कुन हिमालबाट कति उठ्यो रोयल्टी?

|

पोखरा : नेपालमा हिमाल आरोहणको सिजन सुरु भइसकेको छ। केही आरोही आरोहणको लागि अनुमति लिएको हिमालतर्फ हिँडिसकेका छन्। केही अनुमति लिँदैछन्। अहिलेको सिजनको लागि अहिलेसम्म नेपालको १७ हिमालको लागि ४७ देशका आरोहीहरूले आरोहण अनुमति लिएका छन्।

पर्यटन विभागका अनुसार १७ हिमालको लागि ४७ ग्रुपका ३९५ जनाले हिमाल आरोहणको लागि अनुमति लिएका छन्। यस वर्ष देशका अन्य हिमालभन्दा मनास्लु आरोहीको पहिलो रोजाइमा परेको छ। ३९५ जनाले आरोहणको अनुमति लिएकोमा मनास्लुको लागि मात्रै २६० जनाले अनुमति लिएका छन्।

कुन हिमालमा कतिले लिए अनुमति?

यस सिजन विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहीको रोजाइमा खासै परेन। सगरमाथालाई मनास्लु हिमाल र धौलागिरीले धेरै नै पछि पारे। सगरमाथा आरोहणको लागि २ समूहका जम्मा १० जनाले पर्यटन विभागबाट अनुमति लिएका छन्। यस सिजनमा सबैभन्दा धेरै आरोहीको रोजाइमा परेको मनास्लु (८१६३ मि.) २६ समूहका २६० जनाले आरोहण अनुमति लिइसकेका छन्। त्यस्तै, दोस्रो रोजाइको धौलागिरी  हिमाल (८१६७ मि.) आरोहणको लागि २ समूहका ३० जनाले अनुमति लिइसकेको पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले जानकारी दिए।

त्यस्तै, अपी हिमाल (७१३२ मि) को लागि एक समूहका ४ जनाले, भ्रीकुटी हिमाल (६४६० मि.) चढ्न एक समूहकै ९ जनाले अनूमति लिएका छन्। डाँफे सैल (६१०३ मि.) हिमाल चढ्न  एक समूहको तीनजना, हिमाल गाउँगिरी (६११० मि.) आरोहणको लागि एक समूहका पाँचजना, हिम्लुङ हिमाल (७१२६ मि.) को लागि एक समूहको नौजना, ल्होत्से हिमाल (८५१६ मि.) चढ्न २ समूहका १३ जनाले पर्यटन विभागबाट अनुमति लिइसकेका छन्। लाङटाङ रि हिमाल (७२०५ मि) चढ्न एक समूहको ५ जनाले अनूमति लिइसकेका छन्।

त्यस्तै, लुबुला हिमाल (६८९९ मि) को लागि एक समूहको १४ जना, मकालु हिमाल (८४६३ मि) चढ्न भने जम्मा एक समूहका ४ जनाले अनुमति लिएका छन्। नुप्त्से हिमाल (७८५५ मि) चढ्नको लागि पनि एक समूहकै ८ जनाले अनुमति लिइसके। पानपोचे हिमाल पहिलो (६६२० मि) लाई २ समूहका आठजना, पानपोचे हिमाल दोस्रो (६५०४ मि) आरोहणको लागि एक समूहका तीनजना, सरिबुङ हिमाल (६३४६ मि) आरोहणको लागि २ समूहका आठजना र थोरङ पिक हिमाल (६१४४ मि) को लागि एक समूहका २ जनाले आरोहण अनुमति लिएको पर्यटन विभागका सूचना अधिकारी थापाले जानकारी दिए। यस सिजन १७ हिमालको लागि ४७ समूहका ३९५ जनाले आरोहण अनुमति लिएका छन्। यसमा ३०५ पुरुष आरोही र ९० जना महिला आरोही छन्।

कुन हिमालबाट कति उठ्यो रोयल्टी?

आरोहीहरूले पर्यटन विभागमा आरोहण अनुमति लिँदा नै आरोहण वापतको रोयल्टी तिर्नुपर्ने हुन्छ। यस सिजनमा सबैभन्दा धेरै आरोहीको मुख्य रोजाइमा परेको मनास्लुबाट मात्रै २ करोड ६६ लाख ७६ हजार चारसय ६० रुपैयाँ रोयल्टी उठेको छ।

त्यस्तै, धौलागिरीबाट ३१ लाख ६ हजार तीनसय ५० रुपैयाँ, अपि हिमालबाट एक लाख १४ हजार चारसय ५०, भ्रिकुटी हिमालबाट एक लाख ४३ हजार ६२ रुपैयाँ, डाँफे सैलबाट ४२ हजार ९ सय, गाउँगिरी हिमालबाट ७२ हजार ३१ रुपैयाँ, हिम्लुङ हिमालबाट २ लाख ५८ हजार तीनसय रुपैयाँ, सगरमाथाबाट ६३ लाख ११ हजार आठ सय रुपैयाँ, ल्होत्सेबाट १३ लाख ३६ हजार दुईसय ३० रुपैयाँ, लाङटाङ री हिमालबाट एक लाख ४२ हजार नौसय ७५ रुपैयाँ, लुबुला हिमालबाट तीन लाख १६ हजार नौ सय ६० रुपैयाँ रोयल्टी उठेको पर्यटन विभागले जनाएको छ।

त्यस्तै मकालु हिमालबाट चार लाख १२ हजार पाँचसय १० रुपैयाँ रोयल्टी उठेको छ। नुत्प्से हिमालबाट २ लाख ७५ हजार पाँचसय २० रुपैयाँ, पानपोचे पहिलोबाट एक लाख ८४ हजार चारसय ६० रुपैयाँ, पानपोचे दोस्रोबाट ६९ हजार २१० रुपैयाँ, सरीबुङ हिमालबाट एक लाख १३ हजार सातसय १२ रुपैयाँ ५० पैसा र थोराङ पीकबाट २८ हजार चारसय ६२ रुपैयाँ रोयल्टी उठेको छ। यो सिजनमा जम्मा तीन करोड ९६ लाख पाँचहजार तीनसय ९४ रुपैयाँ सात पैसा रोयल्टी उठीसकेको छ।

मनास्लुमा आरोहीसँग जाँदै छन् २७० नेपाली 

यस सिजन आरोहीको पहिलो रोजाइमा परेको मनास्लु तीन नेपालीसँगै २६० जना चढ्दै छन्। हिमाल आरोहणमा जानेहरूबाट नेपालीहरूले पनि रोजगारी पाउने भएका छन्। हिमाल आरोहणमा जाने रुटका होटल देखि उनीहरूका भरिया तथा गाइडहरूले पनि रोजगारी पाउनेछन्। मनास्लु मात्रै नेपाल बाहेक ४३ देशका आरोहीले आरोहण गर्नेछन्। उनीहरूसँगै २७० जना नेपाली पनि आरोहण दलमा हुनेछन्। उनीहरूले अरोहीहरूलाई सहयोग गर्नेछन्। आरोहण दलमा रहेका २७० नेपालीमा एक जना मात्रै महिला छन्। हिमाल आरोहण नै गर्नेमा ५९ जना महिला र २०१ जना पुरुष छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.