अस्पतालले थेग्‍न सकेनन् बिरामी

|

हेटौंडा : प्रदेश ३ मा डेंगुको प्रकोप बढ्दै गएको छ। प्रदेश ३ मा मंगलबारसम्म डेगुंबाट ४ हजार ५ सय ९० बिरामी भएको प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले जनाएको छ। प्रदेश ३ मा डेंगुबाट सबैभन्दा धेरै चितवन जिल्लामा १ हजार ८ सय ५७ काठमाडौंमा १ हजार ३ सय ७०, मकवानपुरमा ९ सय ९८, ललितपुरमा १७, भक्तपुरमा १ सय ४५, धादिङमा ३२, काभ्रेमा १२, नुवाकोटमा ६ जनमा डेंगुको संक्रमण देखिएको मन्त्रालयको तथ्यांक छ।

हालसम्म दोलखा, रामेछाप, सिन्धुली १, रसुवा १ र सिन्धुपाल्चोकमा डेंगुको संक्रमण नदेखिएको मन्त्रालयअन्तगर्तको स्वास्थ्य निर्देशनालयको डेंगु नियन्त्रण कार्यक्रमका हेल्थ असिस्टेन्ट जयस नेपालले जानकारी दिएका छन्। हालसम्म चितवनमा दुईजना र सिन्धुलीका एकजनाका नागरिकको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ।  

हेटौंडाका अस्पतालले थेग्न सकेन बिरामी

प्रदेश ३ को राजधानी हेटौंडामा डेंगुको प्रकोपले बिरामी बढ्दै गएका छन्। हेटौंडाका अस्पतालमा अहिले बिरामी चाप अत्याधिक भएकोले चाप धान्नै गाह्रो परेको अस्पतालहरुले जनाएका छन्। मकवानपुरमा मात्रै सोमबारसम्म ९ सयभन्दा धेरै डेंगु संक्रमित भेटिएको छ। बिरामीको चाप बढ्दै गएपछि अस्पतालको बेडमा ३ जनासम्म राखेर उपचार भइरहेको छ। अस्पतालको प्यासेजमा पनि खाट राखी उपचार गराउन बाध्य भएको मकवानपुर सहकारी अस्पतालले जनाएको छ।

हेटौंडा अस्पतालमा अहिले दैनिक ७ सयसम्म बिरामी आउने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डट डा. हरि खड्काले बताए। स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार अहिले डेंगुको मात्रै नभई भाइरल ज्वरो कारण पनि अस्पतालमा बिरामीको चाप बढेको छ। स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय कुमार उपाध्यायका अनुसार डेंगुको नियन्त्रणको लागि समुदाय स्तरबाटै पहल नहुँदा डेंगु नियन्त्रण कार्यक्रम प्रभावकारी नभएको हो। 

'डेंगु नियन्त्रणको विषयमा समुदायलाई थाहा छ तर डेंगुको परिक्षण गर्ने र उपचार गर्ने भन्दा काम भएन सबैले खोज र नष्ट गर अभियानमा साथ दिने हो भने डेंगु नियन्त्रण हुन सक्छ' उनले भने। डेंगु संक्रमित बढ्दै जाने हो भने महामारीको रुप लिन सक्ने उनको बुझाइ छ।

प्रदेशको निर्णय नै लागू भएन

प्रदेश सरकारले गत शनिबार बिहानदेखि कार्तिक मसान्तसम्म “सबै जागौँ, सबै लागौँ वरिपरिको जमेको पानी हटाइ डेंगु भगाऔँ” अभियान चलाउन सबै स्थानीय तहलाई निर्देशन दिएको थियो। प्रदेश ३ सरकार सामाजिक विकास मन्त्री युवराज दुलालले  पत्रकार सम्मेलन गरेर अभियानअन्तर्गत प्रदेश भरिका सम्पूर्ण स्थानीय तह, राजनीतिक दल, संघ संस्था, टोल सुधार समिति र अन्य सबै व्यक्तिलाई प्रत्येक बिहान एक घण्टासम्म आफ्नो घर र कार्यालय वरिपरि १ सय मिटरसम्मको दूरीमा “खोज र नष्ट गर” भन्ने अभियान सरिक बनाउने बताएका थिए। तर, मकवानपुरसहित अन्य स्थानीय तहहरू र राजनीतिक दलहरूले यो विषयमा वास्ता गरेका छैनन्। 

प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गोकर्ण मणि दुवाडीले भने डेंगु नियन्त्रणमा नागरिक आफैँले अपनत्व लिएर नष्ट गर्नु पर्ने बताए। उनले प्रदेश सरकारले अपेक्षा गरेअनुसार भने स्थानीय तहले चासो नदेखाएको र ध्यान नदिएको भन्दै अब सरकारले फेरी सर्कुलर गरेर डेंगु नियन्त्रणमा लाग्न निर्देशन दिने बताए।

स्थानीय तहहरूको सहयोग

मकवानपुरको मनहरी गाउँपालिकाले रगत जँचाएर डेंगु प्रमाणित गरी गाउँपालिकामा आएमा उपचारका लागि गाउँपालिकाको तर्फबाट नगद ३ हजार रुपैयाँ खर्च दिने भएको छ। राक्सिराङ गाउँपालिकामा डेंगुको उपचार गर्ने ठूला स्वास्थ्यसंस्था नभएकाले मनहरी, हेटौँडा तथा चितवनका अस्पतालमा जानुपर्ने बाध्यता रहेकाले यातायात र खानाका लागि प्रति बिरामी ३ हजार रुपैयाँका दरले सहयोग गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्ले बताए।

साबिक राक्सिराङ, काँकडा, खैराङ र सरिखेत गाउँ विकास समितिहरु मिलेर बनेको राक्सिराङ गाउँपालिकामा४ वटा स्वास्थ्यचौकीहरु मात्र रहेका छन्। यसैबीच गाउँपालिकाले हरेक स्वास्थ्य चौकीमा डेंगु पहिचान गर्न सजिलो पार्नका लागि ३०/३० थान डेंगु परीक्षण किट पठाएको गाउँपालिकाका स्वास्थ्य संयोजक बिजय कापरीले जानकारी दिए। डेंगु किट पठाइएसँगै ४ वटै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई मनहरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएर डेंगु किट परिक्षण तरिका सिकाएर गाउँ पठाइएको कापरीले जानकारी दिए।

यस्तै हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेंगुका संक्रमितहरूलाई परीक्षण गर्नका लागि जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरलाई हेटौँडा उपमहानगरपालिकाले किट सहयोग गरेको छ। हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले डेंगु परीक्षण गर्नका लागि ३ सय ३१ वटा डेंगु परीक्षण गर्ने किट जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका ल्याव टेक्निसिएन राजकुमार इटेनीलाई हस्तान्तरण गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.