|

पर्वत : लगातारको वर्षाको कारण आएको पहिरोले पोखरा बागलुङ सडक खण्ड पछिल्लो १२ घण्टादेखि अवरुद्ध भएको छ।

पर्वत जिल्लाको नजिकै कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका ५ झोवाङको भीरबाट खसेको पहिरोले सडक अवरुद्ध भएको पहिरोस्थलमा खटिएका ट्राफिक प्रहरी हवलदार आशिष क्षेत्रीले जानकारी दिए।

पोखरा बागलुङ सडक खण्डको पर्वत र कास्की जिल्लाका अन्य ४ ठाउँमा समेत पहिरो खसेकोमा सबै ठाउँहरूको पहिरो पन्छाइएको छ। तर नयाँपुलको पहिरो सबैभन्दा ठूलो भएकोले बाटो सुचारु गराउन नसकिएको क्षेत्रीले बताए।

राति १२/१ बजेको समयमा पहिरो खसेको हो। ‘हामी बिहान सबेरैबाट सडक सुचारु गराउन खटिएका हौँ। तर अहिले सम्म बाटो सुचारु हुन सकेन, अभैm पनि

कम्तीमा ३ घण्टा जति लाग्न सक्छ।’ उनले भने, ‘पहिरोसँगै लेदो र कडा खालको चट्टान पनि सडकमा जम्मा भएको छ। सडकमा जम्मा भएको चट्टान हटाउन ब्रेकर हान्नै पर्ने अवस्था छ, तर ब्रेकर हान्दा भीर थर्किएर माथिबाट पहिरो झनै बढेर आउने देखिएकोले समस्या भएको छ।’

पहिरोका कारण कास्कीको पोखरा हुँदै साबिकको धौलागिरीका पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङका लागि छुटेका धेरै सवारीहरूको कास्कीको ढावामा नै रातीदेखि नै रोकिएको प्रहरीले जनाएको छ।

बाढीका कारण सोमबार रातीदेखि नै ठाउँ ठाउँमा अवरुद्ध भएको पोखरा बागलुङ सडक खण्डका अन्य ठाउँमा खसेका पहिरोहरू भने पन्छाइसकिएको छ। कास्कीकै नागडाँडा नजिकै पोखरा बागलुङ सडक खण्डमा नै खसेको पहिरो पन्छाइसकिएको छ। यस्तै, कास्कीकै हेम्जा नजिकैको फेदीको भीरमा पोखरा बागलुङ सडक खण्डमा नै खसेको पहिरो पनि खुलाइसकिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामबहादुर भट्ट क्षेत्रीका अनुसार जिल्लाको कुस्मा नगरपालिका ४ अर्मादीको गिलमेरी खोलामा आएको पहिरोले सडक एकतर्फी रूपमा मात्रै चलिरहेको छ। खोलामा भेल आएका कारण पोखरादेखि कुस्मा हुँदै बागलुङ र म्याग्दी आउजाउ गर्ने सवारीहरू जाममा परेका छन्।

प्रहरीले बिहानैदेखि एकतर्फी रूपमा बाटो खुलाएको भए पनि दुईतर्फी रूपमा बाटो सुचारु हुन भने केही घण्टा लाग्न सक्ने प्रहरीको अनुमान छ। सोही खोलाले मङ्गलवार बिहान पौने ५ बजेको समयमा ध १ ज ६६० नम्बरको ट्याक्सी समेत बगाएको थियो। उक्त घटनामा मानवीय क्षति भने भएको थिएन।

पर्वतकै मोदी गाउँपालिका ५ अम्बोटको ओडारेमा गएको पहिरो प्रहरीले आधा घण्टामा नै खुलाएको छ। ट्राफिक चेक पोस्ट डिमुवाका इन्चार्ज रेसम थापाका अनुसार मङ्गलवार बिहान झन्डै साढे ४ बजेको समयमा सडकमा पहिरो आएपछि पोखरा बागलुङ सडक अवरुद्ध भएको थियो। डिमुवा प्रहरी चौकी र ट्राफिक चेक पोस्टबाट गएको प्रहरीले पहिरो आधा घण्टामा नै पन्छाएपछि बिहान पाँच बजेबाट नै सडक सुचारु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.