|

काठमाडौंः प्रधानमन्त्री केपी ओलीका समकालीन कम्युनिष्ट नेताहरूसँग राजनीतिक सहयात्रा गरेका विद्यार्थी राजनीतिका अभियन्ता केआर खम्बू ‘छायाँको लस्कर’ पुस्तक लिएर आउने भएका छन् ।

उभयचर र सरीसृप प्राणीमाथि विद्यावारिधि गर्ने पहिलो नेपाली प्राध्यापक खम्बूले 'छायाँको लस्कर'  लाई आत्मपरक शैलीमा लेखेका छन् ।

पढाइकै क्रममा नेत्र ज्योति गुमाएका प्राध्यापक खम्बूले ‘छायाँको लस्कर’मा विगतका तिनै अविस्मरणीय क्षण र सम्झनालाई उधिनेका छन्। खुट्टामा जुत्ता नहुने पूर्वी पहाड खोटाङको बाल्यकालदेखि तराई झरेको तरूण अवस्था र राजधानीको विद्यार्थी राजनीतिको सेरोफेरोमा उनको कथा घुमेको छ ।

पोस्ट-डक्टरेटको तयारी गर्दागर्दै अचानक उनका दुवै आँखा ज्योतिविहीन बन्न पुगे। आँखाको दृष्टि गुमेपछि पनि खम्बूको ज्ञान आर्जनको मोह अझै साम्य नभएको खम्बुले बताए। उनी अहिले पनि ल्यापटपको बोलिदिने सफ्टवेयरमार्फत् आफ्नो अध्ययनको क्षेत्रलाई फराकिलो बनाइरहेका छन् ।

हाल मेची क्याम्पसमा प्राध्यापन गरिरहेका केआर खम्बू ‘छायाँको लस्कर’ पुस्तक पाठकसामु आउन लागेकोमा निक्कै उत्साहित भएको उनले बताए ।

‘पुस्तक सार्वजनिक हुने खबरले म रोमाञ्चक भएको छु,' उनले भने। आफ्नो जीवनको कथामार्फत् मैले मेरो परिवेश र उतिबेलाको समयको कथा बुनेको उनको भनाइ छ। आफ्नो कथा भन्दैगर्दा मेरा अगुवा र दौंतरीहरूको समय र कथा पनि जोडिएर आएको उनले जानकारी दिए। ' एउटा सामान्य मान्छेको संघर्षको कथालाई पाठकहरूले रुचाइदिनु होला भन्ने आशा छ,' उनले भने।

प्राध्यापक केआर खम्बुको कथाले सामान्य व्यक्तिको असामान्य साहस र सङ्घर्ष बोलेको छ । यसले एउटा राजनीतिक कालखण्डको सङ्घर्षको प्रतिनिधित्व पनि गर्छ । प्राध्यापक खम्बूले आफ्नो जीवनको कथा लेखनमा सरल र रसिलो भाषाको प्रयोग गरेका छन्।

नेपालय पब्लिकेशनबाट प्रकाशीत हुन लागेको केआर खम्बूको आत्मकथामा उनको वैयक्तिक कथासँगै त्यसबेलाको सामाजिक र राजनैतिक परिवेशको चित्रण रहेको छ। दशै अगाडि सार्वजनिक गरिने तयारीमा रहेको पुस्तकको मूल्य पांच सय ४५ रुपैयाँ रहेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.