सिडिओ कार्यालय पनि भत्किने

|

भद्रपुर : भद्रपुर विमानस्थलको स्तरोन्नतको काम अहिले तीव्र गतिमा भइरहेको छ। धावनमार्ग (रनवे) मर्मत र विमान पार्किङ स्थल बढाउने कामले तीव्रता पाएसँगै विमानस्थलको वान–वे धावनमार्ग विस्तार गर्ने योजनाको कार्य समेत अघि बढिसकेको चन्द्रगढी नागरिक उड्डयन प्राधिकरण कार्यालय भद्रपुरले जनाएको छ।

प्राधिकरणले वान–वे धावनमार्ग विस्तारका लागि पूर्व पट्टीको स्थानीयको जमिन खरिद गरिसकेको छ। पश्चिमतर्फ सरकारी कार्यालयको संरचना र सडक रहेकोले त्यसलाई खाली गराउन आवश्यक पहल सुरु भइसकेको चन्द्रगढी नागरिक उड्डयन प्राधिकरण कार्यालयका प्रमुख पूर्णप्रसाद चुडालले जानकारी दिए। ‘धावनमार्ग बढाउँदा पश्चिमतर्फ रहेको नेपाली सेनाको ब्यारेक पूरै हटाउनुका साथै जिल्ला प्रशासन कार्यालय झापा (सिडिओ) को भवन भत्काउनु पर्ने हुन्छ’, उनले भने।

उनका अनुसार एक हजार ५ सय मिटरको धावनमार्गलाई १ हजार ८ सय मिटरको बनाउनु पर्ने भएकोले सेनाको ब्यारेक पुरै खाली गराउँदै चाराआली-केचना सडक सम्म विमानस्थलको क्षेत्रफल पुग्छ ।

सेनाको ब्यारेक हटाउनका साथै प्रशासन कार्यालयको भवन भत्काउनका लागि चन्द्रगढी नागरिक उड्डयन प्राधिकरण कार्यालयले नेपाल नागरिक उड्डयन प्राधिकरण काठमाडौँलाई एक हप्ताअघि लिखित प्रतिवेदन पठाइसकेको उनले बताए। ‘अब नेपाल नागरिक उड्डयन प्राधिकरणले जमिन खाली गराउने विषयमा सम्बन्धित मन्त्रालयहरूमा पहल गर्नेछ’, उनले भने।

काठमाडौँ झापालगायत मेची भ्रमणका लागि आउने गरेका मन्त्री, राजनीतिक दलका वरिष्ठ नेता, अति विशिष्ट र विशिष्ट व्यक्तिहरूलाई विमानस्थलको भिआइपी कक्षमै भेटेर यस विषयमा ध्यानाकर्षण गराउँदै आएको उनको भनाइ छ। ‘सेनाको ब्यारेक हटाउँदा जमिनको आवश्यक पर्छ’,  उनले भने, ‘यस विषयमा भद्रपुर नगरपालिकाले पहल गर्ने भनी प्राधिकरणलाई आश्वासन दिएको छ।’ जिल्ला प्रशासन कार्यालय झापाको भवन तीन तला रहेको छ। धावनमार्ग विस्तार गर्दा भवनको माथिल्लो तला पुरै भत्काउनु पर्ने उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.