'पत्रकारहरूका रुने दिन गए'

|

विराटनगर : संघीय सरकारका प्रवक्ता तथा सूचना तथा प्रविधिमन्त्री गोकुल बास्कोटाले केही हिजोका राजतन्त्रका प्रेतहरू अहिले विभिन्न कुरा बोल्दै हिँडेको बताएका छन्। विराटनगरमा बुधबारसाँझ प्रेस संगठन मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

संघीय गणतन्त्रभन्दा अगाडिको व्यवस्थामा भएका नमिता-सुमिताकाण्डको खोजी कहाँ भयो भन्ने प्रश्न गर्दै उनले लोकतन्त्र भएको कारणले बोल्ने, लेख्ने स्वतन्त्रता भएकै कारण व्यवस्था विरोधीहरू कुर्लिरहेको दाबी गरे। उनले जनताले निर्वाचित गरेको संस्था तथा जनप्रतिनिधिलाई आलोचना गर्ने अधिकार जनताले राख्ने तर आलोचनाको नाममा सरकार मनपरेन भनेर व्यवस्थाका विरुद्ध व्यक्ति वा वंशको तन्त्रतर्फ फर्किन सकिन्छ कि भनेर लाग्न खोज्नु मुर्खता भएको पनि बताए।

बाँस्कोटाले रुसमा लेनिनले, अमेरिकामा रुज्वेल्टले, चीनमा देङसिया पिङले गरेजस्तो नेपालमा केपी ओलीको नेतृत्वमा समृद्धिको यात्रा सुरु भएको बताए। तर, कतिपय नागरिक समाजका नाममा भत्तावालाहरूले विषय नबुझी कोकोहोलो मच्चाएको उनको भनाइ छ।

जनतासँग धेरै विषयमा प्रतिबद्धता जाहेर गरेपछि जनताले नेकपालाई पत्याएको बताउँदै उनले ५ वर्ष पछाडि जनताको मन जितेर आए कांग्रेसलाई सत्ता छोडाउने बताए। संचारको क्षेत्रमा क्लिनफिड लागू गर्न लागेको, समानुपातिक विज्ञापन वितरण प्रणाली अबलम्बन गर्न लागेको र श्रमजीवि पत्रकार ऐनअनुसार न्यूनतम पारिश्रमिक लागू गर्न नीतिगत व्यवस्था गरेको बताउँदै उनले पत्रकारले रुन नपर्ने बताए।

अर्को प्रसंगमा उनले अब कसैले रेल ल्याउन सम्झौता गर्नु नपर्ने पनि बताए। ठूला र विकसित देशमा पनि सम्झौता भएलगत्तै काम नहुने बताउँदै नेपालमा सम्झौता भएपछि आफ्नै पालामा वा पनातीको पालासम्ममा भए पनि रेल आउने दाबी गरे।

समाजवादी पार्टीले संविधान दिवसमा कालो झण्डा देखाउने या नदेखाउने भन्ने विषयमा आफैँ समीक्षा गर्न संचारकर्मीलाई आग्रह गर्दै संचारमन्त्री बाँस्कोटाले जनताले रोजेको व्यवस्थाका विरुद्धमा कालो झण्डा बोक्नेलाई जनताले नै पराजित गर्ने दाबी गरे।

मन्त्री बाँस्कोटा गोरखापत्र संस्थानद्वारा प्रकाशित गोरखापत्र दैनिकको विराटनगरस्थित प्रेस तथा भवनको उद्घाटनका लागि विराटनगर आएका हुन्। संविधान दिवसको अवसर पारेर गोरखापत्र संस्थानले विराटनगरबाट असोज ३ गतेदेखि आफ्नो क्षेत्रीय प्रकाशनको शुभारम्भ गर्न लागेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.