सांसदका सुझाव : 'लामखुट्टेश्वर महादेव' स्थापना गर्नू, विदेश घुमिरहनू

|

काठमाडौं : मुलुकमा डेंगुका कारण अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो वर्ष साउन १ गतेदेखि नेपालमा यो रोगको संक्रमण देखा परेको हो। 'एडिस एजिप्टाई' जातको लामखुट्टेले टोक्दा सर्ने यो रोगका कारण भदौ २३ सम्म ५८ देशका ५ हजारभन्दा बढी नेपाली प्रभावित भइसकेका छन्।

डेंगुले जनता प्रभावित भएको तर सम्बन्धित मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव भने विदेश भ्रमणमै व्यस्त भएको भन्दै संघीय संसदमा उनको चर्को आलोचना भएको छ।

सांसदहरूले डेंगुबारे मन्त्री यादवबाट बारम्बार जवाफ माग गरेपछि सभामुख कृष्णबहादुर महराले रुलिङ नै गर्नुपरेको थियो। सभामुखको रुलिङ नै गएपछि मन्त्री यादव बुधबार संसदमा प्रवेश गरेका थिए। सांसदहरूका जवाफ दिने तयारीका साथ संसद प्रवेश गरेका उनलाई डेंगु नियन्त्रणको तयारी र विदेश घुमेको विषयलाई लिएर सांसदहरूले आलोचनासहित प्रश्न गरेका थिए।

उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री आजै अमेरिका उड्नेबारे पनि सांसदहरू जानकार थिए। डेंगु नियन्त्रणमा नआइसकेको अवस्थामा किन अमेरिका भ्रमण हो? भनेर पनि सांसदहरूले प्रश्न गरेका थिए। जसको जवाफ मन्त्री यादवले दिन सकेनन्।

मन्त्री यादवको आलोचनामा प्रतिपक्षका भन्दा सत्तापक्षका सांसदहरूको स्वर अझ ठुलो र कडा थियो। आलोचना नगर्नेमा उनी अध्यक्ष रहेको समाजवादी पार्टी र प्रतिपक्षी राष्ट्रिय जनता पार्टीका सांसदहरू मात्रै थिए।

मन्त्री यादवले संसदमा विशेष सार्वजनिक महत्त्वको वक्तव्य दिएपछि सांसदहरूले प्रश्न गरेका थिए।

पढ्नुहोस्, प्रतिनिधिसभामा सांसदहरूले मन्त्री यादवलाई डेंगुबारे गरेका प्रश्न र आलोचनाहरू:

देवेन्द्रराज कँडेल : डेंगु एउटा मौसममा लाग्ने रोग हो, खासगरी गर्मी मौसममा। त्यो मौसम जान लागिसकेको छ। ५८ जिल्ला प्रभावित भइसकेका छन्। डेंगुलाई महामारीका रूपमा लिएर आपत्कालिक अवस्था घोषणा किन गरिएन? डेंगुको महामारी सुरु हुनु पहिला नै किन रोक्ने तयारी गरिएन? अहिले आएर मात्रै जनचेतनाको थालिएको छ, सुरुमा किन गरिएन?

सुजाता परियार : मन्त्रीले धेरै काम गरेको विवरण प्रस्तुत गर्नुभएको छ। सर्वसाधारणले उपचार गर्ने अस्पतालमा उपकरण नभएको अवस्था छ। यसको व्यवस्था गर्न सरकारले के तयारी गरिरहेको छ?

खगराज अधिकारी : जनचेतनाका कार्यक्रममा मन्त्रीले जानकारी गराउनुभयो। कार्यक्षेत्रमा स्वास्थ्यकर्मी नभएको अवस्था छ। साउथ इस्ट एसिया रिजनको अफिसलाई के जानकारी भएको छ? त्यहाँबाट कति सहयोग लिइएको छ? इमर्जेन्सी फन्ड कति परिचालन भएको छ? राजनीतिक दल र सामाजिक अभियन्ताहरूसँग सहकार्य गरेर जनचेतनाका काम गरिएको छ कि छैन? स्वास्थ्य संकटको अवस्था जस्तो हो त्यो अनुसारको तयारीका लागि विलम्ब भएको हो कि होइन?

रामबहादुर विष्ट : यो डेंगु डरलाग्दो सरुवा रोग रहेछ। यो नेपालमा मात्रै होइन संसारभर रहेछ भन्ने जानकारी दिनुभयो मन्त्रीजीले। अहिले प्रभाव घट्यो पनि भन्नुभयो, सरकारले गर्दा घटेको हो कि आफैँ? अनि, यो डेंगु लगाउने लामखुट्टे राति आएर टोक्छ कि दिउँसै?

दिलेन्द्रप्रसाद बडू : मन्त्रीले ५८ जिल्लामा डेंगुले व्यापकता पाएको बताउनुभयो, सबै हावापानीमा व्यापक बनिसकेको रहेछ। यसको सुरु हुने मौसम कुनै विशेष हो कि जति बेला हुन्छ? नेपालमा डेंगुको यो सुरुको अवस्था हो कि समाप्ति हो? नेपालमा स्वास्थ्य उपचारको के अवस्था छ?

अमनलाल मोदी : जानकारी दिनुभएकोमा सरकारको तर्फबाट मन्त्रीलाई धन्यवाद छ। म विराटनगरको मान्छे त्यहाँ प्रकोप बढिरहेको छ, त्यसको आधार के हो? भारतमा त्यत्रो जनसंख्या छ त्यहाँ भएको पाइएन नेपालमा भएको छ। भारतमा नहुने नेपालमा हुने त्यसको कारण के हो? चिसोका कारण हो भने हिमालमा पनि भइरहेको छ।

पुष्पा भुसाल : विषयविज्ञसँग पनि राय लिएका छौँ। स्थानीय तहमा बजेट पनि पठाएका छौँ। स्वास्थ्य मन्त्रालयले 'खोज र नष्ट गर' भनेको पाइयो, स्वास्थ्य मन्त्रालयले भेक्टर कन्ट्रोलरको पद पनि हटाएको छ। बिना जनशक्ति मन्त्रालयले कसरी काम गरिरहेको छ? अहिले प्रभाव घट्यो भनिएको छ, मौसम परिवर्तनले घट्यो कि स्वास्थ्य मन्त्रालयले एकदम ठुलो कदम चालेर घट्यो?

प्रेम सुवाल : मन्त्रीले नै विकसित देशमा डेंगु नियन्त्रण भएन, नेपालमा त न्यून छ भन्नुभयो। डेंगुको महामारीको बेला मन्त्रीले देश छोड्नु उपयुक्त होला र? डेंगुबाट संक्रमित र मृतकको भदौ २३ गतेसम्मको मात्रै किन सार्वजनिक भयो? के दैनिक तथ्यांक सार्वजनिक गर्ने गरिएको छैन र? गनले विषादी छरेर डेंगु नियन्त्रण हुँदैन भनिन्छ तर किन रकम दुरुपयोग भइरहेको छ?

पार्वता डिसी चौधरी : मन्त्रीले साउन १ गतेबाट डेंगु सुरु भएको भन्नुभयो, अहिले असोज १ भयो। यो बीचमा मन्त्री कहाँ हुनुहुन्थ्यो? आज आएर आफ्ना धारण राख्दै हुनुहुन्छ, यसको घोर भर्त्सना गर्दछु। अब आफैँ घट्दै जान्छ। यस विषयमा मन्त्रीको गैरजिम्मेवारी देखियो। विदेश जाँदै हुनुहुन्छ, घुमिरहनुस् नेपाली जनताले यस्तै मन्त्री खोजेका हुन्।

देवप्रसाद तिमिल्सिना : मन्त्रीले विश्वमा धेरै मुलुकमा डेंगुको प्रभाव छ भनेर नेपालमा भएको प्रभाव न्यून देखाउनुभयो, जनताको आँखामा छारो हाल्नुभयो। नेपालमा के गर्ने हो भन्ने कुरा वक्तव्यमा आएन। टेकुमा रगत दिने ठाउँ नभएर बिरामी लम्पसार भएका छन्। महामारीको बेलामा विश्वको उदाहरण दिएर आफू गाईको दुधले नुहाएको देखिने प्रयास गर्नुभयो। डेंगुको रोकथाम तत्काल हुनुपर्‍यो।

मीना सुब्बा : वक्तव्य सुन्दा डेंगुको विषयमा मन्त्री विज्ञ भएको अनुभव भयो। किटले परीक्षण नगरी डेंगु लागेको पत्ता लाग्ने कुरा कुन विज्ञले मन्त्रीलाई सुझाव दिएको हो?

जीवनराम श्रेष्ठ : काठमाडौंमा डेंगुको प्रभाव हुन्न कि लागेको थियो। सफा पानीमा मात्रै हुने भन्ने कुरा थियो र यहाँ सफा पानी हुन्न। तर त्यो गलत रहेछ। मत्रीको सक्रियता एकदम सराहनीय छ तर काठमाडौंमा जुन जनघनत्व छ त्यसमा 'खोज र नष्ट गर' अभियान चलाउँदा यहाँका जनता नष्ट होलान् जस्तो छ। अस्पतालमा धेरै विकराल अवस्था छ, मन्त्री पर्ख र हेरको अवस्था बस्नुभएको हो?

विरोध खतिवडा : केही जुक्ति काम नलागेपछि देवीदेवता भाक्ने नेपालको चलन छ। संसदमा केही नराम्रो नहोस् भनेर सिंहदरबारमा संसदेश्वर महादेव छ, मेरो जिल्लामा फलफूल राम्रो फलुन् भनेर लटरम्मेश्वर महादेव स्थापना गरिएको छ र सन्तान जन्मिउन् भनेर सन्तानेश्वर महादेव स्थापना गरिन्छ। मन्त्रीले अब डेंगु नलागोस् भनेर लामखुट्टेश्वर महादेव स्थापना गर्न लाग्नुहोला।

कृष्णगोपाल श्रेष्ठ : डेंगुको संसदमा धेरै कुरा उठ्दा पनि स्वास्थ्यमन्त्री र राज्यमन्त्री कानमा तेल हालेर बसेका थिए। योभन्दा गम्भीर के हुन्छ संसदमा? गम्भीर कुरा उठेपछि र सभामुखले रुलिङ गरेपछि आउनुभएको छ यो गैरजिम्मेवारी प्रति जवाफ के छ? अहिले बाहिर जाने (विदेश जाने) कुरा आएको छ, यस्तो महामारी छ उहाँ बाहिर जाने? यो गैरजिम्मेवारी हो। स्वास्थ्यमन्त्री, राज्यमन्त्रीज्यू तपाईंहरू टेकुमा जानुभएको छ? 

राजेन्द्रकुमार केसी : जुनबेला नेपाली जनता महामारीमा थिए उहाँ विदेशमा हुनुहुन्थ्यो। यो मार्ने र 'सर्च एन्ड डिस्ट्रोय' कसले गर्ने हो? बनिबनाउ र लिखित जवाफले नेपाली जनताले राहत पाउँछ? जाडो सुरु भएको छ, उहाँले बल्ल यी कार्यक्रम ल्याउनुभएको छ। अब राज्यकोक्षबाट धेरै खर्च नगर्नुहोला, जाडोमा लामखुट्टे हुन्न र डेंगु लाग्दैन। जनतालाई सहयोग चाहिएको बेला विदेश जानुभयो।

नवीना लामा : ढिलो भए पनि स्वास्थ्यमन्त्रीले जवाफ दिनुभएको छ। जनता आक्रान्त भएको, पीडित भएको बेला मन्त्रालयबाट पहल शून्य रह्यो। स्वास्थ्यजस्तो संवेदनशील विषयमा मन्त्रालय लापरबाही, नातावाद र कृपावादमा फसेको छ।

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.