|

पोखरा : नेपालमा हिमाल आरोहणको समय सुरु भइसकेको छ। आरोहणको लागि भदौ मसान्तसम्म ३९८ जनाले अनुमति लिइसकेका छन्। यस वर्ष नेपालका १८ वटा हिमालका लागि ४८ समूहका ३९८ जनाले आरोहण अनुमति लिइसकेको पर्यटन विभागले जनाएको छ। नेपालसहित ४७ देशका आरोही हिमाल आरोहणमा जानको लागि तयारीमा छन्।

पर्यटन विभागले मौसम प्रतिकूल रहेकोले आरोहीलाई हिमाल आरोहणको यात्रामा नजान पर्वतारोहणका कार्यव्यवस्थापन गर्ने एजेन्सीहरूमार्फत आग्रह गरेको छ। विभागले सूचना जारी भनेको छ,‘जल तथा मौसम विभाग (मौसम पुर्वानुमानशाखा) का अनुसार देशभरीको मौसम असोज २ गतेसम्म प्रतिकूल रहने हुँदा पर्वतारोहणका कार्यव्यवस्थापन गर्ने एजेन्सीले आफूमार्फत विभिन्न हिमालको आरोहणको लागि गएका सबै व्यक्तिहरूको सुरक्षित बसोबास तथा आरोहणको व्यवस्था मिलाउनुहुन अनुरोध छ।’

त्यस्तै, विभागले मौसम पूर्वानुमान शाखाले जारी गर्ने मौसमको पूर्वानुमानलाई पनि ध्यान दिएर आरोहण यात्रामा निस्कन आग्रह गरेको छ। ‘मौसमको अनुकूलताको ख्याल राखेर मात्र आरोहणका कार्य गर्नु/गराउनु हुन अनुरोध छ।’

यस वर्ष आरोहण अनुमति लिएका १८ मध्ये सबैभन्दा धेरै आरोही मनास्लु आरोहणमा निस्कँदैछन्। केही मनास्लु आरोहणको लागि मनाङको बाटो हुँदै र केही गोरखाको मनास्लु पदमार्गको बाटो हुँदै त्यसतर्फ लागिसकेका छन्। आरोहण अनुमति लिएका ३९८ जनामध्ये २६० जना मनास्लुको लागि अनुमति लिएका छन्। 

यस सिजन विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहीको रोजाइमा खासै परेन। सगरमाथालाई मनास्लु हिमाल र धौलागिरीले धेरै नै पछि पारे। सगरमाथा आरोहणको लागि २ समूहका जम्मा १० जनाले पर्यटन विभागबाट अनुमति लिएका छन्।

यस सिजनमा सबैभन्दा धेरै आरोहीको रोजाइमा परेको मनास्लु (८१६३ मि.) २६ समूहका २६० जनाले आरोहण अनुमति लिइसकेका छन्। त्यस्तै दोस्रो रोजाइको धौलागिरी  हिमाल (८१६७ मि.) आरोहणको लागि २ समूहका ३० जनाले अनुमति लिइसकेको पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले जानकारी दिए।

त्यस्तै, अपी हिमाल (७१३२ मि) को लागि एक समूहका चारजनाले, भृकुटी हिमाल (६४६० मि.) चढ्न एक समूहकै नौजनाले अनुमति लिएका छन्। डाँफे सैल (६१०३ मि.) हिमाल चढ्न एक समूहको तीनजना, हिमाल गाउँगिरी (६११० मि.) आरोहणको लागि एक समूहका पाँचजना, हिम्लुङ हिमाल (७१२६ मि.) को लागि एक समूहको नौजना, ल्होत्से हिमाल (८५१६ मि.) चढ्न २ समूहका १३ जनाले पर्यटन विभागबाट अनुमति लिइसकेका छन्।

लाङटाङ रि हिमाल (७२०५ मि) चढ्न एक समूहको ५ जनाले अनुमति लिइसकेका छन्। त्यस्तै लुबुला हिमाल (६८९९ मि) को लागि एक समूहको १४ जना, मकालु हिमाल (८४६३ मि) चढ्न भने जम्मा एक समूहका चारजनाले अनुमति लिएका छन्। नुप्त्से हिमाल (७८५५ मि) चढ्नको लागि पनि एक समूहकै ८ जनाले अनुमति लिइसके। पानपोचे हिमाल पहिलो (६६२० मि) लाई दुई समूहका आठजना, पानपोचे हिमाल दोस्रो (६५०४ मि) आरोहणको लागि एक समूहका तीनजना, सरिबुङ हिमाल (६३४६ मि) आरोहणको लागि दुई समुहका आठजना, तेङगाङ पोचे (६४८२) एक समूहका तीनजना, थोरङ पिक हिमाल (६१४४ मि) को लागि एक समूहका दुईजनाले आरोहण अनुमति लिएको पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले जानकारी दिए। ३९८ आरोहीले पर्यटन विभागमा तीन करोड ९६ लाख ४८ हजार एकसय ६२ रुपैयाँ ८२ पैसा रोयल्टी बुझाइसकेका छन्।


सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.