराविहीन बनेकी नरमायाको जीवनका हरेक पल पीडादायक छन्।

एकैपटक बज्रपात

यो जोडीको जीवनमा एकैपटक बज्रपात पर्‍यो। बाख्रका लागि डाले घाँस काट्न रूख चढेकी नरमाया २०७१ जेठ २१ गते रूखबाट लडिन्। पतिले ऋणधन गरेर उपचार गराए। तर, उनी कहिल्यै उभिएर हिँड्न नसक्ने भइन्।

हिँडडुलसमेत गर्न नसक्ने अवस्थामा पुगेकी नरमायालाई पति रोहित साहारा बनिरहे। बज्रपात परेपछि एकैपटक, एउटैलाई पर्ने रहेछ। त्यस्तै भयो नरमायाको जीवनमा १० महिनापछि २०७१ चैत्र १० गते रोहित सवारी दुर्घटनामा परे।

‘त्यो घटना सुनेको दिन छाँगाबाट खसेजस्तो भयो। अन्योल भयो। सुरुमा पत्यार लागेन। टाउकोमा चोट लागेको छ भनेका थिए’, नरमायाले त्यो दिन सम्झिइन्,‘८ बजेतिर शव घर आइपुग्यो। त्यसपछि म बेहोस भएँ। रुन पनि सकिनँ।’

ती सुन्दर सपना

प्रेम जोडीका रूपमा वैवाहिक जीवन सुरु गरेका उनीहरूले जीवनका अनेक सपना बुनेका थिए। बेरोजगार अल्लारे उमेरका रोहितले ट्रक चलाउन थालेपछि ऋण तिरेर कमाउँदै सपना पूरा गर्ने अठोट गरेका थिए।

‘म गर्दैछु। एक दिन त हुन्छ नि भन्नुहुन्थ्यो’, उनले आँसु झार्दै भनिन्,‘नआत्ती, होला नि एक दिन भन्नुहुन्थ्यो। मैले यस्तो होला भनेर सोचेको थिइनँ।’ मलाई यस्तो भयो तर उहाँलाई यस्तो होला भनेर हजार मनमा एक मन पनि सोचेको थिइनँ। तर सोच्दै नसोचेको कुरा हुने रहेछ। मन मर्नुपर्थ्यो, मेरो सट्टा उहाँ जानुभयो। भविष्य कसैले देखेको हुँदैन रहेछ।’

ट्रकभन्दा बसमा राम्रो कमाइ हुने भन्दै बस चलाउन सुरु गरेका थिए। बस चलाएको तीन महिनामा उनी दुर्घटनामा परे। नरमायाले खेतीपाती र बाख्रापाठा पालेकी थिइन्। छोरीहरू बोर्डिङ स्कुलमा पढ्थे। 

घरभित्रै संघर्ष

ससुराले मानसिक सन्तुलन गुमाएका छन्। देवर र जेठाजु काठमाडाैं बस्छन्। पतिको निधनपछि नरमायाले सम्पतिमाथिको अधिकारबाट समेत वञ्चित हुनुपर्‍यो।

निजगढ नगरपालिकाकी कार्यपालिका सदस्य मीनमाया लामाको पहलमा उनले घरसहितको एक कठ्ठा र बकैया खोला छेउमा कम उब्जाउ हुने तीन कठ्ठा जमिन उनको स्वामित्वमा आएको छ। उनलाई थप उपचारको खाँचो रहेको कार्यपालिका सदस्य मीनमाया लामाले बताइन्। आर्थिक अवस्थाले उपचार गर्न जान सकेकी छैनन्। उनलाई सहयोगको खाँचो छ।

दैनिकी चलाउनै मुस्किल    

आफैँलाई साहारा चाहिएको बेलामा उनले जीवनभर साथ दिने बाचा गरेका पतिले पनि संसार छाडेपछि जीवन चलाउनै गाह्रो भएको छ। कमाइ गर्ने पतिको निधनपछि अहिले उनलाई खर्च दिनेसम्म कोही छैनन्। घरमा वृद्ध सासूससुरा छन्। ससुरा मानसिक रूपमा विक्षिप्त छन्। उनी पेटको दीर्घ रोगी भएकी छिन्।

नियमित दिसा नहुने समस्याका कारण नियमित औषधि सेवन गर्नुपर्छ। अपांगता परिचय पत्र बनेका कारण सरकारले दिने मासिक २ हजार सामाजिक सुरक्षा भत्ताबाट उनले जीविका चलाउँदै आएकी छिन्। त्यसैबाट खानपानदेखि औषधोपचार गर्नुपर्छ। 

ह्विल चेयरबाट बसेर उनी आफैँ खाना बनाउँछिन्। ‘पहिला ठूली छोरीको साहारामा खाना बनाउँदै आएकी थिएँ’, उनले भनिन्, 'मैले हिम्मत गरेर आफैँ पकाउन थालेको छु।’ झट्ट हेर्दा शारीरिक रुपमा तन्दुरुस्त देखिने उनी भित्रैभित्रै थलिएकी छिन्।

ह्विल चियर जीवन विताइरहेकी नरमायाको नियमित दिसा-पिसाव हुँदैन। उनी समय हेरर दिसा निकाल्नुपर्ने समस्याबाट पीडित छिन्। बसेर गर्ने काम पनि गर्न उनको ढाडमा समस्या छ। काठमाडाैंको एक अनाथ आश्रममा उनका तीन वटै छोरीलाई पढ्छन्। आफूले नसक्ने भएपछि आश्रममा पठाउनुपरेको छ।

‘हातमुख जोड्नै समस्या छ’, उनले भनिन्,'आफू त यस्तो भएँ। बच्चाको भविष्य विगार्नु भएन नि? सन्तानको माया त लाग्छ नि आफूसँग एउटा छोरी राख्न पाएको भए। नसकेको बेलामा तातोपानी तताएर खुवाउँथिन्। अहिले त त्यो पनि छैन। मलाई गाह्रो भए पनि उनीहरूको भविष्यका लागि टाढा राखेको छु।’ 

छोरीहरूले पढेर भविष्यमा केही गर्लान् कि भन्ने आशा छ उनमा। छोरीसँग उनको वर्षदिनमा दशैं/तिहारको छुट्टीमा भेट हुन्छ। कहिलेकाहीँ फोनमा कुराकानी हुन्छ। ‘फोनमा कुरा हुँदा भेट्न आउनुहोस् भन्छन्’, उनले भनिन्,'आफू यस्तो छु कसरी जानू।'

सहयोगको अपिल

शारीरिक रूपमा अशक्त र आर्थिक रूपमा विपन्न उनले आफूलाई सहयोगको अपिलसमेत गरिन्। खानपिन र औषधि उपचार गर्न सहयोग गरिदिए हुन्थ्यो। कतिरात उनले पानी र चिया खाएर बिताएको अनुभूति सुनाइन्। उनले आफूलाई सहयोग गर्न चाहनेले सिधा सम्पर्क ९८४०४५९९१० मा फोन गर्न अनुरोध गरेकी छिन्।

चाडबाड आइरहेको छ। छोरीहरूलाई घर ल्याउने खर्चको चिन्ता छ। घरमा आएपछि मिठो मसिनो कसरी खुवाउने र एकसरो नयाँ कपडा दिन पाए हुन्थ्यो। ‘यो चाडबाड नआइदिए पनि हुन्थ्यो जस्तो लाग्छ, मेरो जीवनमा’, उनले भनिन्,'मलाई चाड पनि चाड जस्तो अब रहेन?’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.