वर्षाले बन्द भए गाउँका कच्ची सडक

|
ढुंगा टिप्दै कांग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी (जिन्सको पाइन्ट लगाएका) फोटो : छविलाल तिवारी

पर्वत : सिमसिम पानी परिरहेको थियो, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीसहितका नेताहरू सवार जिप एकाबिहानै कांग्रेसको जागरण अभियानको लागि जिल्लाको बिहादी गाउँपालिकातर्फ हुइँकियो। गाडीमा कुस्मा नगरपालिकाकी उपप्रमुख सिता काफ्ले लामिछानेसहित कांग्रेस सम्बद्ध भातृ

सङ्गठनका नेताहरू पनि सवार थिए। जब जिप फलेवास नगरपालिका-४ मुडिकुवामा पुग्यो सडकमाथिबाट खसेको पहिरोले बाटो ढपक्कै ढाकेको थियो। नेताहरूलाई   जागरण अभियानको कार्यक्रममा जसरी पनि पुग्नु नै पर्ने थियो।

जिपबाट ओर्लेर हिलोमा

यही कारण केन्द्रीय सदस्य जोशीसहितका नेताहरू जिपबाट ओर्लिए हिलोमा कच्याककुचुक टेक्दै पहिरो पन्छाए अनि अगाडि बढे।

मुडिकुवामा मात्रै होइन अरू ठाउँमा बाटोले उनीहरूलाई निकै सास्ती दियो। कोही ठाउँका सडकमा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध गराएको थियो त, कतिपय ठाउँमा सडक नै भत्किएर खसेको थियो। 

पछिल्लो तीन दिनदेखि भइरहेको अविरल वर्षाका कारण पर्वतका नेता मात्र होइन नागरिक सवार सवारी साधनहरूको अवस्था पनि यस्तै बनेको छ। बिहानको समयमा मौसममा केही सुधार देखिने गरेको भए पनि लगत्तै वर्षा हुँदा जिल्लाको सदरमुकाम कुस्मा र गाउँपालिकाका केन्द्रहरूबाट विभिन्न गाउँमा जोडिने सडकहरू आंशिक तथा पूर्ण रूपमा बन्द भएका छन्।

गाउँका कच्ची सडक बन्द

गएको असार महिनामा वर्षा हुनुपर्ने भए पनि वर्षा नहुँदा सुरक्षित रहेका ग्रामीण क्षेत्रसँग जोडिने सडकहरू भने भदौ अन्तिम साताको वर्षाका कारण असोज महिनामा अवरुद्ध बनेका हुन्।

ग्रामीण क्षेत्रमा जोडिने कतिपय सडकहरू ग्राभेल गरिएका कारण बिना अवरोध सवारीहरू आवतजावत गरिरहेको भए पनि ग्राभेल नगरिएका कतिपय चिप्ला बाटाहरूमा भने सवारीहरू चल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामबहादुर भट्ट क्षेत्रीले बताए।

उनका अनुसार विभिन्न ठाउँबाट सदरमुकाम कुस्मा बजारमा भित्रिएका जिपहरूले बाटोको समस्याका कारण जोखिम मोलेरै यात्रा गर्नुपरेको छ। ग्रामीण क्षेत्रमा सञ्चालन हुँदै आइएका कतिपय सवारीहरू विभिन्न गाउँमै थुनिएका छन् भने कतिपय सदरमुकाममा रोकिएका छन्।

जिल्लाका स्थानीय तहका प्रमुखहरूले भने अब वर्षा रोकिए लगत्तै ग्रामीण क्षेत्रमा जोड्ने सडकहरू सुचारु गराउने बताएका छन्। ‘अहिले वर्षा भइरहेको छ, वर्षा रोकिँदा साथ नगरपालिकाले ग्रामीण क्षेत्रहरूमा जोड्ने सडकहरू सञ्चालनमा ल्याउने छ। तर कुस्मा नगरपालिकाको हकमा भने त्यति धेरै ठाउँका सड्कहरु प्रभावित भएका छैनन्।’ कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले भने।

उता फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले असोज लागेसँगै बिस्तारै दसैँको चहलपहल सुरु भएकोले पनि वर्षा रोकिँदासाथ पहिरोका कारण अवरुद्ध भएका सडकहरूलाई सञ्चालनमा ल्याउने बताए।

‘नेपालीहरूको महान् पर्व दसैँ पनि लाग्न थालेको छ, समयमा बाटो बनाउन नसकिए यात्रुलाई अफ्ठ्यारो हुन्छ।’ उनले भने, ‘वर्ष हुन सक्ने आशङ्कामा धेरै सड्कहरुको सुधार गरेका छैनौँ, अब पानी रोकिएपछि सबै ग्रामीण क्षेत्र जोड्ने सडकहरु सुचारु हुनेछन्।’

नागरिकलाई सास्ती

वर्षाका कारण ग्रामीण क्षेत्रका सडकहरूमा यातायातका साधनहरू सञ्चालनमा कठिनाइ हुँदा बिरामी ओसारपसार गर्न तथा अन्य अत्यावश्यक कामका लागि पालिकाका केन्द्रहरू तथा सदरमुकामसम्म पुग्ने नागरिकलाई सास्ती भएको छ।

जिल्लाका स्थानीय तहहरूले हरेक वर्ष ठुलो बजेट सडकमा नै खन्याउँदा पनि कतिपय ठाउँका सडकहरू बर्षौदेखि सास्ती दिने माध्यम मात्रै बनेका छन्। जिल्लाका हरेक स्थानीय तहहरूले विकासको प्राथमिकतामा सडकलाई नै राखेका छन्। यद्यपि नागरिकहरू भने सडककै कारण जोखिम मोल्न र दुःख पाउन अझै पनि बाध्य भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.