|
फाइल फोटो

उदयपुर : दुई दिनदेखिको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोमा परी प्रदेश १ का एकजनाको मृत्यु भएको छ भने १२ घर डुबानमा परेका छन्। प्रदेश १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत तथा प्रहरी वरिष्ठ उपरीक्षक शेखर कोइरालाका अनुसार संखुवासभाको मकालु गाउँपालिका ६ बस्ने वर्ष २६ की शुकमाया राईको खोलाले बगाएर मृत्यु भएको हो।

उनका अनुसार सोमबार अपरान्ह ४ बजेको समयमा शुकमाया राईसहित अन्य चारजना आफन्तको घर गएर फर्कने क्रममा सिलिचोङ गाउँपालिका ५ र मकालु गाउँपालिका ६ को बीचमा पर्ने पोखुवा खोला तर्ने क्रममा अचानक पानीको भेल आई शुकमायालाई खोलाले बगाएको थियो।

यसैगरी, अविरल वर्षाका कारण संखुवासभाको सिलिचोङ गाउँपालिका ३ का अर्जुन राईको घर भत्कदा विस्थापित भएका छन्। वर्षाका कारण घर भत्किएर पूर्णरूपमा क्षति हुँदा विस्थापित भई आफ्नै गोठघरमा बसेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

यसैगरी, उदयपुरमा अविरल वर्षासँगै आएको बाढी गाउँ पस्दा उदयपुरको बेलका नगरपालिका ३ निशानटोल सातपत्रेका १२ घर डुवानमा परेका छन्। स्थानीय गिदेरी खोलाको बाढी गाउँ पस्दा उक्त टोलका १२ घर डुबानमा परेका हुन्। यसैगरी बेलका नगरपालिका ६ घारे खोलाको बाढीले हाइड्रोपावर बगाउँदा १५ घर परिवारको विद्युत् अवरुद्ध भएको छ भने उक्त बाढीले स्थानीय मानबहादुर राईले पालेका ५ वटा सुँगुर र १ वटा  गोरु बगाएको छ।

यसैगरी, उदयपुरको चौदण्डीगढी नगरपालिका ३ को काली खोलाले को १ च ६४२० नम्बरको मारुति भ्यानलाई बगाउदा क्षति भएको छ। उक्त भेनमा सवार ३ जनाको सकुशल उद्धार गरिएको छ भने भेनलाई खोलाबाट बाहिर निकाली खोला किनारामा राखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढामगरले जाननरी दिए। उनका अनुसार त्यस्तै त्रियुगा नगरपालिका ३ मा रमानन्द शाहले संचालन गरेको किराना पसलमा भेल पस्दा करिव ६ लाख बराबरको क्षति भएको छ।

झापामा माइखोलामा आएको बाढीले  कटान गर्दा जोखिममा परेका झापाको शिवसताक्षी नगरपालिका १० बानडाँडा सुकुम्वासी टोलमा रहेका ३ घर परिवारलाई अन्यत्र सारिएको छ। उक्त स्थानमा ईलाका प्रहरी कार्यालय झिलझिले र अस्थायी प्रहरी चौकी माइधारबाट खटिएको प्रहरी टोलीले ३ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.