नेकपा प्रदेश एक कार्यालयमा कार्यकर्ताकै ताला

|

इटहरी : ‘कमरेड पार्टीमा हाम्रो पनि लगानी छ। श्रीमती र छोराछोरीलाई दिने अंश नसम्झिनु पार्टीलाई । ६०–६५ वर्षका वृद्ध कमरेडहरू रुँदै छन्, तपाईंहरूलाई कार्यकर्ता रुवाउन पार्टीको नेतृत्व दिएको हो? त्यसैले कमरेड! गोजीबाट नेता नबनाइयोस्,’ मङ्गलवार नेकपा प्रदेश एकको पार्टी कार्यालय इटहरीमा ताला लगाउन आएका समूहको नेतृत्व गरेका सुनिल कार्की भाषण गर्दै थिए ।

समायोजनपछि पार्टी कमिटी गठन गर्दा माथिल्लो तहका नेताहरूले आफूखुसी मापदण्ड मिचेर कमिटी बनाएको भन्दै प्रदेश एक नेकपा पार्टी कार्यालयमा कार्यकर्ताबाटै ताला लगाइएको छ । गत भदौ १२ गते इटहरी उपमहानगर कमिटीको विवाद प्रदेश कमिटीमा आइपुगेको हो ।

पार्टी विधि प्रक्रिया मापदण्डबिना चलेको भन्दै डेढ सय भन्दा बढी कार्यकर्ता तथा नेताहरू प्रदेश कार्यालयमा तालाबन्दी गर्न पुगेका थिए । शुद्धीकरण अभियान दिएर सुरु गरिएको अभियानमा प्रदेश स्तरीय नेताहरूको पनि समर्थन समेत रहेको तालाबन्दी गरिएको देखिन्छ ।

‘तालाबन्दी पार्टीलाई कमजोर बनाउन होइन। सम्वाद सहकार्य र सहअस्तित्व आधारमा विधि विधान बमोजिम सञ्चालन गर्नको लागि हो’, शुद्धीकरण अभियानका अभियन्ता सुजन लामाले भने,’ उपमहानगर कमिटीमा ताला लगाएको यत्रो दिनसम्म पनि सुनुवाइ नभएपछि प्रदेश कार्यालयमै ताला लगाउन बाध्य भएका हौँ।’

इटहरी उपमहानगर कमिटी बनाउँदा पूर्व माओवादीको भागमा अध्यक्ष परेको थियो भने एमालेलाई सचिव । माओवादी तर्फबाट अध्यक्ष भएका ज्वाला तामाङको विषयमा विवाद छैन । विवादको मुख्य जड एमालेको नेतृत्व गर्दै एकीकृत पार्टीका सचिव बनेका काशीनाथ दंगाल रहेका छन् ।

भीम आचार्यनिकट काशीनाथको विकल्प खोज्नुपर्ने ‘बटमलाइन’ सहितको माग राख्दै असन्तुष्ट पक्ष आन्दोलनमा गएका हुन् । असन्तुष्ट पक्षको पहिलो माग मापदण्डको छ । आफ्नो पक्षबाट नेतृत्वमा पुगेका दंगाल नै मापदण्ड विपरीत भएकाले सचिव हटाउनु पर्ने बटमलाइन लिएर अघि बढेका छन् ।

नेतृत्वमा सुरु भएको पार्टी शुद्धीकरण अभियानमा प्रदेश स्तरका नेताहरूले समेत समर्थन देखिएको छ । तर कारबाही हुने डरले ठुला नेताहरू भने ’फिल्ड’ मा देखिएका छैनन् । समर्थनमा यति बेला प्रदेश सदस्य रेवती रमण भण्डारी, सर्वध्वज सावा, जिल्ला सदस्य याम सुब्बा, प्रदेश सांसद लिलम बस्नेत र युवा नेता चन्द्र न्यौपाने छन् ।

नेताको जुँगाको लडाइँ

मापदण्ड विपरीत सचिव बनाएको विषयको भित्री पक्ष पाटीका ठूला नेताहरूबीच तिक्ततापूर्ण सम्बन्ध पनि एउटा कारण हो । असन्तुष्ट पक्षको पहिलो माग पार्टी सचिव दंगाललाई हटाउनुपर्ने छ । यसको भित्री पाटो भने नेकपाका प्रदेश इन्चार्ज भीम आचार्य, इटहरीका संसद् लिलाम बस्नेत र संविधान सभा अध्यक्ष रेवती भण्डारीसँग जोडिन्छ ।

भीम आचार्य पार्टीको प्रदेश इन्चार्जसहित प्रदेश एकका सांसद् पनि हुन् । तर सुनसरी क्षेत्र नं. ३ (क) का प्रदेश सांसद लिलम बस्नेत र एमालेका पूर्वजिल्ला अध्यक्ष  तथा सांसद भइसकेका रेवती भण्डारी पार्टीको कुनै जिम्मेवारीमा छैनन् । 

वर्तमान र पूर्वसांसदहरुको जिम्मेवारी नहुनुको कारण पनि बढो रोचक छ । प्रदेश नम्बर १ को सरकार गठन हुँदा हालका मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेता बनाउन मुख्य भूमिका खेलेको भन्दै लिलम बस्नेतलाई नेकपाको कुनै पनि तहको समितिमा समेटिएकै छैन ।

त्यसैगरी रेवती भण्डारीलाई पनि प्रदेशसभा निर्वाचनमा टिकट नदिएपछि भण्डारी र आचार्यको बोलचालसमेत नरहेको पार्टी स्रोत बताउँछ । पछिल्लो समय प्रदेश सांसद लिलम बस्नेतको प्रस्तावमा रेवतीरमण भण्डारीलाई जनता क्याम्पसको अध्यक्ष बनाउने विषयमा पनि आचार्य पक्षका काशी दंगाल बाधक बनेको आरोप छ। 

शुद्धीकरण अभियानका प्रमुख अभियन्ता सुनिल कार्कीका अनुसार भदौ ३१ गते सोमबार बिहान ११ बजे ताला लगाउने निर्णय भएसँगै ताला लागेको हो । ५ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।

दंगाल ३ वर्षमा ३ छलाङ

दुई वर्षको अन्तरालमा दंगालको वडा कमिटी मनोनीत सदस्यदेखि नगर सचिवसम्मको यात्रालाई लिएर स्थानीय नेताहरू रुष्ट छन् । २०७४ सालमा तत्कालीन नेकपा एमालेको वडा नम्बर ५ को वडा सदस्य रहेका उनी एक वर्षको अन्तरालमा नगर कमिटीको सचिवालय सदस्यमा मनोनीत भएका हुन् ।

भीम आचार्यको दबाबमा नेकपा इटहरीको भागबन्डामा जुनियर नेता काशीराम दंगाललाइ सचिव बनाएको भन्दै पूर्व एमालेका नेताकार्यकर्ताहरु खुसी छैनन् । एमालेले सचिव र माओवादीले अध्यक्ष पाएर भागबन्डा मिले पनि सचिवका उम्मेदवार कारण साबिक एमालेका नेकपा वृत्तमा व्यापक असन्तुष्टि छ । 

भीम आचार्यका नजिक सम्बन्धमा रहेका काशीनाथलाई मापदण्ड नपुगेका भन्दै हटाउनु पर्ने माग बटम लाइन बनेको छ । 

साबिक नेकपा एमालेको तर्फबाट नेकपाको सचिव बनेका काशीनाथ दंगाल भीम आचार्य नजिकका हुन् । पूर्व सांसद तथा प्रदेश एक कानुन मस्यौदा समितिका संयोजक रेवती रमण भण्डारीको गृह नगर इटहरी हो । पार्टीको उपल्लो ठाउँमा पुगेका दुवै नेताको सम्बन्ध राम्रो छैन ।

नगर कमिटिमा भीम आचार्यले अनावश्यक चासो लिएर मापदण्ड मिचेर नजिककालाई कमिटीमा राखेपछि विरोध चर्किएको थियो । भण्डारी र आचार्यको सम्बन्ध राम्रो नभएकैले भण्डारीसँग राम्रो सम्बन्ध भएका अधिकांश पार्टी कार्यकर्ता कमिटीविहीन छन् । 

२ वर्षको अन्तरालमा दंगालको वडा कमिटी मनोनीत सदस्यदेखि नगर सचिवसम्मको यात्रालाई लिएर स्थानीय नेता रुष्ट देखिन्छन् । २०७४ सालमा तत्कालीन नेकपा एमालेको वडा नम्बर ५ को वडा सदस्य रहेका उनी १ वर्षको अन्तरालमा नगर कमिटीको सचिवालय सदस्यमा मनोनीत भए । भीम आचार्यसँगको पारिवारिक साइनो पनि उनको राजनीतिक उन्नयनको मुख्य कारक भएको भन्दै कार्यकर्ता असन्तुष्ट छन् ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.