|

म्याग्दी : स्याउको राजधानी मानिने हिमाल पारिको पर्यटकीय जिल्ला मुस्ताङको अर्को चिनारी हो ‘मार्फा ब्रान्डी’। बजारमा बिक्री नभएका गोल्डेन स्याउ,खुर्पानी,चिली र आरुबखडा लगाएतका फलफूललाई प्रशोधन गरेर बनाइने माफ्रा ब्रान्डी देश विदेशमा पनि उत्तिकै लोकप्रिय छ। यसको माग वर्षेनी बढ्दै गएको शितोष्ण वागवानी विकास केन्द्र मार्फाले जनाएको छ।

शितोष्ण वागवानी विकास केन्द्रमा विभिन्न फलफुल प्रशोधनको गरिन्छ। वागवानीले फर्ममा उत्पादित विभिन्न फलफूल प्रशोधन गरी ब्रान्डी, वाइन, साइडर, जाम र सुकुटी बनाउने गरेको केन्द्रका वरिष्ठ अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिए।

मार्फा ब्रान्डी बनाउन भण्डारण

उनका अनुसार स्याउबाहेक खुर्पानी, चिली र आरुबखडा जस्ता फललाई बोटबाट टिेपेर धोई पखाली हावा नछिर्ने ड्रममा एक हप्तासम्म भण्डारण गरेपछि मार्फा ब्रान्डी बनाउन शुरु गरिन्छ।

एकसातापछि निचोरेर छोक्रा निकाली तरल पदार्थ ठूलो भाँडोमा राखेर २ घण्टासम्म आगोमा पकाइन्छ। पकाइएको तरल पदार्थ पुनः ल्याबमा राखेर ग्यास जारबाट बाहिर निकालिन्छ। त्यसपछि वाइनको झोलमा चिनीको मात्रा मिलाइन्छ। यस्तै वाइन बनाउँदा निकालिएका छोक्रालाई पुनः ब्यारेलमा राखेर दुई सातासम्म हावा नछिर्ने गरी भण्डारण गरिन्छ।  भण्डार गर्दा मर्चा र केमिकल पनि मिसाइन्छ।

यसरी भण्डार गरिएको स्याउ तथा अन्य फलफूलको छोक्रा र रसलाई ब्यारेलमा राखेर कुहाइन्छ। निश्चत अवधिपछि उक्त जाँडलाई भट्टामा राखेर पकाइन्छ। यसबाट उठेको बाफ नै ब्रान्डीको रुपमा पाइपमार्फत् बाहिर निकालिन्छ र ब्रान्डी तयार हुन्छ।

बागवानी विकासले वार्षिक बजेट तथा कच्चा पदार्थ उत्पादनलाई मध्यनजर गरेर फलफूल प्रशोधन गर्ने गरेको वरिष्ठ अधिकृत अधिकारीले जानकारी दिए। कच्चा पदार्थ र बजेट अनुपात अनुसार प्रशोधनको लक्ष्य राखिएको उनले बताए।

उनले यो वर्ष साइडर, वाइन र ब्रान्डी गरी २ हजार ८०० लिटर, स्याउको जाम १५० केजी र स्याउको सुकुटी एक क्विन्टल तयार पार्ने लक्ष्य रहेको बताए।

मार्फामा मात्रै बागवानी बाहेक ५ वटा ब्रान्डी उत्पादन गर्ने निजी डिस्टिलरी छन्। यस्तै अन्यले स्याउका विभिन्न परिकार बनाएर बिक्रि गर्ने गरेको उनको भनाई छ। मार्फा वागवानी विकास केन्द्रको कुल क्षेत्रफल १७५ रोपनी मध्ये ७ हेक्टर जमिन खेतीयोग्य छ। केन्द्रमा अहिले वरिष्ठ अधिकृत सहित आधा दर्जन कर्मचारी कार्यरत छन्।

मार्फा ब्रान्डीको उच्च माग

मार्फा ब्रान्डी मुस्ताङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि कोशेली हुने गरेको छ। उनीहरु मुस्ताङबाट फर्किदा मार्फा ब्रान्डी,स्याउ,स्याउको सुकुटी,च्याङ्ग्राको सुकुटी, दाँते ओखर,छुर्पी लगाएतका चिजहरु लिएर फर्कने गरेको मार्फाका सुन्दर शेरचनले बताए।

नेपाली बजारमा मार्फा ब्रान्डीको उच्च माग रहेको छ। यहाँ उत्पादित ब्रान्डी शुद्ध हुने र युरिक एसिड लगाएतका बिरामीहरुका लागि फाइदाजनक हुने हुँदा पनि मुस्ताङ आएका व्यक्तिहरुले कोशेली वा उपहारको रुपमा लैजाने गर्छन्। मार्फामा ८ सय रुपैयाँमा पाइने स्पेशल मार्फा ब्रान्डी बेनीका पसलहरुमा ११ सय वा सोभन्दा बढी मूल्यमा बिक्री हुने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.