|

काठमाडौं : सिंहदरबारभित्रको पुतली बगैँचामा संघीय संसदको भवनको शिलान्यास गरिएको छ। इन्टरनेशनल स्टेट अफ द आर्टको मोडलमा बनाउन लागिएको संघीय संसद भवनको बुधबार सिंहदरबारभित्र रहेको पुतली बगैचामा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरे।

संघीय संसद भवन एक सय ७३ रोपनी ८ आना क्षेत्रफलमा बनाउन लागिएको संघीय संसद भवनको निर्माण लागत अनुमान ७ अर्ब ७३ करोड ५२ लाख ४ हजार ७ सय ३१ रुपैयाँ छ। 

मूल्यबृद्धि र विभिन्‍न कन्टिजेन्सीसहित बजेट व्यवस्थापन प्रयोजनका लागि सम्पूर्ण निर्माणको लागत करिब ९ अर्ब ६० करोड रहेको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले बताए। 

कार्यक्रममा शहरी विकासमन्त्री मोहमद इस्तियाक राईले संघीय ससद भवन निर्धारित समयमै सम्पन्‍न गरिने प्रतिवद्धता जनाए। संघीय संसद भवन परिसरभित्र प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, कमन लबी,अति विशिष्ट व्यक्तिहरूको लागि कार्यालय भवन, पुस्तकालय र संग्राहलय, संसदीय दलको कार्यालय भवन,  संसदीय समितिको भवन र चमेना गृह पनि बनाइनेछ। 

त्यसैगरि प्रेस-छपाई भवन र ७०० वटा सवारी साधन पार्किङ एवम् सुरक्षाकर्मीको भवन बन्‍ने छन्। परिसर भित्रका भवन ३ देखि ५ तलाकासम्म निर्माण गरिने छ। प्रतिनिधिसभाको भवन ४०० सिट क्षमताको र राष्ट्रियसभाको भवन १०० सिट क्षमताको बन्‍नेछ।

संसद भवन परिषरलाई भवन क्षेत्र, खुल्ला, हरियाली क्षेत्र र पार्किङ्ग क्षेत्र तथा सडक पूर्वाधार क्षेत्र गरी तीन वटा क्षेत्रमा विभाजन गरिएको छ। भवनले २७, खुल्ला हरियाली क्षेत्रले ४५ र २८ प्रतिशत क्षेत्रफल सडक पूर्वाधारले ओगटेको हुनेछ।

परिसरको मूल ढोका दक्षिणतर्फ रहने छ। उत्तर पश्चिमको गेटबाट सांसदहरूलाई प्रवेश गराइने छ। दक्षिणपूर्वमा कर्मचारी तथा सर्वसाधरण प्रवेशको लागि गेट रहने छ। सबै गेटमा जाँचका लागि आधुनिक सुरक्षा प्रविधि जडान हुनेछ।

संसदको आफ्नै भवन नहुँदा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिई संघीय संसदका दुवै सदनको बैठक सञ्चालन भइरहेको छ। सचिवालय र समितिका बैठक भने सिंहदरबारभित्र सञ्चालन हुँदै आएका छन्। नयाँ भवन निर्माण भएपछि संघीय संसदका आवश्यक सम्पूर्ण कार्यालय एकै स्थानमा व्यवस्थित ढंगले हुने छन्।

सम्बन्धित समाचारः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.