|

बाँके : बिहानदेखि परेको अविरल वर्षाले नेपालगन्जबाट हिमाली र पहाडी जिल्लामा हुने सम्पूर्ण उडान प्रभावित भएका छन्। बिहान डोल्पाबाहेक अन्य कुनै दुर्गम जिल्लामा विमान उडान नभएको नेपालगन्ज नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए।

उनले हिमाली र पहाडी भेगमा हुस्सु र कुहिरो लाग्ने र दुर्गभ भेगका विमानस्थलको स्तर गुणस्तरिय नभएकोले उडान प्रभावित भएको बताए। 'पानी परिरहेको बेला पहाडमा लाग्ने हुस्सु र कुहिरोमा विमान हराउने सम्भावना भएकोले उडान प्रभावित भएका हुन्,’ उनले भने।

उनले दुर्गम जिल्लाका उडान प्रभावित भए पनि नेपालगन्ज-काठमाडौं र काठमाडौं-नेपालगन्ज नियमित उडानलाई वर्षाले असर नगरेको बताए। नेपालगन्ज क्षेत्रमा बुधबार बिहानैदेखि मुसलधारे वर्षा भए पनि बुद्ध, यती र श्री एयरलायन्सको नियमित उडान प्रभावित नभएको उनले बताए।

दिउँसो श्री एयरलायन्सको विमान काठमाडौंबाट नेपालगन्ज विमानस्थलमा आएर फर्किएको उनले बताए। मुसलधारे वर्षा भए पनि विमान उडान र अवतरणका लागि आवश्यक पर्ने पर्याप्त भिजिविलिटी भएका कारण उडानमा कुनै असर नपरेको कार्यालय प्रमुख ठाकुरले बताए। 'पानी पर्दैमा विमान उडानमा कुनै असर गर्दैन, उडान र अवतरणका लागि आवश्यक पर्ने भिजिविलिटी भए पुग्छ,’ उनले भने।

बुधबार बिहान ७:३० बजेबाट सुरु भएको वर्षा प्रतिघण्टा १८.७ मिलिमिटर (एमएम) परिरहेको जल तथा मौसम विज्ञान विभाग, नेपालगन्जका फिल्ड इन्चार्ज पलबहादुर विकले जानकारी दिए। उनले दिनभर ६९.६ मिलिलिटर वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको बताए।

अंग्रेजी महिनाको जुन, जुलाई, अगष्ट र सेप्टेम्बरलाई वर्षा हुने महिनाको रूपमा लिइने गरेको बताउँदै उनले सबैभन्दा बढी जुलाई महिनामा वर्षा भएको जानकारी दिए। जुलाईमा ६६६.९ मिलिमिटर वर्षा भएको बताउँदै उनले जुन महिनामा २६९ एमएम वर्षा भएको बताए । '९ जुलाई, २०१९ मा सबैभन्दा धेरै १६० एमएम वर्षा भएको रेकर्डले देखाएको छ,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.