|

बाँके : बुधबार विहानबाट परेको अविरल वर्षाले नेपालगन्जको विभिन्न भाग जलमग्न भएका छन्। अविरल बर्षातले सडकभरी पानी जमेपछि नेपालगन्जको मुख्य बजार क्षेत्र न्यूरोड, घरवारीटोल, बागेश्वरी टोल तथा भृकुटीनगर, गणेशपुर, सदरलाइन, लगायतका क्षेत्रका सर्वसाधारणलाई आवागमनमा कठिनाई भएको छ। जिल्ला प्रहरी कार्यालयको केही भवनसमेत डुवानमा परेको छ। नेपालगन्जका सुर्खेतरोडमा पनि पानी जमेर सवारी आवागमनमा समस्या भएको छ।

नेपालगन्जलाई डुबानमुक्त बनाउन अधिकांश सडकमा नाली निर्माण गरिए पनि पानी निकास हुन नसक्दा समस्या ज्यूँका त्यूँ रहेको छ। सामान्य वर्षातले पनि नेपालगन्जको मुख्यबजार क्षेत्र न्यूरोड, घरवारीटोल, गणेशपुर, बसपार्क लगायतका बजार क्षेत्र डुवानमा पर्ने गरेका छन्।

नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार नेपालगन्जका अधिकांश क्षेत्रमा डुवान भएपनि जनधनको क्षति नभएको बताए। उनले नगरका विभिन्न भाग जलमग्न भएपछि जनजीवन प्रभावित भएको बताए।

डुवान भएको स्थानमा पानीको बहाव खोल्न उपमहानगरपालिकाका कुचीकार र प्राविधिक शाखाका कर्मचारी जेसीभीसहित खटिए पनि समस्या समाधान नभएको नेपाल उद्योग महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए। उनले नगरपालिकाले निर्माण गरेको नाला सफाइ नगरेका कारण पानीको निकास बन्द भई डुवान भएको बताए। łसमयमा नाली सफा गरेको भए अहिले यो समस्या झेल्नु पर्ने थिएन,’ उनले भने।

एशियाली विकास बैंकको सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाले शहरी विकास आयोजनामार्फत नेपालगन्जका विभिन्न स्थानमा सडक तथा नाला निर्माणको काम गरिरहेको छ । डुवान हुन नदिन नाला निर्माण गरिए पनि समथल भूभाग भएका कारण समस्या समाधान हुन नसकेको प्रवक्ता रिजालको भनाई छ। łडुवान हुन नदिन गत वर्षमात्रै न्यूरोड क्षेत्रमा उचाई बढाएर सडक तथा नाली निर्माण भएको थियो। समथर भूभाग भएकोले सहज तरिकाले पानीको निकास हुन नसक्दा समस्या समाधान हुन सकेको छैन,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.