फिचर

आवाजका 'बादशाह'
SHARES

रेडियोमा बोलेरै बने सेलिब्रिटी

असोज ६, २०७६

    काठमाडौं :  'तपाईं त्यही बन्नु हुनेछ जसका लागि तपाईंको जन्म भएको छ।' हरेक व्यक्तिले कुनै न कुनै सपना बोकेको हुन्छ। ती सपना चुम्न हरेकसँग एउटा लक्ष अवश्य हुन्छ। तर सबैले आफ्ना सपना पुरा गर्न सक्दैनन्, लक्ष भेट्टाउन चुक्छन्। मान्छेलाई उसको कर्मले सिकाउँदै लान्छ। त्यही कामले मानिसको नामलाई पनि चम्काउँदै जान्छ। जब कामले मानिसको मन जित्न थाल्छ तब त्यसले आत्मसन्तुष्टि पनि दिँदै जान्छ। यससँगै थपिने जिम्मेवारी र चुनौती त छँदैछन्।

    कसैको कामले मानिसलाई मोहित बनाइरहन्छ। आफ्नो स्वरले लठ्ठ बनाउन सक्ने उनी पनि अरू जस्तै साधरण व्यक्ति हुन्। तर उनको स्वरमा जादू छ, जसले लाखाैँ स्रोतालाई मन्त्रमुग्ध बनाउँछन्। सफल कर्म भनेको सायद यही हो। मोहित पार्नसक्ने आवाजका धनीमध्ये एक हुन् अच्युत घिमिरे। उनले जिन्दगीका सुरूवाती पाइला चाल्दै गर्दै कहिल्यै सोचेका थिएनन्, स्रोतामाझ् यति प्रिय हुन्छु भनेर। रेडियोकर्मी बन्ने सपना नदेखेका उनी रेडियोबाटै लोकप्रिय बने। जिन्दगी  आकष्मिकताको जोड हो। त्यही आकष्मिकताले रेडियोमा जोडिएका उनको स्वरका अहिले लाखौं प्रशसंक छन्।

    कुनै बेला उनी दाहाल यज्ञनिधि, पाण्डव सुनुवार,हरिशरण लामिछानेहरूको आवाजले मोहित हुन्थे। रेडियोको दुनियाँमा आउनुअघि शिक्षक थिए उनी। ट्युशन पनि पढाउँथे। उनकै विद्यार्थीले एक दिन भने, 'अनलाइनसहित तीनचुलेमा एचबीसी एफएम खुल्दै छ।' तर उनलाई त्यो कुराले छोएन। रेडियोमा बोल्ने चासो नभएपछि छुने कुरा पनि भएन। त्यसबेलासम्म उनलाई आफ्नै आवाजसँग विश्वास थिएन। तर उनकै विद्यार्थीले 'घिमिरे सर'को आवाज चिनेका थिए।अन्ततः तिनै विद्यार्थीले हात समातेर उनलाई रेडियोसम्म पुर्‍याए।

    एचबीसी प्रवेशको कथा

    सानैदेखि आफ्नो खुट्टामा आफैं उभिन सक्नुपर्छ भन्ने लाग्थ्यो उनलाई। उनी गाउँमै जन्मिए, गाउँमै हुर्किए। गाउँ उनका लागि एउटा पाठशाला थियो, जसले उनलाई स्वाभिमानी हुन सिकायो। गाउँ त्यतिमै सीमित छैन। गाउँले मानवता सिकाउँछ, मेलमिलाप सिकाउँछ, त्याे भन्दा ठूलो कुरा आफ्नो खुट्टामा  उभिन सिकाउँछ। ५० को दशकमा काठमाडौंको बनोट फरक थियो। उनी काठमाडौंको जोरपाटीमा जन्मिए, त्यसबेलाको गाउँ। उबेला ऊ राजधानी सडक र विकासका अरू कुरा नाप्न चक्रपथ छिचोलेर भित्र छिर्नुपर्थ्यो। जोरपाटी जस्ता गाउँमा खेति किसानी चल्थ्यो। उनी खेतीकिसानीमै रमाउँदै हुर्किए। खेतीकिसानीले मात्रै गुजारा चल्न नसक्ने देखेर थाले ट्युशन पढाउन। त्यसबेला उनलाई लागेको थियो, 'म त गाउँको मान्छे, रेडियोमा बोल्न सक्छु र?'

    मानिसको क्षमता र सीपले भुगोल हेर्दैन। क्षमता चिन्ने मान्छे पनि एउटै भूगोलमा खुम्चिएर बस्दैन। काम गर्ने इच्छाशक्तिले यी कुरालाई पछाडि छाडिदिन्छ, कामसँग रमाउन सक्ने खुबी हेर्छ। 

    त्यसबेला अहिले जस्तो बग्रेल्ती रेडियो कहाँ थिए र? राजधानीमै पनि औँला गन्न सकिने एफएफ रेडियोहरू थिए। रेडियो नेपालको प्रभाव छँदैथियो। विस्तारै एफएम रेडियो सूचना-सञ्चारको पहिलो माध्यम बनेपछि रेडियोबाटै सेलिब्रिटी बन्ने हस्तीहरू निस्किए। उनीहरूका नाम जनजनका जिब्रोमा झुण्डिन थाले। मिरा आचार्य, दिनेश डिसी, प्रकाश थापा, डियर कल्याण, रिता लिम्बू जस्ता रेडियोकर्मीहरूले स्रोतामा छाप छाडिसकेका थिए। तर घिमिरेसँग आवाज अनि वाचन कला थियो। तर तालिमबारे बुझेका थिएनन्। उनी अहिले पनि सम्झिन्छन्, 'बोल्नैका लागि सिक्नुपर्छ भन्ने नै कहाँ थियो र त्यो बेला?'

    विद्यार्थीले हात समाउँदै एफएमसम्म पुर्याएका घिमिरे सरले २०५६ सालमा एचबीसीमा काम गर्न थाले। एचबीसीमा जानु ५ महिना अघि  स्वर्गीय राजा वीरेन्द्रको जन्मोत्सवको  शुभकामनाका लागि उनैले आवाज दिए। जुनबेला रेडियो परिक्षण प्रशारण हुँदै थियो। शुद्ध नेपाली बोल्ने चार पाँचमध्ये उनको आवाज अब्बल ठहरियो। उनले नै राजा वीरेन्द्रको शुभकामना दिए।

    राजाले दिने शुभकामनाको रेकर्ड उनले ४० पटक गरेका थिए। भोलिपल्ट बिहानै उक्त शुभकामना सन्देश रेडियोमा बज्ने पूर्वयोजना थियो। उनी सधैँ अबेर उठ्थे, तर त्यो दिन सबैरै उठे। रेडियोको कान बटारे। पहिलो पटक आफ्नो आवाज रेडियोमा सुने। मुटु ढुकढुी बढ्यो, ढक्क फुल्यो। अच्चमित भए। आफु आफैसँग नभए जस्तै लाग्यो। त्यो दिन उनले ठानेँ, 'ओहो! मेरो आवाज त दुनियाँले सुनिसक्यो, म चर्चित भएँ।'

    रेडियोमा आफ्नो आवाज पहिलो पटक सुन्दा उनको मनले त्यही सोच्यो। उनी मुसुक्क मुस्कुराउदैँ भन्छन्, 'त्यो बेलाको अवोधपना अहिले सम्झिँदा काउकुती लाग्छ।'

    एचबीसीमा उनले पहिलो कार्यक्रम नै श्रुती संवेग सुरू गरेका हुन्। त्यो बेलादेखि अहिलेसम्मको लामो यात्रा छिचोल्दा पनि नेपाली मिडियामा व्यवसायिकता आइसकेको छैन। त्यहीकारण धेरै सञ्चाकर्मी मारमा छन्। पहिलोपटक उनी संचारकर्ममा लाग्दा कति कमाए होलान? यसको उत्तर उनलले सजिलै दिए। 'सायद पुसबाट सुरू गरेको थिएँ काम', उनले सुनाए, 'पाँच हजार तलब बुझेको थिएँ। आफैँले कमाएर पहिलो पटक पाँच हजार देखेको थिएँ।'

    रेडियोको यात्रासँगै उनले पहिलो पटक वाचन गरेको कृति थियो गुरूप्रसाद मैनालीको कथा 'चिताको ज्वाला'। उनले एचबीसीसँगको सहयात्रा ९ वर्षमा टुंग्याएर नयाँ यात्राको थालनी गरे।

    बुलबुल र श्रुती संवेगसँग सहयात्रा

    रेडियोको करिअर थालेको एचबीसीसँगको ९ वर्षे यात्रालाई बिट मार्दै उनी एण्टेना फाउण्डेशन पुगे। त्यहाँ उनी लामो समय बसेनन्। एक वर्षको छोटो यात्रापछि उनले उज्यालो नाइन्टी नेटवर्कलाई अंगाले। तर उनले साथमै लिएर गए श्रुती संवेग र बुलबुललाई।

     बुलबुल र श्रुती संवेग सुनेर साहित्य यात्रा थालनी गरेको पुस्ता अहिले हुर्किसकेका छन्। सार्वजनिक स्थानमा उनको कार्यक्रम र आवाजको प्रशंसा गर्ने प्रशस्त भेटिन्छन्। बुलबुल उनले २०५८ सालबाटै सुरू गरेका थिए। साहित्यका अनेक विधामध्ये गजल पनि हो। यो विधामा अनेक विवाद भए पनि गजल लेख्ने नयाँ पुस्ताका लागि बुलबुल पाठशाला नै हो। नयाँ पुस्ताका तन्नेरीले एकपटक बुलबुल सुनेकै हुन्छन्। बुलबुल सुनेर गजल कोर्नेहरू धेरै छन्। बुलबुलमा आफ्नो गजल प्रसारण होस् भन्ने इच्छा धेरैले पालेका छन्। 

    उनी बुलबुल र श्रुती संवेगमध्ये श्रुती संवेगका श्रोता धेरै भएको मान्छन्। 'श्रुती संवेग श्रोताले सुन्छन्, आनन्दले बस्छन्, प्रतिक्रिया दिँदैनन्। यसमा प्रतिक्रिया पढिँदैन', उनी भन्छन्, 'तर बुलबुलमा प्रतिक्रिया दिने श्रोता बढी हुनुहुन्छ। यहाँ प्रतिक्रियाले ठाउँ पाउँछ। जहाँ आफ्नो सहभागिता हुन्छ, मान्छे त्यहीँ आकर्षित हुन्छ।'

    उनका देशदेखि विदेशसम्म अनगिन्ती प्रशंसक छन्। तर उनको अचम्मको स्वभाव छ, भिडदेखि डराउने। भिडले प्रशंसा गर्दा आफ्नो जिम्मेवारी के होला? त्यसबेला आफूले कस्तो प्रतिक्रिया दिनुपर्ला? हाँस्नु पर्ला कि गमक्क परेर भलाद्मी बनिदिनुपर्ने हो? उनी यस्तै प्रश्नले दोधारमा पर्छन्। 

    बुलबुल अहिले पनि ६० भन्दा बढी स्थानीय रेडियोमा एकसाथ प्रसारण हुन्छ। श्रुतीसंवेग एक सय भन्दा बढी रेडियोबाट बज्छ। उनी यी २ कार्यक्रममा मात्रै अड्किएका छैनन्,  उज्यालो फल्चा र कविता वाचन कार्यक्रम पनि चलाउँछन्।

    श्रूती संवेगमा कसरी छानिन्छ किताब?

    घिमिरेले रेडियोमा कथा, उपन्यास, गजल वाचन गरेको २ दशक भइसकेको छ। उनैले श्रुती संवेगमा डेढ सय भन्दा बढी उपन्यास वाचन गरिसकेका छन। वाचन गरिएका कथाको संख्या ४ हजार भन्दा माथि छ। 

    कसरी छानिन्छ त पुस्तक? यो प्रश्न धेरैको मनमा छ। बजारमा आएको र समालोचकीय दृष्टिकोणले अब्बल, लोकप्रियता, छायाँमा परेका पुस्तकसमेतलाई उनी वाचन गर्छन्। 'अडिबिलिटी, समाजमा उक्त पुस्तकले पार्ने प्रभाव र लेखकको लोकप्रियता! तर तेस्रो कुरा चाहिँ मिश्रित हुन्छ,' उनी सुनाउँछन्। 

    कुनै बेला पुस्तक छान्न मुस्किल पर्थ्यो। पुस्तक वाचनका क्रममा कोहीलाई काखा, केहीलाई पाखा गरेको देखिए विरोध हुने डर उत्तिकै थियो। तर अब डर छैन। रेडियोको २० वर्षे यात्रामा निरपेक्ष भएर पुस्तक वाचन गरेको उनी स-गौरव  बताउँछन्। 'कहिलेकाहीँ आफूलाई मन नपरेका पुस्तक पनि पढ्नपर्छ', उनको अनुभवले भन्छ, 'किनभने हरेक व्यक्तिको पढ्ने विषय र मनपर्ने किताव फरक हुन सक्छन्।' 

    पाठक पत्रको कथा

    नेपथ्यमा बसेर उनलाई पत्र पठाउने हजारौं छन्। तिनैमध्ये केही पत्रले उनलाई काममा दत्तचित्त भएर लागिरहन प्रेरित गर्छन्। एउटै व्यक्तिले १९ श्रृंखलासम्म पत्र पठाएका थिए। उनको ठेगानामा अर्को पत्र आएको थियो। जसले उनलाई सोच्न बाध्य बनाइदियो। 'म जिन्दगीदेखि हारिसकेको थिएँ। मेरो खुशी, आँशु, पीडा  सुन्ने कोही थिएनन्। मैले मेरो अन्तरमनका कहानी तपाईलाई पठाएको थिएँ', उक्त पत्रमा भनिएको थियो,'बुलबुलमा हजुरले कति सजिलै प्रसारण गरेर ममाथि ऊर्जा थपिदिनु भयो। धन्यवाद! तपाईंलाई  मैले आत्महत्याको बाटो रोकेँ।'

    उनी व्यवस्थापको भूमिकामा हुँदा कहिलेकाहीँ बुलबुल दोहोर्‍याउनु पर्थ्यो। एकदिन नियमित श्रोताको पत्र आयो। पिताम्बर पत्र आधा जलिसकेको थियो। 'अब बुलबुललाई मसानघाटमा जलाइदिनु,' पत्रमा लेखिएको थियो। यस्ता कयौं पत्र छन् उनीसँग। जसले रेडियोको दुनियाँबाट पर जानै दिएको छैन। यी पत्रहरू उनका आवाजले कमाएका निजी सम्पत्ती हुन्।

    रेडियो वाचकसगैँ व्यवस्थापक पनि

    जनमानसले चिन्ने उनको परिचय रेडियो वाचक हो। तर उनी कुशल रेडियो व्यवस्थापक पनि हुन्। २०५८ सालमा उनी कार्यक्रम अधिकृतको काम गरे एचबीसीमा। एण्टेना फाउन्डेसनमा पनि रेडियो व्यवस्थापक भएरै सक्रिय भए। त्यो एक वर्ष उनको आवाज दर्शकले सुन्न पाएनन्।

    उनको काँधमा 'नयाँ बाटो नयाँ पाइलो' रेडियो नाटकको सिनियर प्रोड्युसरको जिम्मेवारी थियो। उज्यालोमा पनि रेडियो व्यवस्थापकको काम गरेका छन्। तर साउनदेखि व्यवस्थापन क्षेत्रलाई बिट मारिदिए। यसलाई उनले समयको अभाव भनिदिए।

    बुलबुल पब्लिकेशन

    साहित्य कार्यक्रम गरिसकेपछि संगत पनि साहित्यमा रूचि भएका र साहित्यकारसँगै हुनु स्वभाविक हो। उनलाई कतिपयले आफ्नो पुस्तक कहाँ छाप्ने भनेर प्रश्न गर्थे। तर सधैँ जवाफ दिएर हैरान भए। त्यसपछि आफ्नै प्रकाशन गृह खोल्ने योजना बनाए। अनि सुरू भयो बुलबुल पब्लिकेशन।

    बुलबुल प्रकाशनले पुस्तक प्रकाशन गरिरहेको छ। २०७२ सालदेखि उनी पुस्तक प्रकाशनमा जुटेका छन्। केही दिनअघि बुलबुल प्रकाशनमाथि लेखकको पैसा खाएको आरोपसहितको समाचार छापियो। पंक्तिकारले उक्त समाचारप्रति संकेत गर्दै सीधा प्रश्न गर्‍यो, 'तपाईंले नयाँ लेखक लुट्न प्रकाशन गृह खोल्नु भएको हो?' तर उनले समाचारमा कुनै पनि सत्यता नरहेको भन्दै इन्कार गरे।

    उनले यो ३ वर्षमा ५० भन्दा बढी लेखकसँग सहकार्य गरेको सुनाए। कसैले पनि आफुसँग चित्त नदुखाएको अनुभव उनले बाँडे। 'एकजना लेखकलाई मसँग के कुराकमा चित्त बुझेन अनि पैसा खायो भनिदिनु भयो', उनले समाचारप्रति इंगित गर्दै भने, 'समाचार सत्यतथ्य, निष्पक्ष पत्रकारिताको अभ्यास हो। समाचार लेख्नुपूर्व पत्रकारले आरोप लागेको व्यक्तिमाथि सत्यता बुझ्न जरूरी ठान्नु भएन। पत्रकारहरू समाचार लेख्नुपूर्व जिम्मेवार हुन जरूरी छ।'

    आउला उपन्यास

    २० वर्षदेखि नेपाली साहित्यका श्रोतालाई आवाजले मोहित बनाएका उनको उपन्यास आउने चर्चा साहित्यिक बजारमा तीव्र थियो। तर उनी स्वयम् भने यसबारे मौन थिए।

    उनले उपन्यास लेख्न थालिसकेका छैनन्। तर विषयका प्लटहरू भने संकलन गरिसकेको बताए। 'विषयवस्तु तयार भएको छ। तर व्यस्तताले आफ्नै पुस्तकलाई समय दिन सकेको छैन', घिमिरेले सुनाए, 'ढिलो, चाँडो उपन्यास पक्कै लेख्छु।'

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। उनी साहित्य तथा फिचर लेखनमा रुचि राख्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]